जहाँ दलित विद्यार्थी मात्रै पढ्छन्

दलित अनलाईन १८ भाद्र २०७७, बिहीबार १२:१८

बागलुङ—  माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय । गाउँ र विद्यालयको नाम भने एउटै–सिरबारे । गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन् । १८ छात्रा, १३ छात्र । सबै दलित समुदायका । विसं २०५३ सालमा खुलेको विद्यालयमा कक्षा ३ सम्म  पढाई हुन्छ । बाल कक्षा पनि चलेको छ । विद्यालयले सिकाईमा अङ्ग्रेजी माध्यम अपनाएको छ । स्थायी र राहत दरबन्दीमा एक-एक शिक्षक छन् । दुई शिक्षक स्थानीय स्रोतका ।

कमजोर आर्थिकस्थिति र सिमित स्रोत, साधनका बाबजुत बालबालिकालाई गुणस्तरीय शिक्षा दिन विद्यालय सङ्घर्षरत छ । प्रदेश सरकारको सहयोगमा चार कोठे भवन बनेपछि विद्यालयको भौतिक अवस्था केही सुधारिएको छ । खेल मैदानको भने अभाव छ । केही वर्षअघिसम्म विद्यार्थी, शिक्षक, व्यवस्थापन पक्ष सबै दलित समुदायकै थिए । अहिले प्रधानाध्यापकलगायत शिक्षक, कर्मचारी गैरदलित पनि छन् । दलित बाहुल्य बस्तीमा पर्ने भएकाले विद्यालयमा दलित विद्यार्थी धेरै हुनु अनौठो होइन तर, यो विद्यालयमा दलित विद्यार्थी मात्रै पढ्छन् ।

विद्यालय नेरफेर अन्य जातिका मानिसको बसोबास नभएको भने होइन । उनीहरुका बालबच्चा दैलोको विद्यालय छाडेर कोही नीजितिर त कोही अन्यत्रको विद्यालय जान्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल दर्जीका अनुसार सार्वजनिक रुपमा अनुरोध गर्दा पनि गैरदलित समुदायका बालबालिका भर्ना हुन आउँदैनन् ।

‘अभिभावकलाई भेटेरै अनुरोध गर्दा पनि भर्ना गर्न मान्नुहुन्न, कसैले सानो कक्षामा पढ्ने बालबच्चा घरमा छैनन् भन्नुहुन्छ, कसैको घुमाउरो कुरा आउँछ, ’ उनले भने  । आफ्ना बालबालिकालाई कहाँ पढाउने भन्ने विषय अभिभावकको स्वतन्त्रता भएकाले विद्यालयले बढी जोड गर्न नमिल्ने उनले तर्क छ । ‘कतिपयमा त्यो दलित समुदायले चलाएको विद्यालय हो, दलित विद्यार्थी मात्रै पढ्छन्, हामीले त्यहाँ पठाउनुहुन्न भन्ने सोच हुनसक्छ,’  उनले भने  , ‘प्रत्यक्ष रुपमा कसैले केही नभने पनि हामीलाई बेलाबेला विभेद गरिएको हो की भन्ने भान हुन्छ । ’ उनले मौलिक परिचयका साथ विद्यालयलाई स्थापित गर्नमा आफूहरुको जोड रहेको उल्लेख गरे  ।

विद्यालयका प्रअ कल्पना गौतमले विद्यालयमा गुणस्तरीय सिकाईको वातावरण बनाउन आफूहरु लागिपरेको बताइन् । विद्यालयमा आर्थिक स्रोत र शैक्षिक विकासका लागि पूर्वाधार अभाव रहेको उहाँको भनाइ छ । ‘अङ्ग्रेजी माध्यमको पढाईका लागि स्थानीय स्रोतबाट शिक्षक व्यवस्थापन गरेका छौँ’,  उनले भने।

प्रअ गौतमले विद्यालयमा कम्प्युटर शिक्षाको योजना रहेपनि आर्थिक स्रोत नजुट्दा समस्या निम्तिएको  बताइन्  । प्रविधियुक्त सिकाईका लागि स्रोत, साधनको कमी छ । स्थानीय तहलगायत सरकारी निकायबाट धेरथोर सहयोग आएपनि त्यो प्रयाप्त छैन । सङ्घसंस्था, दाताले बेलाबेला विद्यार्थीका लागि शैक्षिक सामग्री, पोशाक वितरण गर्दै आएका छन् । गत साता गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले अक्षयकोषमा रहने गरी रु। ५० हजार आर्थिक सहयोग गरेको थियो ।

‘गाउँको विद्यालयलाई सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हौँ’,  समितिका अध्यक्ष रामु थापा काजीले  भने। विद्यालयलाई पहिलोपटक अक्षयकोषका रुपमा सहयोग आएको प्रअ गौतमले बताइन् ।  ‘विद्यालयमा अहिलेसम्म कुनै कोष थिएन ,’ उनले भने । अक्षयकोषको ब्याजबाट वर्षेनी उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत-सम्मान गर्ने सोच विद्यालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank