देशकै पहिलो र नमुना दलित होमस्टे : आँपस्वाँरामा पानी चल्न थालेपछि…….

सुरेन्द्र राना 'घुमफिरे' ८ बैशाख २०७८, बुधबार १७:५५

आजकाल गाउँघरमा होमस्टेले पर्यटकलाई ग्रामीण जीवनशैली हेर्न, आतिथ्य सत्कार, स्थानीय परिकार र आय आर्जन मात्रै प्रदान गरेको छैन, सामाजिक परिवर्तन समेत ल्याएको छ। देशकै पहिलो र नमुना दलित होमस्टे। दमौली बजारबाट करिब ६ किमि पूर्व समून्द्र सतहदेखि ८१५ मिटरमा अवस्थित होमस्टेमा दलित समुदायको जीवनशैली , रहन सहन, सांस्कृतिक अनुभव गर्नुको साथै अर्गानिक खाना र राम्रो बासको व्यवस्था छ भने दमौली वजार, नागबेली सेती नदि , मनासलु र अन्नपूर्ण हिमालका दृश्यहरु अवलोकन गर्न सकिन्छ ।


तनहुँ आँपश्वारा — माघको अन्तिम साता संजोग जुर्‍यो सञ्चारकर्मी अमृत भादगाउँलेसँग तनहुँको आँपस्वारा जाने। मेरो काठमाडौं फर्किने र भादगाउँलेको सिरूवारी होमस्टे जाने योजना अचानक परिवर्तन भयो। हामी मोडियौं दमौली नजिकको दलित होमस्टेतिर।

म्याग्दीको बेनिबाट जिप चढेर पोखरा पुग्दा झमक्क साँझ परिसकेको थियो । अन्तिममा निस्किने माईक्रो चढेर दमौली पुग्दा रातको ८ बजिसकेको थियो।

पर्यटन अभियन्ता हरिसिंह गुरुङको अगुवाइमा हामी दमौली वजारबाट पूर्वतिर, उकालो जिपयात्रामा निस्कियौं। निकै अवेर भईसकेको थियो, आँपस्वारा पुग्दा। होमस्टका अध्यक्षसहित केही स्थानीयवासी आँगनमा आइपगे स्वागत गर्नलाई । मनभरि आत्मीयता, माया स्नेह र सद्भावका फूल फुलिरहे। वर्षैपछि घर फक्रिएको लाह्रेझैं प्रफुल्ल थियो मन।

आँपस्वारा दलित समुदायद्वारा सञ्चालित नेपालकै पहिलो एकमात्र सामुदायिक होमस्टे हो। यहाँका दलितका १८ घरधुरीमा घरबास सुविधा छ। हरेक चोटि पोखरा जाने क्रममा दमौली पुग्नै लाग्दा पारि अग्लो थुम्को जस्तो डाँडामा सधैं आँखा पुग्थ्यो। कस्तो सुन्दर गाउँ रहेछ,समुन्द्र सतहदेखि ८१५ मिटर उचाईमा रहेको गाउँ पुग्दा एक प्रकारको तरंग पैदा हुन्थ्यो मनमा। अवेर रातिसम्म पिँडिमा बसेर होमस्टेको अध्यक्ष रेशम बिकले कथा सुनाउँदा, हामी मन्त्रमुग्ध भएर सुनिरह्यौं। उनी भन्दै थिए– रोजगारीको सिलसिलामा धेरै वर्षसम्म छिमेकी देश भारतमा बसेर गाउँ फर्केँ। गाउँ फर्केर गाउँलेलाई एकजुट गराई होमस्टे चलाउने सोच पलायो। यसका लागि निकै मिहेनत गर्नुपर्‍यो। विस्तारै गाउँमा आएका पाहुनालाई राम्रो आतिथ्य सत्कार दिन दिनरात जुटेँ । सुरू सुरूमा त निकै आलोचित पनि भएँ। दलित भनेर छि छि दूरदूर गर्ने संस्कार भएको हाम्रो समाजमा त्यति सजिलो थिएन होमस्टे चलाउन।

मिहेनतको फल मीठो हुन्छ भनेझैं अहिले उनीलगाएत गाउँले पनि सन्तुष्ट छन्। होमस्टेले गाउँमा ल्याएको परिवर्तनको कथा सुनाउन उनी कहिले थाक्दैन। सुनाइरहन्छन् हजुरबा हजुर आमाका कथा सुनाएझैं गरेर।

म मनमनै गुनगुनाउन थालेँ दीपक लिम्बुले गाएको गीतको भाकाः

मान्छे मान्छे एउटै हो नि

फरक किन भो

श्रम चल्छ सीप चल्छ

पानी नचल्ने भो ।

झट्ट सुन्दा क्रान्तिकारी जस्तो लाग्ने यो गीतले समाजमा छुवाछुत र भेदभावको गाथा दर्शाउँछ।  यो परिवर्तनकारी सन्देशमुलुक गीत हो। हाम्रो समाजमा सदियौं वर्षदेखि दलितमाथि गरिएको भेदभावको मर्म र कथा छ गीतमा। यो गीतका रचनाकार को थिए थाहा पाउन सकिनँ गीतको भाव गहिरो छ।

होमस्टे चलाउँदा गाउँ घर सफा सुग्घर हुने त भइ नै हाल्यो विदेशी पर्यटक गाउँमा आईरहन्छन्, आम्दानी पनि बढ्दै गइरहेको छ। अध्यक्ष विकका अनुसार धेरै जसो अमेरिका, फ्रान्स, जर्मन, स्वीट्जरल्यान्ड, जापान, इन्डोनेसिया, र फिनल्यान्ड, अस्ट्रेलिया लगायत १८ मुलुकका पर्यटकले आँपस्वाँरा दलित होमस्टेमा भ्रमण गरिसकेको बताउँछन् उनी।

होमस्टेले ल्याएको परिवर्तन आँपस्वारामा स्पस्ट देख्न सकिन्छ। सुरू सुरूमा कुरा काट्ने छिमेकि अहिले प्रशंसा गर्न थालेका छन् र सहयोग पनि गरिरहेका छन्। छुवाछुतबाट पनि मुक्त छ आँपस्वारा।  यो सबै होमस्टेले ल्याएको परिवर्तन हो, फूर्तिका साथ उनले सुनाए।

हामी यात्रामा निस्किँदा मित्र भादगाउँले कहिले काहीँ भन्ने गर्छन्– सवैभन्दा भेदभाव र अमानवीय व्यवहार खेप्ने समुदाय नै दलित हो। पर्यटन आय आर्जनको माध्यम त हुँदै हो,  शान्ति र समाज परिवर्तनको सम्वाहक पनि हो। यहाँको दलित सामुदायिक होमस्टेले आगन्तुकको न्यानो आतिथ्यतासँगै समाजमा ल्याएको परिवर्तन गतिलो उदाहरण बनेको छ।

ग्रामीण वातावरणसँगै, यहाँको संस्कृति, रहनसहन, अर्गानिक खानपिन र मीठो आतित्थ्य सत्कारले लट्ठ पार्छ आँपस्वारा दलित होमस्टेले ।

ब्यास नपा १३ मा पर्ने होमस्टेबाट मनास्लु, अन्नपूर्ण हिमशृंखलाको साथै सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ। विशेषगरी विदेशी र स्वदेशी अनुसन्धानकर्ताका लागि यहाँको संस्कार र संस्कृति खोज अध्ययनको विषय समेत बनेको छ।

लोपोन्मुख आरन, हँसिया, माटोका गहना, खुकुरीलगायत चासोका विषय बनेका छन्। साथै चिनोको रुपमा समेत लैजाने गरेको अध्यक्ष विकले बताए । होमस्टेमा आउने पाहुनालाई विषादिरहित तरकारी, साग सब्जि गुन्द्रुक, सिस्नो, भात र ढिँडोलगायतका परिकार खुवाइन्छ । आलुको चिप्स, भुटेको मकै, भटमास, साग, निउरो, गुन्द्रुकको अचार, कोदोको रोटी, अचारलगायत परिकार पनि ख्वाउने गरेकै छन् पाहुनालाई ।

झमक्क साँझ पर्न थालेपछि हामी हतारमा पाइला बढाउन बाध्य भएका थियौं । जति जति हतार गरे गरे नि होमस्टे पुग्दा अबेर भैसकेको थियो । त्यो त्यही होमस्टे हो जहाँ हामीले सोचेभन्दा बढी न्यानो माया र आतिथ्य पायौँ । तपाई पनि एकपटक दमौली नजिकैको सुन्दर दलित नमुना होमस्टे भ्रमण गरी आफैं स्वाद लिने कि ?

 कसरी पुग्नेः

काठमाडौंदेखि पृथ्वी राजमार्गहुँदै दमौलीसम्म-१५२ किमि

दमौलीदेखि आँपस्वारा दलित होमस्टे ६ किमी

प्याकेज खर्चः खाजा, डिनर , ब्रेकफास्ट, बेड जम्मा  रू १२००

सम्पर्कः रेशम विक, ९८०६६२०७२३

हेर्नुहोस् तस्बिरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank