प्रहरी हिरासतमा मृत्यु प्रकरण : संसदीय समितिले थाल्यो स्थलगत अध्ययन

दलित अनलाईन १४ आश्विन २०७७, बुधबार २३:२९

धनुषा — प्रहरी हिरासतमा मृत्यु भएको दुईवटा घटनाको संसदीय समितिले अध्ययन थालेको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा हिरासतमा मृत्यु भएका शम्भु सदा र रौतहटको गरुडा नगरपालिकामा प्रहरी हिरासतमा मृत्यु भएका विजय रामको घटनाको अध्ययन थालेको हो ।

संसदीय टोलीले पीडित परिवार, सुरक्षा निकाय तथा विभिन्न सरोकारवालासँग घटनाबारे जानकारी लिएको छ । नेकपा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा गठित संसदीय अध्ययन समितिले मृतक सदाको घर पुगेर आमा, श्रीमती र छिमेकीहरूसँग घटनाबारे जानकारी लिएको समितिका सदस्य एवं धनुषाका प्रतिनिधिसभा सांसद उमाशंकर अरगरियाले बताए ।

सवारी ज्यान मुद्दामा पक्राउ परेका सबैलाका २३ वर्षीय सदा इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेको वेला गत २७ जेठमा प्रहरी कार्यालयको शौचालयभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । दलित संघसंस्था, स्थानीय र शम्भुका परिवारले प्रहरीको यातनाको कारण मृत्यु भएको आरोप लगाउँदै आएका छन् ।

संसदीय टोलीले इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालासँग बुधबार भेटघाट गरेको छ । निरञ्जन रामको हत्याको अभियोगमा पक्राउ गरिएका विजय रामको प्रहरीकै चरम यातनाको कारण मृत्यु भएको परिवारजनले बताएको अरगरियाले जानकारी दिए ।

घटनामा दोषी देखिएका प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी हवल्दार मुन्ना सिंह र फिरोज मियाँ अन्सारी पक्राउ पुर्जी काटेलगतै फरार भएको सुरक्षा निकायले जानकारी गराएको अरगरियाले बताए । ‘दुवै घटनाको वस्तुस्थित बुझ्न हामीले घटनास्थलमै पुगेर सरोकारवालाहरूसँग छलफल गऱ्यौँ,’ उनले भने, ‘प्रतिवेदन सरकारलाई बुझाउँछौँ ।’

टोलीमा अरगरियासहित नेपाली कांग्रेसका पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, नेकपाका लालबहादुर थापा र समिमा हुसैन सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank