
झापा —झापामा गौरादहकी एक दलित बालिकाले आफूलाई बन्धक बनाएर आठ दिनसम्म बलात्कार गरेको बताएकी छिन् । प्रहरीले घटनामा अनुसन्धान सुरु गर्दै बलात्कार भए–नभएको पुष्टिका लागि स्वास्थ्य जाँचका लागि पठाइएको छ ।
मोरङ पथरी–शनिश्चरेका २५ वर्षीय प्रकाश कार्कीले दमकको एक होटेलमा बन्धन बनाएर आठ दिनसम्म बलात्कार गरेको पीडित १५ वर्षीया बालिकाको भनाइ छ । बालिका दैनिक मजदुरी गरेर खाने विपन्न दलित परिवारकी हुन् ।
दबाब र प्रभावमा पारेर कार्कीले होटेलको कोठाबाट समेत निस्कन नदिई बलात्कार गरेको पीडित बालिकाले आरोप छ । पीडित बालिकाका अनुसार कार्कीले १६ पुसमा घरनजिकै बोलाएर दमकस्थित कोरोनेसन एन्ड पार्टी प्यालेसको कोठा नम्बर १०१ मा राखेको र त्यहीँ २३ पुस अर्थात् बिहीबारसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप लगाइन् । ‘दिउँसो घरमा गएर फूल दियो । बेलुका भेटौँ भन्यो । म त केही गर्दैन होला भनेर भेट्न गएँ,’ पीडित बालिकाले भनिन्, ‘भेटेपछि तँलाई बिहे गर्छु, आज होटेलमा गएर बसौँ भन्यो । तर, मैले मानिनँ । पछि म मरिदिन्छु भन्यो । ऊ मर्यो भने त म फस्छु भनेर गएँ ।’
छोरी हराएपछि उनका बुबाले हुलियासहित इलाका प्रहरी कार्यालय दमकमा खोजतलासका लागि निवेदन दिए । प्रहरीमा निवेदनसँगै उनीहरू युवाको घरमा समेत गए । ‘उसकी आमाले छोरासँग सम्पर्क गरिरहेकी रहिछिन् । हामीले प्रहरीकहाँ मुद्दा हाल्छौँ भनेपछि छोरालाई बिहीबार निकाले । नभन्दै मेरी छोरी पनि ऊसँगै रहिछ,’ उनी भन्छन्, ‘प्रहरीबाट तपाईंको छोरी भेटियो लिन आउनू भन्दै फोन आयो ।’
प्रहरी कार्यालय पुग्नुअघि कार्कीकी आमाले बालिकालाई बुहारी बनाउने वचनसहित ललाइफकाई गरेको र नमान्दा दलित भन्दै होच्याउने गरी गालीगलौज गरेको बालिकाले बताइन् । ‘सुरुमा भेट्नेबित्तिकै गाली गरिन् । पछि मलाई मेरो छोरालाई मुद्दा नहाल् भनिन्,’ बालिकाले भनिन्, ‘मलाई यस्तो गर्यो, म छाड्दिनँ भन्दै रोएँ । नमानेपछि तँलाई पनि जेठी बुढीमाथि आएकोमा जेल हाल्छन् । मेरो छोरोलाई पनि हाल्छन्, तँलाई बुहारी बनाउँछु, चुप लाग् है भनिन् ।’
दुईजना भेटिएपछि प्रहरी कार्यालयमा बालिकाका बुबाआमा र आफन्त आइपुगे । इलाका प्रहरी कार्यालय दमकमा सामान्य छलफल भयो । बालिकाका परिवारले केटाविरुद्ध कानुनी उपचार खोज्ने भन्दै प्रहरीसँग सल्लाह मागे । तर, प्रहरीले उल्टै गाली गरेको बालिकाकी भाउजूले बताइन् ।
‘हामीले कानुनी बाटो अपनाउँछौँ भन्दा पुलिसले खुरुक्क केटाकेटी जिम्मा लिएर जानू भन्दै हप्काए । हामीले त्यसै लाँदिनम् भन्दा तिमीहरू सबैलाई यहीँ थुन्छौँ भन्दै हप्काए,’ बालिकाकी भाउजूले भनिन्, ‘हाम्रो केही नलागेपछि बिहीबार जिम्मा लिएर घर गयौँ ।’ प्रहरीलाई यत्तिका आग्रह गर्दा पनि कार्कीलाई त्यसै छाडिदिएको उनले बताइन् ।
कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा परिवारले शनिबार जाहेरी दर्ता गरेका छन् । दमकका डिएसपी विजयराज पण्डितले भने, ‘दोष लगाउन जे लगाए पनि भयोे । हामीले जाहेरी दर्ता गरेका छौँ । मेडिकलका लागि पठाएका छौँ । अनुसन्धान सुरु भएको छ ।’
Leave a Reply