सात महिनामा दलित महिला र बालिकामाथि ८८ प्रतिशत बलात्कार

दलित अनलाईन २७ मंसिर २०७७, शनिबार ००:३१

विश्व कोभिड–१९ बाट आक्रान्त हुँदै गर्दा विश्वव्यापी रूपमा नै महिला तथा बालबालिकामाथि हिंसाका घटनाहरू पेचिलो ढङ्गबाट डर लाग्दो तस्बिरमा छताछुल्ल भए । नेपालमा पनि पछिल्ला दिनमा बलात्कार र हत्याका विभत्स घटना सार्वजनिक भइरहेका छन । पुरुषप्रधान समाजका मूल्यमान्यतालाई निरन्तर दिने पितृसतात्मक सोचले हरेक क्षेत्र ग्रस्त छ । परिणाम त परिवारभित्र नै महिलाहरू असुरक्षित बन्न पुग्दछन । राजनीतिक नेतृत्वले पनि यस्तो विषयलाई गम्भीरतापूर्वक नलिदा समस्या झनै बल्झिदै गएको छ । लैङ्गिक हिंसा वा बलात्कारका घटनाहरू पुरुष र महिला शक्ति सम्बन्धको उपज हो । महिलालाई नै पीधमा पार्ने र दमन गर्ने विचारको निर्माण गर्ने हाम्रो धार्मिक, सांस्कृतिक विचार, परिवारको इज्जत–प्रतिष्ठा, हिंसामा पीडित महिलालाई नै दोषी करार गरिदिने सामाजिक मनोविज्ञानले बलियोसँग जरा गाडेको छ । यस्ता मनोविज्ञानलाई तोड्न सबै सजक र सचेत रहनै पर्दछ । विद्यमान कानुनलाई कार्यान्वयन गर्ने निकाय नै मुकदर्शक भएपछि यस्ता घटनामा झन् बढोत्तरी भएको छ । यस्तै पीडितले न्याय खोज्ने वेला सरकारी पक्षबाट गरिने लापरवाही, उपेक्षा र दुव्र्यवहार, नैतिकताहीन सामाजिक चेतनाको उपज हो ।
नेपालमा दैनिक सात महिलाको बलात्कार भएको तथ्याङ्कले देखाउदै गर्दा, औसतमा तीनजना दलित महिला र बालिकाको बलात्कार हुने तथ्याङ्कले देखाउछ । यो तथ्याङ्क सात प्रदेश अन्तर्गत ६१ जिल्लाबाट प्राप्त घटनाको विवरण केलाउदा दैनिक तीन दलित महिला र बालिकाहरू बलात्कार हुने गर्दछन । यसमा एक दलित महिला र दुई दलित बालिका प्रत्येक दिन बलात्कृत हुने गरेका छन ।

प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, जिल्ला प्रहरी कार्यालयहरू, दलित महिला संघ (फेडो), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), (महिला पुनंस्थपना केन्द्र (ओरेक), दलित अनलाईन डटकम, कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, नागरिक दैनिक र गोरखापत्रलगायत विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा प्राप्त घटनाको विवरण र कानुनी दायरामा पुगेका घटनाहरूको तथ्याङ्कले दलित समुदाय र दलित महिला तथा बालिकाहरूको क्रुरु हिंसात्मक घटनाका दर बढेको देखाउछ । कोरोना महामारीको शुरुवातसँगै दलितमाथि जातीय हिंसा, हत्या, बलात्कार र अत्याचार बढ्दै गयो । एघार–बाह्र वर्षका कलिला दलित बालिकाहरू बलात्कृत हुन पुगे र मारिए । राहत माग्दा सरकारी अधिकारीहरूबाटै दलितहरू कुटिए । सामुदायिक किरियापुत्री भवनको प्रयोगमा बञ्चित भए । न्याय खोज्दा दलितविरुद्व उच्चजातका व्यक्तिहरू प्रतिकारमा उत्रिए । मानवसभ्यताकै कलङ्क बन्न पुग्यो नवराज विकलगायत ६ जनाको नरसंहारयुक्त रूकुमपश्चिम सोती हत्या प्रकरण । सम्झना कामी, मलर सदा हुन् या राजु सदा वा विजय राममाथि भएका पाशविक जघन्य अपराधको तथ्य बलिया प्रमाणहरू हुन् ।

तथ्याङ्क के भन्छ
प्रहरीका अनुसार कोभिड—१९ रोकथाम र नियन्त्रणका लागि भएको पाँच महिने लकडाउनको अवधिभरमा हत्या हिंसा, बलात्कार जातीय छुवाछूतलगायत घटनाहरूको संख्यात्मक बृद्धि निकै बढ्दो छ । बलात्कार र बलात्कारको प्रयास सम्बन्धी घटना ८३ प्रतिशतभन्दा बढि अपराधका घटनाहरू नजिकका नातेदार, छिमेकी तथा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । जसले गर्दा कतिपय घटना प्रहरीमा पुग्दैनन् । गुप्चुपमै मिलाउने गरेको देखिन्छ । यस्तो अवस्था दलितको हकमा ५१ प्रतिशत लागु छ । २०७६ चैतदेखि २०७७ असोज ३० गतेसम्मको मुलुकभर भएका घटनाहरूको तथ्याङ्क केलाउँदा दलित समुदाय ६ तहको विभेदबाट प्रताडित छन् । १. कुटपीट र भौतिक आक्रमण २. अन्तरजातीय विवाह ३. गाली बेइज्जति अपमानित र धम्की ४. बलात्कार ५. हत्या ६. अवसरबाट बञ्चित ।

कोरोना लकडाउनको अवधिमा दलित समुदायमाथि निकै क्रुर र अमानवीय रूपमा हिंस्रक घटनाहरू घटे । देशभर दलित समुदायमाथि जातीय विभेद र छुवाछूतजन्य घटना भए । जातीय भेदभाव र छुवाछूतकै आधारमा मारिनेको संख्या विगतको तुलनामा बृद्धि भयो । क्रमिकरूपमा बढ्को देखिन्छ । जातीय छुवाछूतका घटनाहरू गत वर्षका तुलनामा यो वर्षको सात महिनामै दोब्बर बढेको तथ्याङ्क बोल्छ ।

८८ अर्थात ३७ प्रतिशत दलित महिला र ११३ अर्थात ४७ प्रतिशत दलित बालिकामाथि बलात्कार भएको छ । यस्तै २५ अर्थात १० प्रतिशत बलात्कारको प्रयासबाट हिंसा भोग्न बाध्य भए । यस्तै शारिरिक ,मानिसक र यौनजन्य ३ प्रतिश पुगेको छ । बलात्कारपछिको हत्यामा दलित महिला र बालिका ३ प्रतिशत पुगेको छ ।

 

सात प्रदेश अन्र्तगत ६१ जिल्लाको प्राप्त घटनाको अध्ययन गर्दा जातीय छुवाछूतलगायतका कारण दलित समुदायमाथि कुटपीट तथा भौतिक आक्रमणका घटनाहरू ७२ वटा पुगेको छ । यसमा ९ दलित महिला र ७ दलित बालिका छन् । अन्तरजातीय विवाह भएका जोडीहरू परिवारबाट खोसिने, धम्की दिने, गाउँबाट विस्थापित गराउने, अपहरण र बलात्कार जस्तो अभियोगमा फसाँउनेलगायतका घटनाहरू १९ पुगेको छ । ७ उमेर नपुगेको, ३ परिवारबाट खोसिएको, ६ गाउँबाट सहर पसेको र २ आत्महत्या गरी १९ पुगेको हो । गाउँघर टोलछिमेकमा गाली बेइज्जती गर्ने, सार्वजनिक स्थलमा अपमानित गर्ने होच्याउने र धम्कीमा १६२ पुगेको छ । बलात्कारको प्रयास, बलात्कार, यौनजन्य हिंसा र बलात्कारपछिको हत्या गरी ४ सय ५४ पुगेको छ । प्रहरी हिरासतभित्र दलित युवाहरूको हत्या भएका छन । मन्दिरभित्र दलित बालिकाको बलात्कारपछिको विभत्स हत्या गरियो । यो सात महिनाको अवधिमा मात्र ३२ वटा यस्ता घटना भए ।

देशभर १ हजार ३ सय १८ जनाको बलात्कारका घटनामध्ये बलात्कारको प्रयास, बलात्कार, यौनजन्य हिंसा, शारिरिक हिंसा, मानसिक हिंसालगायतमा ४ सय ४७ दलित महिला र बालिकाहरू शिकार भएका छन् । ७ जनाको बलात्कारपछि हत्या भएको छ । ६ दलित बालिका र १ दलित महिलाको बलात्कारपछि हत्या भयो । रुकुम, रूपन्देही, बझाङ, धनुषा, सप्तरी, मोरङ, धनुषा जनकपुर र रौतहटमा जातीय आधार होस् या न्यायिक निकायको रेखदेख वा योजनावद्व गरी ३२ जना दलितको हत्या भएको छ ।

२०६७ चैतमा १ सय ३४ बलात्कारको घटनामा ८१ दलित महिला बलात्कृतमध्ये ३८ जना दलित बालिका छन् । २०७७ बैशाखमा १ सय ५२ बलात्कारको घटनामा ४९ जना दलित महिलामध्ये १४ जना बालिका छन् । जेठमा १ सय ९६ बलात्कारको घटनामा ३६ जना दलित महिलामध्ये २१ जना दलित बालिकाहरू बलात्कृत भएका छन् । असारमा २ सय ४० बलात्कारको घटनामा ५१ जना दलित महिलामध्ये १२ जना दलित बालिका छन् । साउनमा २ सय ६६ बलात्कारको घटनामा ४४ जना दलित महिलामध्ये १९ जना दलित बालिका छन् । भदौंमा १ सय ९७ बलात्कारको घटनामा ३१ जना दलित महिलामध्ये १७ जना दलित बालिका छन् । असोज १५ गतेसम्म ९१ बलात्कारको घटनामा १३ जना दलित महिलामध्ये ७ जना दलित बालिका छन् ।

यो तथ्याङ्क अनुसार असोजबाहेक हरेक महिना अपराधको संख्या क्रमशः बढ्दो छ । माथि उल्लेख गरिएको तथ्याङ्क अनुसार विवाहित महिलादेखि युवती, किशोरी तथा बालिकासम्म गरि ४ सय ४७ जनाको बलात्कारको प्रयास, बलात्कार, यौनजन्य हिंसा, बलात्कार भएको छ । यो तथ्याङ्क अनुसार ६१ वटा घटनामात्रै प्रहरी प्रधानको कार्यालयको रेकर्डमा छ । अरू गाउँघर टोलछिमेक र स्थानीय निकायहरूको पहलमा मिलापत्र गरिएको छ । यी घटनामध्ये ७ जनाको बलात्कारपछि हत्या गरिएको छ । यसबीचमा बोक्सी आरोपमा ४ जना दलित महिलाहरूले विभेदको सामना गर्दै अपमानित हुनु परेको छ । ८८ अर्थात ३७ प्रतिशत दलित महिला र ११३ अर्थात ४७ प्रतिशत दलित बालिकामाथि बलात्कार भएको छ । यस्तै २५ अर्थात १० प्रतिशत बलात्कारको प्रयासबाट हिंसा भोग्न बाध्य भए । यस्तै शारिरिक ,मानिसक र यौनजन्य ३ प्रतिश पुगेको छ । बलात्कारपछिको हत्यामा दलित महिला र बालिका ३ प्रतिशत पुगेको छ ।

कुन प्रदेशमा कति ?

नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहका अनुसार बलात्कारका घटनामा २० वर्षभन्दा कम उमेरका किशोरी तथा बालिका बढि पीडित हुने गरेका छन् । देशभरका घरेलु हिंसाजन्य अपराधसँगै बलात्कारमध्ये ८० प्रतिशतभन्दा धेरै दलित महिला र बालिकाहरू छन् । दिनमा ७ जनाको बलात्कार भइरहेको प्रहरीकै तथ्यांक छ । अर्कातिर अशिक्षा र आर्थिक लोभलालचले हुर्केको सामाजिक आपराधिक मनोवृत्ति पनि डरलाग्दो छ । बलात्कारको प्रयास, बलात्कार, यौनजन्य र हिंसाजन्य कुसंस्कार सबैभन्दा बढि प्रदेश २ मा व्याप्त रहेको प्रहरीको तथ्यांकबाट देखिन्छ । ४ सय ४७ बलात्कारमध्ये प्रदेश २ मामात्र १ सय ९६ छन् । ती मध्ये ४९ वटा बलात्कारका घटनाहरूमात्रै प्रहरीमा उजुरी परेको थियो । उजुरीमध्ये ३७ वटा घटनाकोमात्र कारवाही र कानुनी उपचारमा लगिएको छ । १२ बलात्कारका घटनाहरू प्रहरीकै रोहवरमा जनप्रतिनिधिको उपस्थितिमा मिलाइएको छ ।
प्रदेश १ मा दलित महिला र बालिकामाथि यौनजन्य हिंसा बलात्कार र बलात्कारको प्रयास सम्बन्धी ५७ वटा घटनाहरू छन् । ३६ मध्ये ६ वटा घटनाहरूमात्र कानुनी कारवाहीको लागि प्रहरीले अगाडि सारेको छ । उपत्यकासहित् वाग्मती प्रदेशमा १ सय १२ वटा घटनाहरू छन् । जसमध्ये कानुनी कारवाहीको लागि ५२ वटा घटनाहरू अगाडि बढेको छ । गण्डकी प्रदेशमा ८९ वटा घटनामाध्ये २६ वटा घटनाकोमात्र प्रहरीमा उजुरी दर्ता भएको छ । ८९ वटा घटनामध्ये ४१ वटा घटना बलात्कारको प्रयास बलात्कार र यौनजन्य हिंसाका घटना थिए । प्रहरीका अनुसार २६ वटा दर्ता भएका घटनामध्ये १७ बलात्कार घटना छन् ।

लुम्बिनी प्रदेशमा १ सय ९ वटा घटनाहरू छन् । यी घटनामध्ये बलात्कारको प्रयास, बलात्कार र यौनजन्य हिंसा ७७ वटा छन् । (छुवाछूत, कुटपीट यौनजन्य हिंसा, बलात्कार र बलात्कारको प्रयास, अन्तरजातीय विवाह) थिए । यीमध्ये ३४ वटा घटनाको प्रहरीमा उजुरी दर्ता गरेका छन् । ३४ घटनामध्ये १२ वटा घटनामात्र प्रहरीले घटना (केस) अगाडि बढाएको छ । बाँकी प्रहरीको सहभागितामा मिलापत्र गराइएको छ ।
कर्णाली प्रदेशमा ६२ वटा घटना घटेका छन् । यीमध्ये २८ वटा बलात्कार प्रयास र बलात्कारका घटनाहरू छन् । बाँकी जातीय विभेद सम्बन्धी घटनाहरू छन् । यी घटनाहरूमध्ये १९ वटा घटनाहरूकोमात्रै प्रहरीमा उजुरी दर्ता भएका छन् । जसमध्ये ८ वटा बलात्कारको घटनाहरू छन् । सुदूरपश्चिम प्रदेशमा ४९ वटा घटनाहरू घटे । यीमध्ये २३ बलात्कारको प्रयास र बलात्कारका घटनाहरू छन् ।

(दलित महिला संघ (फेडो)ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो तथ्य देखिएको हो । सामाजिक अभियन्ता  तथा दलित अनलाईनका प्रकाशक सम्पादक अशोक दर्नालले गरेको अध्ययन अनुसन्धान र लेखनलाई संघले पुस्तकको रुपमा प्रकाशन गरेको छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank