नवराज विकका बा–आमा न्यायको गुहार माग्न काठमाडौंमा

दलित अनलाईन १८ पुष २०७७, शनिबार १३:४६

काठमाडौं — अन्तरजातीय प्रेम विवाहको निहुँमा नियोजित रुपमा हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् ।
आफ्ना छोराहरुको हत्यामा संलग्न व्यक्तिहरु एकपछि अर्को गर्दै रिहा गर्न थालेको भन्दै न्यायको गुहार माग्न नवराज विककी आमा सहित आठ जना विहीबार साँझ काठमाडौं आइपुगेका हुन ।
गत १० जेठ जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको सोती पुग्दा गाउँलेहरुले सामुहिक र सुनियोजित ढंगबाट ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।
मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी शाही, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी नेपाली र सञ्जु विकका आमा सविता पहिलो पटक काठमाडौं आइपुगेका हुन् ।
न्यायका लागि रुकुम जिल्ला अदालत र सुर्खेत अदालतसम्म दोषीहरुलाई कारबाहीको लागि आफुहरु हारगुहार गरे पनि दोषीहरु उम्किने दाउँपेजमा रहेको भन्दै न्यायका लागि काठमाडौमा आफुहरु आएको नवराजकी आमा उर्मिलाले बताइन् ।
उक्त घटनामा पक्राउ परेका ३४ मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका र आमासहित छ जनालाई छोडिसकेको छ । उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको छ ।
शुक्रबारलाई पेसी तोकिए पनि प्रतिवादीको निवदनको विषयमा पनि सँगै सुनुवाइ हुने सर्वोच्चले बताएपछि बहस सरेको छ । थुनामा रहेका अन्य ११ जनाका निवेदन पनि आइसकेपछि बहस हुने सर्वोच्चलाई उदृत गर्दै अधिवक्ता त्रिलोकचन्द्र विश्वास विकेले जानकारी दिए ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank