अन्तरजातीय विवाह गरेको निहुँमा बाबुको अन्तिम संस्कार गर्न रोक : चार जनाविरुद्ध किटानी जाहेरी

दलित अनलाईन १४ भाद्र २०७७, आईतवार १२:१२

ताप्लेजुङ — दलित युवतीसँग विवाह गरेको निहुँमा बाबुको मृत्युपछि अन्तिम संस्कार गर्न नदिएको र परिवारले जातीय आधारमा बहिस्कार गरेपछि राजिन्द्र बुढाक्षेत्रीले आफ्नो परिवारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका छन् ।
सिदिङ्वा गाउँपालिका–३ का राजिन्द्र बुढाक्षेत्रीले जातीय भेदभाव गरेको र बाबुको अन्तिम संस्कारमा सामेल हुन नदिएको भन्दै दाजुसहित चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।
राजिन्द्रले प्रेम र रामबहादुर बुढाक्षेत्रीसहित खड्ग र बुद्धि बुढाथोकीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। ‘जातीय भेदभाव तथा छुवाछूत कसुरमा मुद्दा दर्ता भएको छ’, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले भने, ‘प्रतिवादीहरूको खोजी गरिरहेका छौं ।’
साउन १० गते बुवा कुलमान अचानक बिरामी भएपछि राजिन्द्रले नै उपचार गर्न झापा लिएर गएका थिए । ७ दिनसम्म उपचार गर्दा पनि निको नभएपछि साउन १७ मा बुवालाई लिएर घर फर्किए । १८ गते वैतरणी दान गरियो । दाजु प्रेमले वैतरणीमा सहभागी हुन दिएनन् । ‘बुवालाई रुँघेर सिकुवामा बसेको थिएँ, दाजुले हाम्रो घरको आँगन पनि टेक्न पाउँदैनस् भनेर बाहिर निकाल्नुभयो’, उनले भने, ‘सोही दिन दिउँसो बुवा बित्नुभयो । म र मेरी पत्नीलाई शव हेर्नै दिएनन् । ’

उनका काका रामबहादुर बुढाक्षेत्रीले काजकिरिया गर्न नदिने भने । दाजु नाता पर्ने बुद्धिले पनि हप्काएको राजिन्द्रको गुनासो छ । दुव्र्यवहारको क्रम त्यत्तिमै रोकिएन । करिब ३ सयको संख्यामा भेला भएका मलामीका अगाडि नाताले दाजु पर्ने खड्ग बुढाथोकीले नानाभाती भने । यसरी दाजुभाइले जातीय भेदभावसहित गालीगलौज गर्दा अरू भने मुखामुख मात्रै गरिरहेको उनकी पत्नी फूलमायाले बताइन्। स्थानीय जनप्रतिनिधि र गाउँपालिकाका केही कर्मचारी रमिते बने । अन्तिम संस्कारमा सहभागी हुन दिऊँ भनेर कसैले नबोलेको उनले सुनाइन् ।
राजिन्द्रले २०६० सालमा गाउँकै फूलमाया विश्वकर्मासँग विवाह गरेका हुन् । बुढाक्षेत्रीले दलित युवतीसँग विवाह गरेपछि परिवारले घरबाट उनलाई निकालेका थिए । छुट्टै घर बनाएर बस्न थालेका राजिन्द्रले बुढाक्षेत्रीले १७ वर्षदेखि समाजबाट एक्लिएका र अहिले झनै अन्याय परेका बताए ।
राजिन्द्र न्यायका लागि सदरमुकाम फुङलिङ आएका छन् । संयुक्त दलित अधिकार मञ्च ताप्लेजुङले जाहेरी दर्ता गराउन सहयोग गरेको फूलमायाले बताइन् । मञ्चका अध्यक्ष छत्र विश्वकर्माले मुलुक छुवाछूतमुक्त भएको लामो समय भइसक्दा पनि यस्ता घटना हुनु दुःखद भएको बताए ।

नेपालको संविधानको धारा २४ मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, पेसा, समुदाय, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत गर्न नपाउने व्यवस्था छ। छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा छुवाछूत गर्नेलाई हदैसम्मको सजायको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank