देखाउँछ खसी, दिन्छ फर्सी ,त्यो पनि भोली की पर्सि यो भनाई स्वर्गिय रासलाल रामको हो । उहाँ प्राय यो कुरा सम्बोधनका क्रममा भन्नुहुन्थ्यो । उहाँको यो भनाई वर्तमान परिवर्तित राजनीति, सरकार, संविधान र प्रचलित कानुन उपरको चोटिलो ब्यंग्य थियो । उहाँको यो भनाईको सार बुझन खोज्दा नेपालमा पछाडि पारिएका समुदाय गरिब, दलित र हरवा चरवा प्रति राजनैतिक दल र सरकारले गर्ने गरेको व्यवहारको उदाहरण हो यो । नेपालमा कयौपटक राजनैतिक परिवर्तन भए, शासन प्रणालीमा परिवर्तन भयो, निर्वाचन भयो, सरकार बने र संविधान र कानुनहरु पनि परिर्वतन भए तर दलित, हरवाचरवाको जीवनमा कुनै परिवर्तन आएन । त्यसैले सबै दल, सरकार, संविधानले हाम्रा विषयमा भन्ने गरेका विषय र व्यवहारमा फरक मात्र होइन, कुनै निश्चिितता समेत रहदैन । यसैमा उहाँले उदाहरणमा भन्ने गर्नुहुन्थ्यो पश्चिममा कमैया, हलिया मुक्त भए तर हरवाचरवा प्रथा कायमै छ । उहाँ थप्नुहुन्थ्यो अहिले त कम्नीष्ट को सरकार छ, कम्नीष्ट गरिब मैत्री हुन्छन रे शायद वर्तमान सरकारले मुक्ति गर्दछ कि ? उहाँमा आशाका किरणहरु देखिन्थे । तर रासलाल राम मुक्तिको अनुभुति बिना अस्ताए ।
नेपालमा दलित समुदाय प्रति गरिने व्यवहार विभेदपुर्ण छ । तराई मधेशमा झन् चर्को रहेको बुझाई अनुरुप दलितहरु अधिकारका लागि संगठित हुनुपर्दछ भन्ने भावना बमोजिम सिनो बहिस्कार आन्दोलनमा अगुवाई समेत गरेका रासलाल राम पछिल्लो समयमा हरवा चरवा संगठन र उनीहरुको मुक्तिका लागी प्रयत्नशील थिए । आफु र आफनो समुदाय आजको युगमा समेत पारिश्रमिकको बिनै अर्कोको खेतबारीमा बाँधा श्रमीक रुपमा काम गरिरहेको महशुस गरी हरवा मुक्तिको अभियानमा सामेल भएका थिए । हरवा चरवाहरुलाई सचेत गर्न र संगठन निर्माण गर्नका लागि निरन्तर प्रयत्नशील रहे । स्थानिय समुह हुँदै जिल्ला र जिल्ला बाट राष्ट्रिय हरवा चरवा नेटवर्कका मुत्युपर्यन्त महासचिव रहे ।
स्व.रासलाल राम संग मेरो भेट २०७४ सालमा लाहानमा भएको थियो । हरवा चरवाहरुका बीचमा कमैया, हलियाका सफलताको अनुभव साट्ने प्रयोजनका लागी म त्यहाँ गएको थिए । उक्त छलफलमा स्व.रासलालको अभिब्यक्ति र प्रतिबद्धताले म निक्कै प्रभावित भएँ । सामान्य शब्दमा हरवा चरवाका सवाल र समाधानका उपाय समेत व्यवहारिक रुपमा प्रस्तुत गर्ने अदभुत क्षमता उहाँमा थियो । हरवा चरवा राष्ट्रिय सञ्जाल गर्ने प्रयोजनका लागी उहाँले देखाएको तत्परता समेत निकै उत्साहप्रद थियो । उहाँ निरन्तर रुपमा स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग हरवा चरवाको मुक्तिको विषयमा निकै तार्किक रुपमा प्रस्तुत हुनु हुन्थ्यो । कयौ पटक सिहदरवार, प्रदेश सरकार, विभिन्न आयोग चार्हानु भयो मुक्तिका लागी तर अफसोच मुक्तिको अनुभव बिनै हामी बिचबाट बिदा हुनुभयो ।
स्व.राम ले मुक्तिको अनुभुति त गर्न पाउनु भएन तर मुक्तिको बाटोमा अगाडी बढ्नुभयो । उहाँको निधनले हरवा चरवा आन्दोलनलाई अपुरणीय क्षति भएको छ । सरकार र राजनैतिक दल नागरिक प्रति जिम्मेवार छ भने तत्काल हरवा चरवाको ऋृण मिनाहा सहित मुक्तिको घोषणा गरोस् अनि मात्र स्व.रासलाल को सपना पुरा हुनेछ । र भविष्यमा नागरिक बाँधा भएरै स्वतन्त्रताको सपनामै मृत्युवरण गर्न बाध्य हुने छैनन् । अलबिदा स्व.रासलाल राम ।
स्वं रासलाल रामको २०२५ साल असोज १३ गते सिराहाको बस्तीपुरमा जन्मनु भएको थियो । उहाँ जन्मदै हरवा चरवाका रुपमा जन्मिनु भयो । बुझने हुँदा उहाँ चरवा भै सक्नु भएको थियो । बस्तीपुर गाउँमा रहेका अधिकांश दलितहरु स्थानिय जमिन्दारका बधुँवा थिए । जसमा उहाँको परिवार समेत थियो । राजनैतिक परिवर्तनले जमिन्दारमा परिवर्तन आए पनि हरवा चरवामा परिवर्तन आएन । औपचारिक शैक्षिक प्रमाणपत्र नभए पनि स्व.राम आफना अनुभुतिहरु लेख्ने गर्नुहुन्थ्यो । बस्तीपुरमै २०७७ साल अषाढ ३१ गते ५२ बर्षकै उमेरमा उहाँ बित्नु भयो ।
स्वं रासलाल राम जीवन पर्यन्त दलित, हरवा चरवा मुक्तिका लागी क्रियाशिल रहनुभयो । उहाँको सपना हरवा चरवाको ऋृण मिनाहा सहितको मुक्ति र पुनःस्थापना थियो । उहाँ जिबितै हुँदा यो सम्भव हुन सकेन र स्वतन्त्रता को अनुभुति बिनै उहाँ हामी बिचबाट बिदा हुनुभयो । उहाँ हामी बिचमा नभए पनि उहाँले देखाएको बाटो र प्रतिबद्धता सधै हरवा चरवा मुक्तिका लागी उदाहरण बन्ने छ । उहाँको १३ औ दिनको तिथि र श्रद्धाञ्जली सभा श्रवाण १२ ( आज ) गते बस्तीपुरमा आयोजना भयाे । यस घडीमा शोक सन्तप्त परिवार प्रति समबेदना ब्यक्त गर्न चाहान्छौ । स्व.रामको त्याग र लगनशीलताले हरवा चरवाका मुक्तिका लागी लागि परेकाहरुका लागि निरन्तर मागदर्शन गर्नेछ ।
उहाँकै भनाई स्मरण गर्दा उहाँ भन्ने गर्नुहुन्थ्यो । यो सरकार, राजनैतिक दल कस्को हो ? के हामी जस्ता शोषित पिडित हरवा चरवाका दिन फिर्दैनन् त ? आफैलाई प्रश्न गर्नुहुन्थ्यो तर हार र निराश भने कहिल्यै भएको देखिएन । प्रत्येक वर्ष हुने बजेट भाषण र सरकारी घोषणा ध्यान दिएर सुन्ने गर्नुहुन्थ्यो र निराश बन्ने गर्नुहुन्थ्यो तर तत्काल यस पटक भएन अर्को पटक त होला नि । थप्नु हुन्थ्यो सायद हाम्रो आन्दोलन पुगेन । थप मजबुत संगठन, प्रष्ट माग र ब्यापक दबाब श्रृजना आवश्यक छ । राजनैतिक दल र सरकारले आफै केहि नबुझनेर केहि नगर्ने भएकाले आन्दोलनबाट सरकार लाई सुन्न बाध्य बनाउन जरुरी रहको उहाँको धारणा थियो । सरकार आफै बनाएको संविधान र कानुन समेत पालन नगरेकोमा उहाँमा आक्रोश देखिन्थ्यो ।
विडम्बना मान्नु पर्दछ आजको युगमा समेत संविधान र कानुन विपरित हरुवा चरवा मजदुर प्रणाली कायम छ । गरिब, विपन्न र पछाडि पारिएका समुदायको उत्थानका लागि काम गर्नेहरुले हरवा चरवा देखेनन् रासलाल सुनेनन् । स्वतन्त्र मानव भै बाँच्ने उनको चाहाना पुरा हुन पाएन् । एउटा मानिस बधुवा भएरै जन्मियो, बाँच्यो र बधुबै भएर देह त्याग गर्यो यो भन्दा बलियो थप्पड के हुन सक्दछ । स्व.राम ले मुक्तिको अनुभुति त गर्न पाउनु भएन तर मुक्तिको बाटोमा अगाडी बढ्नुभयो । उहाँको निधनले हरवा चरवा आन्दोलनलाई अपुरणीय क्षति भएको छ । सरकार र राजनैतिक दल नागरिक प्रति जिम्मेवार छ भने तत्काल हरवा चरवाको ऋृण मिनाहा सहित मुक्तिको घोषणा गरोस् अनि मात्र स्व.रासलाल को सपना पुरा हुनेछ । र भविष्यमा नागरिक बाँधा भएरै स्वतन्त्रताको सपनामै मृत्युवरण गर्न बाध्य हुने छैनन् । अलबिदा स्व.रासलाल राम ।
(लेखक अधिवक्ता हुन् )
Leave a Reply