रुकुम हत्याको एक वर्ष : अन्तरजातीय सम्बन्धकै कारण हत्या गरिएका नवराजहरु…

महेश नेपाली १० जेष्ठ २०७८, सोमबार १५:०४

प्रेम र विवाहलाई स्वाभाविक ठानेर कानुनले मान्यता दिए पनि नेपालमा अन्तरजातीय विवाहलाई बर्जित मानिएकाे छ। प्रेम सम्बन्धका कारण वा प्रेमपछि विवाह गर्दा अस्वीकार मात्र हाेइन हत्या गर्ने सम्मका ज्यादती र अपराधिक गतिविधि दलित समुदायले देख्दै र भाेग्दै आएकाे छ। गाउँघरमा अन्तरजातीय विवाहका कारण बहिष्कार, हत्या, गाउँ निकाला लगायतका घटनाहरु एकपछि अर्को लगातार घटिरहेका छन्। देशमा गणतन्त्र आइसकेपछि यी सबै घटनाहरु दन्ते कथा जस्ता हुनुपर्ने हाे। तर बारम्बार यस्ता घटना दाेहाेरिनुले जातीय विभेदका हिसाबले समाज झनझन् पश्चगमनतिर धकेलिएकाे स्पष्ट हुन्छ।

२०६२/०६३ को जनआन्दोलन लगत्तै २०६३ जेठ २१ गते नेपाललाई जातीय विभेद तथा छुवाछुत मुक्त देश घोषणा गरिएकाे दिन गन्दा आज १५ वर्ष पुगेकाे छ। २०६८ जेठ १८ गते जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ ल्याइएकाे पनि दशक पुगिसकेको छ।

नेपालको संविधान २०७२को मौलिक हक अन्तर्गत  जातीय भेदभावलाई दण्डनीय अपराध मान्दै सबै नेपालीले सम्मान, समानता र स्वतन्त्रतापूर्वक बाँच्न पाउने उल्लेख गरेको छ। तर प्रेम गर्ने दलितहरुकाे हक सुनिश्चित हुनु त कता हाे कता बदलामा हत्या हुने गरेकाे छ।

यतिमात्र हाेइन दलितहरु धारा, कुवा र मन्दिर जस्ता सार्वजनिक स्थलहरुको नजिक परेकै कारण विभत्स हत्याको शिकार हुनुपरेको छ। याे लेखमा अन्तरजातीय प्रेम र विवाह गरेका कारण हत्या गरिएका दलितहरुकाे विषय उठान गर्न खाेजिएकाे छ।

शिवशंकर दास (सप्तरी)
२०६८ सालमा सप्तरी पन्सेराका शिवशंकर दासकाे घर नजिकैकी सीता चौधरीसँग माया बस्याे। जब चौधरी परिवारले यो कुरा थाहा पायाे, तब दासको हत्या गरियाे।

माया बसेपछि शिवशंकरले सीतासँग मोबाइल साटेका थिए। यो कुरा केटीको घरमा थाहा भयो। एकदिन  उनी भलिबल खेल्दै थिए। सीताका दुई दाजुले मोबाइल दिने भन्दै बोलाएर घरमै लगे। साथमा फुपूको छोरा पनि थिए।  बेलुकी ८ बजे शिवशंकर आफ्नाे घर पुगे। आउन साथ रगत बान्ता गर्न थाले। उसलाई विष खुवाइएकाे रहेछ। हस्पिटलमा उपचार गर्दैगर्दा दुई दिनपछि उनी ज्यान गयो।

सेते दमाई (दैलेख)

दैलेख तोली -२ का सन्तबहादुर दमाई र  राजकुमारी शाही कलिलै उमेरमा प्रेममा परे। गाउँको एउटै विद्यालयमा अध्यनरत उनीहरुको  जात नमिले पनि मन मिलेको थियो।

तर, गाउँमा उनीहरुको सम्बन्धबारे यति हल्ला चल्यो कि, राजकुमारीले झुन्डिएरै मर्छु भन्न थालिन्। परिणाम २२ वर्षको उमेरमा सन्तबहादुरले २२ बैशाख ०६८ मा शाहीलाई भगाए। उनीहरु गाउँ छाडेर मामाघरमा बसेका थिए। तिजमा सन्तबहादुरका बाबु सेते दमाईको आग्रहमा एक रातका लागि उनीहरु घर आए। जब उनीहरु खाना खाएर सुत्न के थालेका थिए, ठूलो आपत्ति आइलाग्यो।

राति १२ बजेतिर एक्कासि मुख छोपेर नौ जनाको जत्था हतियारसहित घर भित्र  पस्यो। उनीहरुले सन्तबहादुरका बुबा सेते दमाईलाई खुकुरी हाने। घरमा आएका पाहुनाले सन्तबहादुरलाई समाएर झर्न दिएनन्। उनका दाइ एक्लैले प्रतिकार गरे। तीन/चारवटा त खुकुरी नै खोसे। तरपनि उनका बाबुलाई बचाउन सकेनन्।

उपचारका लागि डेढ घन्टा पैदल हिँडेर जानुपर्ने। गाडीकाे सुविधा थिएन। जिल्ला अस्पताल दैलेखले सुर्खेत क्षेत्रीय अस्पतालमा रिफर गर्‍यो। सेते दमाईलाई क्षेत्रीय अस्पतालमा त पुर्‍याइयो, तर सब प्रयास बेकार बने। परिणाम छाेराले गरेकाे अन्तरजातीय विवाहकाे कारण सेते दमाईले ज्यान गुमाउनु पर्‍याे।

अजित मिजार (काभ्रे)
२०७३ साल अजित मिजारकाे हत्या हुँदा जातीय विभेदले  पराकाष्ठा नाघेकाे थियाे। अजित पहिला बोर्डिङ पढ्थे, पछि सरकारी स्कुल पढ्न थाले। त्यहाँ ज्याम्दीकी पराजुली थरकी किशोरीसँग उनको त्यही स्कुलमा भेट भयो। उनीहरुको माया बस्याे। दुई वर्षपछि २०७३ साल असार २५ गते उनीहरुले प्रेम विवाह गरे। केटी पक्षको व्यापक दबाब कारण दुई दिनमै उनीहरुको विवाह टुट्यो।

किशोरीले प्रहरी र जिल्ला सरकारी वकिलसँग दिएको बयानमा ९ कक्षाबाटै एक-अर्कालाई माया गर्न थालेको बताएकी छन्। कहिलेकाहीं उनी अजितसँगै घर आउँथिन् तर अजितका बाबु हरिभक्तले उनीहरु प्रेममा छन् भन्ने पत्ताे पाएका थिएनन्।

उनले २०७३ साल असार २५ गते एक्कासी छोरोले भगाएर भक्तपुर लगेकाे थाहा पाए। अनेक आपत आइलाग्छ भनेर डराइरहेका अजितका बाबु असारको महिना, रोपाइँको चटारोले खेतको काममै व्यस्त थिए। केटी पक्षले तारन्तर फोन गरेर अपहरणको केस हालिदिन्छु भन्दै धम्काउन थाले। छोरासँग पनि उनको सम्पर्क भएको थिएन। असार २६ गते केटीका बाबु भोजबहादुर पराजुलीले अजितकी आमा कालीलाई भेटेर छोरीलाई फिर्ता ल्याइदिन भने। स्थानीय रमेशप्रसाद काफ्लेले काली र भोजबहादुरलाई भेटाएका थिए।

रमेशले प्रहरीलाई दिएको बयानमा भोजप्रसादसँग कालीले भोली केटाकेटीलाई पाँचखाल प्रहरी चौकीमा झिकाइदिउँला, त्यहीं छलफल गरौंला भनेकी थिइन्।

गाउँघरमा अन्तरजातीय विवाहका कारण बहिष्कार, हत्या, गाउँ निकाला लगायतका घटनाहरु एकपछि अर्को लगातार घटिरहेका छन्। देशमा गणतन्त्र आइसकेपछि यी सबै घटनाहरु दन्ते कथा जस्ता हुनुपर्ने हाे। तर बारम्बार यस्ता घटना दाेहाेरिनुले जातीय विभेदका हिसाबले समाज झनझन् पश्चगमनतिर धकेलिएकाे स्पष्ट हुन्छ।

त्यही साँझ भोजप्रसादको आग्रहमा रमेशले बाबु–छोरीको फोन संवाद गराइदिए। त्यतिबेला बाबुछोरीको बाझाबाझ भएको, भोजप्रसादले घर आइज भन्दा ‘छोरीको बिहे एकपटक हुन्छ, मैले गरिसकें’ भन्ने जवाफ दिएर छोरीले फोन काटिदिएको रमेशकाे बयानमा उल्लेख छ।

अघिल्लो दिनको सल्लाह बमोजिम भोलिपल्ट प्रहरी चौकीमा केटाकेटासहित दुवै पक्ष उपस्थित भए। चौकीमा केटी पक्षले केटीको जर्बजस्ती चुरापोते चुँडाइदिए, सिन्दुर पुछिदिए। उमेर नपुगेकाले विवाह गर्न मिल्दैन भनेर केटाकेटी आफन्तले जिम्मा लिए। चौकीमै उनीहरुले अजितलाई भनेका थिए ‘तँलाई माटोमाथि उभिन दिन्नाैं।’

नभन्दै भोलिपल्ट अजितकी आमालाई फोनमा ‘म वकिल हो, छोरालाई सम्झाउनु, नत्र बलात्कारको केसमा हाल्दिन्छु’ भनेर पटकपटक धम्की आएको थियो।  बाबु हरिभक्तका अनुसार २९ गते बिहान घरमा मोटरसाइलमा नचिनेका केटाहरु आइरहे, अजित कहाँ छ ? भनेर सोधे । दिउँसो २ बजेतिर मोबाइलको चार्जर लिन भनेर अजित घरबाट निस्किए, त्यसपछि कहिल्यै फर्केनन्।

एक्कासि साउन १ गते एउटा अनलाइनमा झुन्डिएको अवस्थामा अजितकाे फोटो देखियाे। उनको शव अहिले पनि शिक्षण अस्पताल, महाराजगञ्जमा न्यायको पर्खाइमा छ।

अस्मिता तोलामी (सार्की) झापा
याे घटना आत्महत्यासँग सम्बन्धित छ। तर समाजले बनाएकाे जात व्यवस्थाकाे घेराका कारण घटेकाे घटना भएकाे हुनाले हत्या भन्न मिल्छ।

समाजले अन्तरजातीय विवाहको मान्यता नदिने भएपछि झापाको कनकाई नगरपालिका -६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईले झुन्डिएर आत्महत्या गरे।

२३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर अङ्गालोमा बाँधिएर आत्महत्या गरेका थिए।

उनीहरुकाे प्रेम सम्बन्धलाई समाजले स्वीकार नगर्दा आत्महत्या गरिएकाे भएपनि घृणित जात व्यवस्था अनुसार चलेकाे समाजले उनीहरुलाई आत्महत्या गर्न बाध्य बनाइएकाे दलित अधिकारकर्मीहरु बताउँछन्। रुकुमका टिकाराम नेपाली नवराज विकलाई सहयाेग गर्न उनीसँगै साेती पुगेका थिए। उनले अन्तरजातीय विवाह गरेका र गर्न खाेजेकाे हाेइनन्। तर अन्तरजातीय विवाहलाई सहयोग गरेकै कारण उनकाे हत्या गरियाे भने  २०७० सालमा तनहुँकी संगीता परियारको ‘मृत्यु’ पनि गैरदलितसँग प्रेम–विवाहकै कारण भएको थियाे।

यी प्रतिनिधिमुलक घटना हुन। माथि प्रस्तुत मध्ये सेते दमाईकाे हत्यारालाई बाहेक अरुलाई कारवाही भएकाे छैन र पीडितले न्याय पाउन सकेका छैनन्। यस्ता घटनाकाे अनुसन्धान प्रक्रिया थालनी गर्दादेखि नै मुद्दालाई कमजोर बनाउने, प्रमाण मेटाउने, फैसला हुने समय लम्ब्याएर पीडितलाई गलाउने र न्याय नै दिनुपरेको खण्डमा पीडितलाई थाेरै सजाय दिएर मुद्दामा सकाउने लगायत भइरहेको छ।

यसर्थ कानुनमा जुनसुकै प्रावधान भएपनि राज्य व्यवस्था नै दलितहरुका पक्षमा छैन र अन्तरजातीय प्रेम गर्नेलाई हत्याकाे वरमाला लगाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank