लोकतन्त्र नभएसम्म सीमान्तीकृत समुदायका कुनै पनि अधिकार हामीले प्राप्त गर्न सक्दैनौँ
हामी सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको ठाउँबाट उहाँलाई सम्झिँदै छौँ, सम्पूर्ण सहिदहरूको योगदान सम्झिँदै छौँ । र, नेपालमा लोकतन्त्रको भविष्य के हुँदै छ, लोकतन्त्रको भविष्य छ वा छैन भनेर हामीले सहिदलाई सम्झिरहेका छौँ । लामो समय हाम्रा पुस्ताका साथी उहाँकै उपस्थितिमा आज पनि हामी लोकतन्त्रकै चिन्ता गरिरहेका छौँ ।
खगेन्द्र संग्रौलालगायत अग्रजको छत्रछाँयामा फेरि पनि हामी आन्दोलनमा छौँ । खगेन्द्र दाइ पनि आन्दोलनमा आउनुहुन्छ, हामी पनि आन्दोलनमा छौँ र मेरा छोराको पुस्ता पनि आन्दोलनमा आइसकेको छ । नेपालमा लोकतन्त्रको लागि कतिन्जेल आन्दोलन गर्ने ? कुन-कुन पुस्ताले आन्दोलन गर्ने ? आज सबभन्दा ठूलो चुनौती र चिन्ताको विषय यो, हो ।
आन्दोलनका क्रममा सहिदहरूलाई सम्झिने क्रममा सहिद दुर्गानन्द झालाई सम्झिन चाहन्छु । सहिद दुर्गानन्द झा धनुषा निवासी हुनुहुन्थ्यो । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि २०१८ माघमा महेन्द्रको जनकपुरमा भ्रमण भएको थियो । र त्यतिबेला नेपाली कांग्रेसको युवादस्तामा रहेका दुर्गानन्द झा नेपाली कांग्रेसको निर्णयअनुसार बमले आक्रमण गर्ने दस्तामा उहाँ खटिनुभएको थियो ।
एयरपोर्ट, जानकी मन्दिरनिर । दुर्गानन्द झा जानकी मन्दिरको नजिकको टोलीमा हुनुहुन्थ्यो । त्यतिबेला बम आक्रमण गर्नुभएको थियो । ठूलो क्षति हुन सकेन । झ्याल मात्रै फुटेको थियो । दुर्गानन्द झा भाग्न सफल हुनुभयो । भारतको जयनगर गएर बस्नुभएको थियो । त्यहाँबाट उहाँलाई फसाइएर भ्रममा पारेर केही दिनपछि जनकपुर बोलाइएको हो ।
२०२० माघ १५ गते उहाँलाई फाँसीमा झुन्ड्याएको थियो । उहाँलाई फाँसी दिने निर्णय विशेष अदालतले गर्यो र त्यो विशेष अदालतको न्यायाधीश भगवतीप्रसाद सिंह हुनुहुन्थ्यो । उहाँ सप्तरीको मधेसी नै हुनुहुन्थ्यो । नेपालमा आन्दोलनहरूबाट स्थापित भएको व्यवस्थाले एउटा यस्तो समाजको निर्माण हुन गयो, एउटा यस्तो राज्यको निर्माण हुन गयो । त्यहाँनिर एक समुदाय धेरै अगाडि बढे र एक समुदाय (मधेसी, आदिवासी, जनजाति, दलित) लगायत समुदाय धेरै पछाडि परे । र त्यो समुदायबारे जब काठमाडौंमा डिबेट हुन्छ, सबै मधेसीलाई, सबै जनजातिलाई, सबै दलितलाई एकै ठाउँमा राखेर हेर्ने गर्दछौँ ।
मेरो आग्रह के छ भने त्यो समुदायभित्र पनि विभिन्न पात्र जन्मिएका छन् । दुर्गानन्द झा पनि त्यही समुदायकै थिए, भगवती सिंह पनि त्यही समुदायका थिए । राज्यले मात्रै समाजमा विभेद गरेको थिएन । सहिदहरूमा पनि विभेद भयो । दुर्गानन्द झालाई फाँसी दिनुअघि ब्राह्मणलाई फाँसी दिनुहुन्न भन्ने धारणा थियो, नेपालमा । तर दुर्गानन्द झालाई फाँसी दिन मुलुकी ऐन संशोधन गरियो । पहिलो मधेसी ब्राह्मणलाई फाँसी दिइएको थियो । त्यो भन्दा ठूलो अपराधको आरोप लगाए पनि त्यसअगाडि ब्राह्मण समुदायका मानिसलाई फाँसी दिइएको थिएन ।
म जनकपुरको कलेजमा २०४६ सालको विद्यार्थी भएको हिसाबले हामी त्यतिबेला पनि आन्दोलनमा थियौँ । त्यहाँ यदुबहालमा पाँचजना मान्छे एकै दिन मरेका थिए । तर नेपालको आन्दोलनहरूमा सहादतहरूको जब चर्चा हुन्छ, मधेसकै नाम छुट्ने गर्छ । आज पनि लोकतन्त्रका लागि आन्दोलन गर्नुपरेको छ । यो लोकतन्त्रको यात्रामा मधेसको प्रयासलाई पनि बिर्सिने प्रयास नहोस् ।
खगेन्द्र संग्रौला दाइ, म अनि मेरा छोरा पुस्ता पनि आन्दोलनमा आइसकेका छन् । लोकतन्त्रका लागि कतिन्जेल कुन-कुन पुस्ताले आन्दोलन गर्ने ?
केपी ओलीले आज मात्रै प्रतिगमन गरेको कसैलाई लागेको हुन सक्छ । तर मधेसीको नजरमा यो प्रतिगमन आज मात्रै भएको होइन । केपी ओली एक दिनमा उदाएको होइन । आज काठमाडौंको मिडियाले यो आन्दोलनलाई समर्थन गर्नुभएको छ । मिडियाका साथीहरू नागरिक आन्दोलनको पक्षमा हुनुहुन्छ । प्रतिगमन नागरिक आन्दोलनको पनि व्याख्या हो, मिडियाको पनि बुझाइ हो । यहाँसम्म हामी साथसाथ छौँ ।
तर म एउटा प्रश्न राख्न चाहन्छु- आज भन्दा दुई वर्ष अगाडि जति बेला लोकसेवा आयोगले १० हजारसिटको विज्ञापन खुलाएको थियो । मधेसी, आदिवासी, जनजाति, दलितका लागि चार हजार दुई सय सिट हुनुपर्ने ठाउँमा बेइमानी गरेर दुई हजार मात्रै सीट विज्ञापन गरिएको थियो । दुई हजार सिटमा बेइमानी भएको थियो ।
मधेसी, आदिवासी, जनजाति, दलित लगायत सीमान्तीकृतको साथमा । त्यतिबेला केपी ओलीकै सरकार थियो । त्यतिबेलाको नागरिक समाज किन बोलेन ? हाम्रो मनमा त्यो प्रश्न छ । त्यतिबेलाको मिडियाको के व्याख्या थियो ? त्यतिबेला हामी मुद्दा हाल्न सर्वोच्चमा गयौँ, त्यहाँका सम्मानीय न्यायाधीशलाई श्रीमान् हामी कुनै प्रकारको अनादर गर्न चाहदैनौँ । तर श्रीमान् हामीमाथि भएको अन्यायमा न्याय पाउन कहाँ जाने ? हामी सर्वोच्च अदालत गएको थियौँ । सर्वोच्च अदालतले निर्णय गरेको थियो– प्रक्रिया धेरै अगाडि बढिसकेको हुनाले अब यो विज्ञापन रद्द गर्न मिल्दैन ।
नागरिक समाज कस-कसले के बोले ? कुन मिडियाले बोले ? युग पाठकजीको फोन आउँदा यी सबै कुरा सम्झिएँ । त्यसैले हाम्रो समर्थन छ, हामी पुग्छौँ, तर प्रश्नबारे सोचिनुपर्छ नागरिक आन्दोलनमा भनेर प्रश्न गरेका थियौँ । तर आज आएर एउटा निष्कर्षमा पुगेका छौँ । सिएन थारुको नेतृत्वमा तराईका साथीहरू, गोविन्द छन्त्यालको नेतृत्वमा जनजाति, जेवी विश्वकर्माका साथीहरूले दलित साथीहरूलाई एकीकृत गर्दै हुनुहुन्छ । र हामी आन्दोलनमा प्रतिबद्धतासाथ सक्रिय सहभागिता जनाउन चाहन्छौँ । तर हाम्रो आग्रह छ काठमाडौँसँग ।
काठमाडौं भनेको डोमिनेन्ट क्लासहरूलाई भनेको । काठमाडौँ भनेको राज्यमा जसको हालीमुहाली छ, त्यो समाजलाई भन्न चाहन्छु कि अबको नेपालमा हामी आफ्नो कुरा पहिला भन्छौँ, त्यसपछि तपाईंहरूसँग आग्रह गर्छौँ । हामी यो निष्कर्षमा पुगेका छौँ कि यो प्रतिनिधि सभाको विघटनको निर्णय प्रतिगमन नै हो । यो प्रतिगमन नै हो । यसकारण प्रतिगमन नै हो कि, अहिलेको संविधानमा हाम्रो विरोध थियो । हामी नाकाबन्दीलाई पनि समर्थन गरेका थियौँ । मधेस आन्दोलन पनि गरेका थियौँ । तर हाम्रा मुद्दा स्पष्ट थिए ।
हामीले के भनेका थियौँ भने संघीयतामा जुन प्रकारको सहमति भएको छ, त्यसअनुसार प्रदेशको रचना होस् । यो लोकसेवा आयोग, न्यायसेवा आयोग, प्रहरीसेवा आयोगले यसरी परीक्षा लिएर मान्छे भर्ना गर्यो, कि एक समुदायका मान्छे मात्रै देखियो । तर यो राज्य चल्नको लागि जुन राजस्वको संकलन हुन्छ, त्यसमा हाम्रो पनि पसिना, कमाइ गएको छ ।
तलब खाने हाम्रो पैसाबाट, तलब खुवाउने ठाउँमा हामी किन छैनौँ भनेर हामीले प्रश्न गरेका थियौँ । त्यसैले हामीले समावेशीको कुरा गरेका थियौँ । हामीले संघीयताको कुरा गरेका थियौँ । हामीले निर्वाचन प्रणालीमा संशोधनका कुरा गरेका थियौँ । हामीले सम्पूर्ण सहिदहरूसँग एक रूप व्यवहारको कुरा गरेका थियौँ । हामीले शिक्षा नीतिमा भाषाको कुरा गरेका थियौँ । हामी मधेसका मानिसहरूको नागरिकता सहजतापूर्वक मिल्नुपर्छ भनेर कुरा गरेका थियौँ ।
ती कुरा हाम्रो मानिएन । संविधान जारी भयो । त्यसमा हाम्रो विरोध थियो । तर यो संविधान जारी हुँदा यसमा राजनीतिक स्थायित्वको परिकल्पना गरिएको छ । यो संविधानले एउटा सपना बोकेको छ । नेपालमा जसलाई मन लाग्यो, त्यसले चाहेको बेलामा संसद् विघटन नगरोस् । यो संविधानले लोकतन्त्रका आधारभूत कुराहरूमा सहमति जनाएको छ । अंगीकार गरेको छ । तर यो विघटनले हाम्रो विरोधका बाबजुद जारी भएको संविधानमा राजनीतिक स्थायित्वको सपनामाथि तुसारापात गरेको छ । त्यसकारण हामी यो विघटनको प्रस्तावलाई प्रतिगमन छ, प्रतिगमन हो भन्ने निष्कर्षमा पुगेका हौँ । र, हामी सक्रिय रूपमा बृहत् नागरिक आन्दोलनमा आएका हौँ ।
राणाजीलाई कुनै देशको राजदूत हुन आन्दोलन हुनुपर्दैन । तर एक जना दलितलाई राजदूत बन्न धेरै आन्दोलन गर्नुपर्छ ।
र हामी यो बृहत् नागरिक आन्दोलनमा आउँदै गर्दा यो मुद्दामा हामी समर्थन गछौँ, तर हाम्रो मुद्दामा पनि काठमाडौँको नागरिक समाजले समर्थन गर्नुपर्छ भन्ने आग्रह गर्छौं । त्यसो भए हाम्रो मुद्दा के हो त रु धेरैलाई लाग्न सक्छ, लोकतन्त्र भएपछि देशमा सबै कुरा ठीक हुन्छ । गलत हो, यो । लोकतन्त्र प्रणाली हो । कसैका लागि प्रणाली मात्रै सबै कुरा हुन सक्छ, तर सीमान्तीकृतहरूका लागि परिणाम महत्वपूर्ण कुरा हो ।
लोकतन्त्र अभ्यास हुँदै गर्दा आज यो देशमा मधेसका लाखौँ दलितहरू किन भूमिहीन भएका छन् ? किन यहाँको न्याय सेवामा १० प्रतिशत पनि जनजाति छैनन्, १० प्रतिशत पनि मधेसी छैनन्, १० प्रतिशत पनि दलित छैनन् । यो प्रश्नको जवाफ कसले दिने ?
लोकतन्त्र प्रणाली त छिर्यो यो देशमा, तर परिणाम के पायो रु त्यसैले तपाईंका लागि लोकतन्त्र प्रणाली मात्र महत्वपूर्ण हो, सीमान्तीकृत समुदायका लागि परिणाम महत्वपूर्ण हो । अबको आन्दोलन हामीले परिणामको लागि पनि गर्नुपर्छ । अनिमात्रै हामी यो आन्दोलनमा साथसाथ रहन्छौँ ।
अहिले संसद् पुनःस्थापना होला, आन्दोलन टुंगिने हो भने हामी परिणामको आन्दोलनमा हामी फेरि एक्लै पर्नेछौँ । प्रणाली मात्रै होइन, परिणामको लागि पनि आन्दोलन गरौँ । विनोद चौधरीका लागि कुनै आन्दोलन हुनुपर्दैन, यो देशमा राणाजीलाई कुनै देशको राजदूत हुन आन्दोलन हुनुपर्दैन, तर एक जना दलितलाई राजदूत बन्न धेरै आन्दोलन गर्नुपर्छ । तपाईंले कुन आन्दोलन गर्ने यसको जवाफ दिनुपर्छ ।
अहिलेको यो विघटनलाई हामीले प्रतिगमन नै मानेका छौँ र यो प्रतिगमनको सबै सीमान्तीकृत समुदायले विरोध गर्नुपर्छ । यसको विरोधमा हुने सबै आन्दोलनमा सक्रिय सहभागी हुनुपर्छ । लोकतन्त्र नभएसम्म सीमान्तीकृत समुदायका कुनै पनि अधिकार हामीले प्राप्त गर्न सक्दैनौँ । इतिहासले देखाएको छ । तथ्यरअनुसन्धानले देखाएको छ । हामीले जे पाएका छौँ, प्रजातन्त्रमा पाएका छौँ । त्यसैले प्रजातन्त्रलाई हत्या गर्ने प्रयास भएको छ । आज संसद् विघटन गरिँदै छ । हेर्दै जानुहोला, भोलि संघीयता विघटन गरिन्छ । पर्सि आरक्षणलाई खारेज गरिदिन सक्छ । निपर्सि निर्वाचनको प्रणालीलाई संशोधन गरेर समानुपातिकलाई हटाइदिन सक्छ । र त्यसपछि निर्वाचन चाहिँ भइराख्छ ।
जुन निर्वाचनका लागि शेरबहादुर देउवा कुरा गर्दै हुनुहुन्छ । स्मरण रहोस्, दुर्गानन्द झा तपाईंको पार्टीको निर्देशनमा कुनै बेला सरोज कोइरालाको आदेशमा बम हान्न गएका थिए । कुनै बेला हामीले पनि तपाईंको पार्टीमा पसिना बगाएका छौँ । यो देशमा पञ्चायत कालको ३० वर्षमा निर्वाचन भइरह्यो । राजा महाराजले एउटै कुरा भनिराखे कि आवधिक निर्वाचन हुन्छ, राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्री छनौट हुन्छ । त्यसकारण यो पनि प्रजातन्त्र हो । अहिले प्रदीप ज्ञवालीले भनेजस्तै नेपाली माटो सुहाउँदो दलविहीन प्रजातन्त्र हो । तपाईंले किन आन्दोलन गर्नुभयो ? तपाईंको नेता र बीपीले किन आन्दोलन गरेका थिए ? लोकतान्त्रिक मूल्य-मान्यता थिएन, त्यो व्यवस्थामा । केवल निर्वाचनको कुरा गर्नुहुन्छ । लोकतन्त्रमा निर्वाचनबाट डराउनुहुन्न भन्नुहुन्छ भने तपाईंको बोली र कमल थापाको बोलीबीच भिन्नता हुँदैन र हामीलाई त्यो बेला दुःख लाग्छ । हामी चाहदैनौँ कि कमल थापाले खोजेको प्रजातन्त्र, शेरबहादुरले खोजेको प्रजातन्त्र । महन्थ ठाकुरले खोजेको प्रजातन्त्र एउटै भयो भने यो देशको दुर्भाग्य हुनेछ । सीमान्तीकृत समुदायको दुर्भाग्य हुनेछ ।
हामीले खोजेको लोकतन्त्र भनेको राजनीतिक स्थायित्वको कल्पना गरेको संविधानलाई टेकेर हुने निर्वाचन हुनुपर्छ । आजको दिनमा नेपाली कांग्रेस, जसपा पार्टीले स्ट्यान्ड क्लियर गर्नुपर्छ । हामीले विघटनलाई कसरी लिन्छौँ, निर्वाचनबाट डराउनुहुन्न भने पञ्चायतको विरोधमा आन्दोलन गर्नुभयो रु प्रजातन्त्र मात्रै चाहिएको थियो, दल खोल्ने स्वतन्त्रता मात्रै चाहिएको थियो भने २०६२र०६३ मा किन आन्दोलन भयो त ? त्यसकारण ती मान्यतालाई हामीले मिच्न हुँदैन ।
नागरिक आन्दोलनले पनि आफ्नो स्ट्यान्ड क्लियर गर्नुपर्छ । दलसँगको तपाईंको सम्बन्ध के हुन्छ ? आज तपाईं पनि आन्दोलन गर्दै हुनुहुन्छ, माधव नेपाल र प्रचण्ड पनि आन्दोलन गर्दै हुनुहुन्छ । देउवा पनि आन्दोलनमा हुनुहुन्छ, महन्थ ठाकुर पनि आन्दोलनमा हुनुहुन्छ । त्यसैले तपाईंहरू बीचमा कहाँनिर मिटिङ प्वाइन्ट छ ? कहाँनिर नमिल्ने कुरा छ ? यो कुरा प्रस्ट गरेनौँ भने कन्फ्युजन रहिरहन्छ । र हाम्रोबारे अनेक धारणा बन्नेछ । त्यसैले शासक र शासितबीचमा नागरिक आन्दोलनले आफूलाई केलाउनुपर्छ । यो कुरा गरेनौँ भने नागरिक आन्दोलनको भूमिकामा बारम्बार प्रश्न उठिरहन्छ ।
राजनीतिमा नेताहरू स्मार्ट हुन्छन् । तीनथरी राजनीति गर्ने हुन्छ । आन्दोलनको राजनीति, निर्वाचनको राजनीति र सत्ताको राजनीति । हाम्रो नेपालमा दुर्भाग्य के भयो भने आन्दोलनको राजनीतिबाट नेता उदाउने, निर्वाचनको राजनीतिमा गएर फस्ने र सत्ताको राजनीतिमा गएर डुब्ने भएर हाम्रो देशमा सत्तरी वर्षदेखि लोकतन्त्रमा निरन्तर संघर्ष गरिरहेका छौँ । सहिदहरूको सम्झना गरिरहेका छौँ, किनकि उहाँहरू लोकतन्त्रका लागि लड्नुभयो । फेरि सत्तरी वर्षपछि हामी त्यही कुरा गरिरहेका छौँ, किनकि हामीले नेता जन्माउन सकेनौँ । आन्दोलनको राजनीति, निर्वाचनको राजनीति र सत्ताको राजनीतिबीच हामी आम नागरिक, नागरिक अगुवाहरू, पत्रकार र नेताहरू पनि फँस्दै गयो ।
आज प्रचण्डलाई आन्दोलन चाहिएको छ । त्यसैले कृष्ण खनाल, नारायण वाग्ले, सञ्जीव उप्रेती, खगेन्द्र संग्रौला र देवेन्द्रराज पाण्डेलाई बोलाउँदै छ । किनकि जनताको क्रेडिबिलिटी उनीहरूसँग छ । निर्वाचनको राजनीतिमा क्रिमिनल र व्यापारीहरूको साथ हुन्छ, उसलाई । र सत्ताको राजनीतिमा ओम्नी र यतिको साथ चाहिन्छ ।
यो तीनवटा राजनीतिको व्याकरण नै फरक छ । हामीले कुन राजनीति गर्न खोजेको ? मलाई लाग्छ, बृहत् नागरिक आन्दोलनले निरन्तर रूपमा आन्दोलनको राजनीति गर्ने हो । आन्दोलनको राजनीति गर्दा आज हामी पात्र केपी ओली मात्रै नभई केपी ओली प्रवृत्तिको विरोध गर्न खोजेको हो । भोलि त्यो ठाउँमा प्रचण्ड पनि जान सक्छ । तपाईं हामीले उहाँको पनि विरोध गर्न सक्नुपर्छ । म मधेस आन्दोलनमा जोडिएको मानिस । पाँच वर्ष अघिसम्म के भन्थ्यौँ भने मधेसीहरू शासित भए, पहाडीहरू शासक भए । पहाडीहरूमा पनि खस आर्य शासक भए । हिजो आन्दोलन गरेका समूह आज जनकपुरमा शासक भएका छौँ । जनकपुरमा दलितको मुस्लिमको अवस्था के छ ? त्यसैले शासक र शासितबीचमा नागरिक आन्दोलनले आफूलाई केलाउनुपर्छ । यो कुरा गरेनौँ भने नागरिक आन्दोलनको भूमिकामा बारम्बार प्रश्न उठिरहन्छ ।
नागरिक आन्दोलनको पनि विविध खेमा छ । विकासवादी, पहिचानवादी, सामाजिक न्याय, राष्ट्रवादी नागरिक आन्दोलन । यी सबै ठीक हो । यो सबैको बीचमा हामी सहकार्य कसरी गर्न सक्छौँ ? हामहिमहरूलाई भन्छु कि तपाईंहरूको देशमा राजनीतिक स्थायित्व हामी पनि चाहन्छौँ । तपाईंहरूमध्येले हाम्रो लोकतान्त्रिक आन्दोलनको यात्रामा सहयोग गर्नुभएको छ । त्यसको लागि तपाईंलाई र तपाईंको देशको नेतालाई धन्यवाद दिनुपर्छ । तर कृपया महामहिमज्यू विचार गरिदिनुस्, हाम्रो देशमा लोकतन्त्र किन स्थायी हुन सकेन । यो कुनै पार्टीलाई फुटाउने र कुनै नेतालाई च्याप्ने, कुनै नेतालाई दिनको तीन पटक भेट्ने र कुनै नेतालाई बोलाएर भेट्ने ।
पार्टीलाई फुटाएर गेम खेल्ने बाटो सजिलो हुन्छ भनेर कृपया तपाईंहरू त्यो बाटोमा नलागिदिनुस् । तपाईंहरूको सहयोग र सद्भावका लागि धन्यवाद दिन्छौँ । तपाईं भविष्यमा पनि चाहिन्छ । तर हाम्रो अग्रज पुस्ताले यो देशमा जसरी भोगिराखे, हामीले जसरी अस्थिरताको राजनीति, हाम्रो छोराछोरीले पनि यही भोग्ने ? हामी कहाँ जाने ? हाम्रो भविष्य कहाँ जाने र ? त्यसैले राजनीतिक स्थायित्वका लागि नेतालाई च्याप्ने र पार्टीलाई फुटाउने काममा कुनै महामहिमको सक्रियता नहोस् ।
(राजनीतिक विश्लेषक साहले आइतवार काठमाडौंको सिफलमा बृहत् नागरिक आन्दोलनलाई गरेको सम्बोधनको सम्पादित अंश )
Leave a Reply