मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग रुष्ट बन्दै आन्दोलन थप चर्काउने बादी समुदायको चेतावनी

दलित अनलाईन १४ फाल्गुन २०७७, शुक्रबार २२:५९

सुर्खेत— व्यवस्थित बासोबासका लागि जग्गाको माग गदै पाँच दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चौरमा धर्नामा बसेका बादी समुदायहरु मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग रुष्ट बन्दै आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चौरमा पाँच दिनदेखि धर्नामा बसेका वादी समुदाय कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वार्ताका लागि कार्यालयमै बेलाएको जग्गा दिन नसकिने बताएपछि रुष्ट बन्दै आन्दोलन थप चर्काउने चेतावनी दिएका हुन् ।

व्यवस्थित बसोबासका लागि जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायसँग शुक्रबार आफ्नै कार्यालयमा मुख्यमन्त्री शाहीले बोलाएर वार्ता गरेपनि सहमति जुट्न सकेनन् ।

आन्दोलनले उठाएका अन्य मागहरु प्रदेश सरकारले पूरा गर्ने र जग्गा दिने विषयमा केन्द्रिय सरकारसँग सिफासित गर्ने गरी मुख्यमन्त्री शाहीले आन्दोलनरत वादी समुदायका अगुवाहरुसँग राखेपछि आन्दोलनरत वादी समुदाय झनै रुष्ट बन्दै आन्दोलन थप सशक्त बनाउने सरकारकालाई चेतावनी दिएका छन् ।

सातबुँदे मागसहित मुख्यमन्त्री शाही र बादी समुदायका अगुवाबीच वार्ता भएको थियो । परिवार संख्याका आधारमा वास बस्न घडेरी, काम गरी खान कृषियोग्य जमिनका लागि पाँचजनाको परिवारबराबर १५ कट्टा जमिन व्यवस्था गर्नुपर्ने, बादी समुदायको सामाजिक तथा सांस्कृतिक कलाको संरक्षण प्रवद्र्धन गर्न नीति तथा कार्यक्रम ल्याउनुपर्ने, आत्मनिर्भर हुन इच्छाअनुसारको व्यावसायिक तालिम दिनुपर्ने, १० लाखसम्मको विनाब्याज ऋणको व्यवस्था गर्नुपर्ने, विद्यालयमा विनाभेदभाव उच्च शिक्षामा कोटाको व्यवस्था गर्नुपर्ने, सरकारको विभिन्न निकायमा रोजगारीको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य उपचार निःशुल्क हुनुपर्ने र मौलिक हक–अधिकारका लागि विशेष व्यवस्था हुनुपर्ने माग राखी बादी समुदाय धर्नामा बसेका छन् ।

कर्णाली प्रदेश सरकार आफ्ना मागका विषयमा गम्भीर नभएका कारणले सशक्त आन्दोलनको तयारीमा लागेको बादी समुदायका अगुवा हिक्मत बादीले बताए । ‘हाम्रा मागका विषयमा प्रदेश सरकार गम्भीर देखिएन,’ उनले भने, ‘हाम्रो पहिलो माग भूमि प्राप्ति हो । त्यसमा प्रदेश सरकारले कुनै चासो नदेखाएका कारणले सशक्त आन्दोलन गरिनेछ ।’

आफूहरूले गरेको आन्दोलनको मुख्य मागका विषयमा प्रदेश सरकारले कुनै चासो नदेखाएका कारणले अब सशक्त ढंगले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने उनले बताए । ‘आन्दोलनलाई सामान्य ढंगले बुझियो,’ उनले भने, ‘अधिकार प्राप्तिका लागि सशक्त आन्दोलन गरिनेछ ।’

माग पूरा नभएसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिइने बादी समुदायका अगुवा मानकुमारी बादीले बताइन् । ‘हाम्रा माग पूरा भएका छैनन् । हामी यही चौरका बसेर निरन्तर धर्ना दिनेछौँ,’ उनले भनिन्, ‘आन्दोलनका थप कार्यक्रमबारे छलफल गरेर अगाडि बढ्नेछौँ ।’

दैलेख, जाजरकोट, कालिकोट र सुर्खेतका वादी समुदाय स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै पाँच दिनदेखि झण्डै ४ सय वादी समुदायका व्यक्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन् ।

बादी समुदायको माग सम्बोधन गर्न मानव अधिकारवादीको आग्रह

गत सोमबारदेखि मुख्यमन्त्री कार्यालयअगाडिको चौरमा धर्ना बसिरहेका बादी समुदायको मागप्रति मानव अधिकारवादी संस्थाले ऐक्यबद्धता जनाएका छन् । मानव अधिकार संस्था इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, खाद्य अधिकार सञ्जाल, स्याक नेपाललगायत संघसंस्थाले साझा रूपमा बादी समुदायको मागप्रति ध्यानाकर्षण भएको जनाएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले व्यवस्थित बसोवासको माग गर्दै धर्नामा बसेका बादी समुदायको माग चाँडो सम्बोधन गर्न आग्रह गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank