
महोत्तरी— महोत्तरीको मनरा सिस्वा नगरपालिकामा १४ वर्षीया दलित किशोरीको अपहरण गरी बलात्कारको प्रयास भएको पीडित पक्षको आरोप छ । पीडित पक्षले सोही नगरपालिकाकी उपमेयर रमिता प्रधानका पति विनोद गामीले ती किशोरीलाई अपहरण गरी बलात्कारको प्रयास गरेको आरोप लगाएको हो ।
मनरा सिस्वा नगरपालिका वडा नम्बर ६ बाट बुधबार साँझ बेपत्ता भएपछि प्रहरीमा जानकारी गराइ स्थानीयवासी र प्रहरीसमेत खोजतलासमा जुटेका थिए । खोजतलासका क्रममा उपमेयर प्रधानको घर नजिक ती बालिकाको चप्पल भेटिएपछि उपमेयरको घरमा समेत खोजतालस गरिएको थियो । शौचालयमा हात–खुट्टा बाँध्नुका साथै मुखमा कपडा बाँधेर बन्द गरेको अवस्थामा फेलापारी किशोरीलाई उद्दार गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले उपमेयरका पति विनोद गामीले ती किशोरीको अपहरण गरी बलात्कार प्रयास गरेको आरोप लगाएको छ।
किशोरीकी आमा जिवु देवी बैठाका अनुसार उनकी छोरीलाई विनोद गामीले जबरजस्ती करणीको प्रयास गरेका थिए । आफ्नो परिवारलाई गाउँबाट उठिबास गराउन विनोद गामीले अपहरण गरेर छोरीलाई बलात्कार र हत्या गर्ने षडयन्त्र रचेको उनको आरोप छ ।
तर आरोपित विनोद गामीले आफूमाथि राजनीतिक प्रतिशोधका लागि षडयन्त्रपूर्ण आरोप लगाइएको बताए । उनले प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहासँग आफूहरुको पहिलादेखि नै दुश्मनी रहेकोले उनकै उक्साहटमा आफूमाथि यस्तो गलत आरोप लगाइएको दावी गरे ।
घटनामा आफ्नो संलग्नमा रहेको प्रमाणित भए आफू कारवाही भोग्न तयार रहेकोसमेत उनले स्पष्ट पारे । प्रहरीले आरोपित विनोद गामीलाई पक्राउ नगरेको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले जलेश्वर–बर्दिबास सडकखण्ड केहीबेर अवरुद्ध गरेका थिए ।
सो घटना बाहिरिएलगत्तै आरोपित विनोद गामी फरार छन् भने उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिका बहादुर केसीले जनाएका छन् ।
Leave a Reply