दाङ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले बालविवाह न्यूनीकरण गर्ने अभियान सुरू गरेको छ।
पछिल्लो समय प्रदेशभर बालविवाह भइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न आजदेखि १५ दिने बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।
“उमेर नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन तर विभिन्न कारणबाट उमेर नपुग्दै विवाह गर्ने गरेको पाइन्छ”, उनले भने, “यसबाट शारीरिक र मानसिक रोगको सिकार हुने, घरेलु हिंसामा वृद्धि हुने, विवाहपछि पढाइ बिग्रने, विभिन्न पारिवारिक, सामाजिक, आर्थिक असर परी कानूनको उल्लङ्घन हुनुका साथै विभिन्न अपराधसमेत सिर्जना हुन सक्ने जोखिम बढेको छ।”
प्रदेशका १२ जिल्लाका सबै प्रहरी कार्यालयले लक्षित वर्गसम्म पुगी बालविवाह निरुत्साहन तथा नियन्त्रण गर्न, कानून कार्यान्वयन प्रभावकारी बनाउन, आम जनता, स्थानीय तहहरु, सञ्चारमाध्यम, नागरिक समाजलगायत सरोकारवाला निकायहरुसँग सहकार्य गरी कार्यक्रम चलाउने उनले जानकारी दिए। रासस
Leave a Reply