लकडाउनभित्र जातीय विभेद र लोकतन्त्र

गणेश विश्वकर्मा २८ असार २०७७, आईतवार १५:२१

सन्दर्भ

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संभावित महामारीको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन गत २०७६ चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । हाम्रो पुस्ताको सबैभन्दा ठूलो संकटबाट बच्न लगाइएको लकडाउनको स्वअनुशासन मान्नुपर्नेमा विभिन्न क्षेत्रबाट उल्लघंन गरियो । मुलतः भारतबाट अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुराको भूमि फिर्ताको देशभक्तिपूर्ण आन्दोलन लकडाउनभन्दा ठूलो ठानेर, केहीले एमसिसिको विषय बनाएर आन्दोलन गरे । लकडाउनको अबधिमा सबैभन्दा बढी पीडा दलितहरुका लागि भयो, ६ जनाको हत्या हुनेगरी भएको रुकुमपश्चिमको नरसंहारलगायत देशका विभिन्न भागमा ४ दर्जन बढी घट्नाहरु घटे । दलितहरुमाथि लकडाउनको बेला भएको विभेद अमानवीय र आजको सभ्यता र हामीले अंगालेको व्यवस्थालाई नै चुनौति दिने गरी भएका घट्नाहरुका न्यायका लागि दलित आन्दोलन पनि न्यायको शर्तमा लकडाउनलाई वेवास्ता गर्दै सडकमा उत्रियो । दलित आन्दोलन अन्य आन्दोलनभन्दा फरक यसमानेमा भयो कि यो देशका ७७ वटै जिल्ला र कतिपय स्थानीय तहमा समेत आन्दोलित भयो ।

हत्याका घट्नाहरु

बलात्कारी वीरेन्द्रको जिम्मामा लगाएकै राति नजिकको रुखमा झुण्डिएको अवस्थामा उनको लाश फेला परयो । धनुषाका शंभु सदाको इलाका प्रहरीको हिरासतमा झुन्ड्याएर निर्मम तरिकाले हत्या गरियो । रुपन्देही जिल्लाकै एक पशुफर्ममा एकसाथ ५ जनाको त्रासदीपूर्ण एवम् विभत्स हत्या भयो । धनुषाको जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनमा अर्का १६ वर्षीय राजु सदाको झाडापखालाको उपचार नपाएर मृत्यू भयो । सप्तरीका मल्लर सदा ४ दिनदेखि खाना नपाएर भोकभोकै मरे । सोही गाउँका गंगाराम सदाको पनि भोकमरिका कारण मृत्यू भयो । अछामका सिद्धार्थ आउजीले लकडाउनको बेला रोजगारी गुमाएलगतै आफ्नै शरीरमा पेटोल छर्केर आत्महत्या गरे । बाग्लुंगकी एक दलित यूवतीले स्थानीय प्रहरीसंगको प्रेम सम्बन्ध भएको तर उनले विहेको प्रस्ताव अस्वीकार गरेको सुसाइड नोट लेखेर आत्महत्या गरिन् । त्यसैगरी कतारबाट आएका एक यूवाले कोराइन्टाइनमा विभेद गरेपछि आत्म गरे । चार वर्ष अघि हत्या गरिएका काभ्रेका अजित मिजारको लाश आजपनि काठमाडौंस्थित टिचिंग हस्पिटलमा रहेको छ ।

बलात्कार र हिंसा
मोरंग जिल्लाको मिक्लाजुंग नगरपालिका वडा नंबर ९ कसेनीस्थित आफ्नै टहरोमा सुतेको अवस्थामा स्थानीय धिरेन मगरले १४ वर्षीया दलित वालिकामाथि बलात्कार गरे । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–७ बडहराकी १५ वर्षीया किशोरी ५ महिना अघि स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले बलात्कार गरे । धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं.६ स्थित आत्मारामा १३ बर्षिया दलित समुदायकी एव बालिका आफ्नै शिक्षक तथा राजनीतिक नेताहरुबाट बलात्कारको सिकार भएन । सप्तरीकी एक महिलालाई बोक्सीको आरेपमा मरणासन्न हुने गरी कुटपीट गरी घाइते बनाइयो ।

जातीय छुवाछूत र भेदभाव
कास्की जिल्लाको पोखरा महानगरपालिका १६ बाटुलेचौरका मोहन सुनारलाई आफ्नो भाईको क्रिया गर्न स्थानीय क्रियाघर नदिएर मृत्यूमा समेत विभेद गरियो । सो घटनाका विरुद्ध प्रहरीमा उजूरी दिदा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले प्रेस विज्ञप्ति नै निकाले । जाजरकोट जुनिचाँदे गाउँपालिका २ मजकोटका रामबहादुर नेपालीमाथि राहात वितरण गरिरहेको बेला उनीसंग पराजित जयबहादुर नाथलगायतका ७ जनाको समूहले दलित, तल्लो जात भन्दै कुटपीट गरे । महोत्तरी जिल्लाको गौशालानगरपालिका वडानंबर ६ फूल्काहाकी संगीता मुसहरले आफू सुत्केरी हुंदा लकडाउनका कारण पोषणयुक्त खानेकुरा पाउनु त परको कुरा सामन्य जिउनको लागि राहात पनि पाइनन् । सप्तरी जिल्लाको कंचनरुप नगरपालिका वडा नंबर ११ का राखेलोस सदामाथि राहात वितरण गर्दा वडाअध्यक्षको निर्देशनमा कुटपीटबाट घाइते भए । रौतहट जिल्लाको चन्द्रपुरनगरपालिका वडा नंबर ८ का ईश्वरी विकलगायतले बसाईसराईको प्रमाण पत्र नभएका कारण उनलाई स्थानीय सरकारले राहात दिएन । पर्सा जिल्लाको एक दलित वस्तिमा गुहिएको चामल वितरण गरियो । सर्लाही जिल्लाको हरिपुरनगरपालिका वडा नंबर २ का शत्रुधन पासवान विरुद्ध अदालतमा दर्ता गरेको मुद्दा अस्वीकार भएपछि सोको रिसले स्थानीय दलित भन्दै यादव थरका व्यक्तिले कुटपीट गरे । कालीकोट सान्नीत्रिवेणी गाउँपालिका वडा नंबर ६ का वडाअध्यक्ष रंगराज सार्की र वडा नंबर २ का निर्वाचित वडा अध्यक्ष विर्षसिंह विकलाई स्थानीय, जनप्रतिनीधि तथा कर्मचारीबाट डुम भन्दै निरन्तर विभेद भएको कुरा वडाध्यक्षद्धयले स्वीकार गरे ।

राज्यले लिएको पहलकदमीलाई हेर्दा दलित आन्दोलनले कुनै घट्ना विशेषमा खुद्रा न्यायको लागि मात्र आन्दोलित हुनुभन्दा हालसम्मको दलित आन्दोलनको वस्तुनिष्ट समीक्षा गर्दै दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक समस्याहरुको संरचनागत, नीतिगत र कार्यक्रमिक हिसाबले समग्र समस्या हल हुने गरी एकीकृत दलित आन्दोलनको विकल्प छैन अन्यथा जातीय छुवाछूत र विभेदसहितको लोकतन्त्रले हामीलाई गिज्याई रहनेछ ।

काभ्रे जिल्लाको खानीखोला जलविद्युत आयोजनाको पोल गाड्ने विषयको निहुंमा त्यहाँका विनोद नेपालीको टाउकोमा फणेन्द्र तिमिल्सेनाले फलामको रडले हिर्काएर घाइते बनाए । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नंबर ५ का श्यामपरियार आफ्नो हजूरआमाको दाहसंस्कार गरी फर्कनेक्रममा हावाहुरी र पानी परेको हुनाले स्थानीय नेत्र काउछा (मगर) को घरमा ओत लागेर बसेको घट्नालाई लिएर घरभित्र पसेर छोएको भन्दै गाउँको भद्रभलादमी बुद्धिजीवि भनिएकाहरुको बैठक राखी निज श्याम परियारमाथि अमानवीय व्यवहार गर्नुको साथै उनी र उनको बुवा धनबहादुर परियारलाईसमेत कुटपीट गरी गाउँ निकाला गर्ने धम्की दिदै रु.१५०० दण्ड जरिवानासहित अनुमतिविना घरभित्र पसेको भन्ने व्यहोराको जबरजस्ती कागजपत्रमा हस्ताक्षरसमेत गराए । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाकी ३१ वर्षीया सङ्गीता राईले स्थानीय मीनबहादुर नेपाली आफूभन्दा अग्लो बाटोबाट हिडेको भन्दै ढुङ्गाले हिर्काउँदै लखेटेकी थिइन । त्यसैगरी सोही जिल्लामा नयाँ घरको ढोका छोयो भन्ने आरोपमा मरणासन्न हुने गरी कटपिट गरे । दलितसँग विवाह गरेकै कारण पाल्पाको बगनासकाली–१, चिर्तुङधाराका पूर्णमान श्रेष्ठले शुक्रबार निधन भएकी आफ्नी आमालाई दागबत्तीसमेत दिन पाएनन् । बैतडीको शिवनाथ गाउँपालिकास्थित विद्यालयमा पढ्ने विद्यार्थीहरुले अन्तरजातीय विवाह गर्दा त्यहाँका शिक्षक करन राना र उनकी श्रीमति राजु रानालाई विवाह गर्न प्रोत्साहन गरेको भन्दै उनको घरमा आगो लगाई गाउँ निकाला गरियो । भक्तपुरको चागुनारायण नगरपालिकाकी निर्वाचित वडासदस्य सर्मिला बयलकोटीले आफ्नो टोलवस्तिमा बाटो लिन खोज्दा उनीमाथि जातीय कारणले अपमान गरियो ।
दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नंबर ५ का वडाअध्यक्ष राजकुमार रोका (क्षेत्री) ले सोही वडाका डबल मिजार र भुवन मिजारलगायतका २० बढी मिजार (सार्की) परिवारहरुमाथि अमानवीय व्यवहार गर्दै पटक पटक चमार, सार्की दलितहरु भन्दै अपमान गरे । सो घट्नाका विरुद्ध प्रहरीमा उजूरी गर्दा लकडाउनका बेला यस्ता उजूरी नल्याउनुहोस भन्दै उजूरी नै दर्ता भएन । कास्की जिल्लामा यही २०७७ वैशाख २ गतेको दिन बिहान ८ बजेको समयमा छिमेकी घरनजिकैका ६०
वर्षीय खुसबहादुर गुरुङले १० वर्षीया दलित बालिकाकालाई मुख थुनेर जबर्जस्ती गर्न खोजिएको घट्नामा बालिकाका बुवालाई राखेर मिलापत्र गर्न बाध्य पार्न खोज्दा निज बालिकाका बुवा भागेर पोखरा आएर निज खुमबहादुर विरुद्ध किटानी जाहेरी दिए । दैलेखको आठवीस नगरपालिका वडा नंबर १ निवासी कोरोना संक्रमित दलितलाई सदरमुकाम ल्याउन ३८ घंटा लगाइयो । सुर्खेतको साधनस्रोत हस्पिटलमा लगौंभन्दा माथिको आदेश छैन लिन मिल्दैन भने सदरमुकामबाट अलिक टाढा जंगलकोबीचमा रहेको सरस्वती उच्च माविको आइसोलेशनमा राखियो । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नंबर ३ गौतमपुरमा दैनिक ज्याला मजदुरी गरेर बासोवास गदै आएका २५ घरपरिवार ऋषिदेब–मुसहरहरुको घर बडाध्यक्ष अरविन्द मेहताको नेतृत्वमा बाटो बिस्तार गर्ने बहानामा डोजर लगाएर भत्काइयो । रुपन्देही जिल्ला क्षेत्र नंबर १ का संजय गुप्ताले कोभिड १९ जस्तो महामारीबाट आक्रान्त दलित समुदायमाथि आरक्षणका नाममा अब के के दिने भनेर अपमानित हुने खालको शब्द प्रयोग गरी सामाजिक संजालमा लेखे । २०७७ साल जेठ ९ गते नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा आम दलित समुदायको जातीय अपमान र विभेद हुने गरी आफू मरे डुमै राजा भनेर स्ट्याटस लेखे । बाजूरा बुढीगंगा नगरपालिका १० बाह्रविसका सत्यराज जोशीले रुकुम घट्ना र लम्की घट्नाको तुलना गर्दै डुम साले भन्दै दलित पत्रकारहरुलाई गाली गरे ।
कालीकोट जिल्लाको पलाता गाउँपालिका २ मा २०७७ साल जेष्ठ १० गेतका दिन सर्पनन्द न्यौपानेलगायतले सोही वडाका शिक्षक मनलाल वि.क., देव कामी र रन्दीपे कामीलाई पार्टीले चलाएको अभियानमा सहभागी नभएको भन्दै कुटपीट गरे । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका ११ का गान्धी साहले सोहि कल्याणपुर नगरपालिका ११ की एक विवाहित महिलालाई २०७७ जेष्ठ १० गते शनिबारका दिन पटक पटक फोन गरेर आफुसंग यौन सम्बन्ध राख्न दबाब दिए । उनले इन्कार गर्दा गाली गलौज गरेर कल्याणपुर नगरपालिकाको अगाडि घिसार्नुका साथैलुगाफाटो समेत च्याति दिए । पाँचथर हिलिहाङ गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मी सुहाङले एक दलित युवालाई दलित भन्दै बैठक कक्षाबाट बाहिर निकाले । काठमाडौंको तार्केश्वर नगरपालिकाको कार्की थरका सरकारी कर्मचारी जोडीले सो घरमा डेरामा बस्दै आएकी विद्यार्थी दीपा नेपालीलाई दलित भएकै कारण आफ्नो घरको कोठा खाली गर्न सूचना टाँस गरिन । सुर्खेतको लेकवेशी नगरपालिका अन्तर्गत साटाखानीमा पानी छोएको आरोपमा दलित महिलामाथि कुटपिट गरियो । आफ्नो बुवाको मृत्युभएपछि काठमाडौबाट मेलम्ची घाटमा पुगेका प्रेम भुजेललाई अन्तरजातीय विवाह गरेकाले ब्राह्मण रमेश कुइकेलले उनी आए क्रिया नगर्ने भनेकाले बुबाको मुख हेर्न दिएनन ।

बाँके जिल्ला बैजनाथ गाउँपालिका ८ स्थित विद्यालयमा रहेको क्वारेन्टाईनभित्र जातीय विभेदका कारण कुटपीटबाट एक जना घाइते भए । कैलाली जिल्लाको गौरीगंगानगरपालिका ३ की ढुन्की कोलीलाई स्थानीय कोराइनटाइनमा बस्न दिइएन । बैतडी जिल्लाको मैलौलीनगरपालिका ६ लक्ष्मीपुरस्थित विद्यालयको क्वारेन्टाइनमा अलग राखिएका दलितहरुले खाएको भात खायो भन्दै्र कुकुरलाई पनि कोरोइन्टाइनमा राखियो । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ४ स्थित विद्यालयमा राखिएको क्वारेण्टाइनमा दलित यूवाले पकाएको मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छुु भनेपछि उनलाई अर्को क्वारेन्टाइनमा सारियो । यही क्रममा गुल्मीको इश्मा गाउँपालिका ३, को क्वारेन्टाईनमा सबैका लागि सुत्ने एकै ठाउँ भएपनि जाती कारणले भान्छा बेग्लाबेग्लै बनाइयो । अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाको सर्वदलिय निर्यण अनुसार प्रत्येक वार्डले आ आफ्नो वार्डमा क्वारेन्टाइन बनाएर भातरबाट आउनेलाई व्यवस्थापन गर्नेपर्नेमा वार्ड न ४ का अध्यक्ष सज्जन शाहीले प्रकाश विकलगायत तिन जना दलितलाई क्वारेण्टाइनमा राख्न अस्वीकार गरे । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका मोहमीका सुमन बिक राहत लिन जाँदा दलित भन्दै उनीमाथि कुटपीट गरियो । यी बाहेक राहातमा राजनीति विपदमाविभेद झल्कने खालका घट्नाहरुका विषयमा डा. मोम विश्वकर्माले करिव ३०० जनासंग गरिएको आनलाईन सर्भेक्षणमा २० प्रतिशतले आफूहरुमाथि जातीय छुवाछूत र विभेद भएको पाइएको थियो ।
उक्त सबै घट्नाहरुमा जनताबाट निर्वाचित जनप्रतिनीधि, विद्यालयका शिक्षक, राजनीतिक दलका नेता, स्वयं नेपाल प्रहरीहरु तथा समाजका प्रतिष्ठीत भनिएका व्यक्तिहरु संलग्न भएको पाइन्छ । राजनीतिक दलहरुको विश्लेषण गर्ने हो भने सबै जसो दलका व्यक्तिहरु संलग्न भएको देखिन्छ । यी घट्नाहरुले के कुरा देखाउँछ भने आज पनि राज्यसत्ता रुपान्तरण हुन बाँकी छ यो केवल परिवर्तन मात्र भएको छ । अर्कोकुरा राजनीतिक दलहरुमा पनि सत्ता परिवर्तन र रुपान्तरण भन्दापनि जसरी भएपनि निर्वाचन जित्ने प्रवृतिले घर गरेको देखिन्छ । दलित विशेष नीति तथा कार्यक्रमकासाथ अघि बढेको देखिदैन । बरु यसलाई विस्तारै हल हुने औसत मुद्दका रुपमा लिने गरेको पाइन्छ । यसबीचमा कोभिड १९, कालापानी, लिपुलेक, एमसिसि, नागरिकतालगायतका सवालहरु उठे, यी घट्नाका विरुद्ध यूवाहरु र स्वयं राजनीतिक दलहरु सडकमा उत्रिए तर दलितमाथि घटेका घट्नाहरुका विषयमा सडकमा कोही गएनन् । अर्थात उनीहरुको आन्दोलनको एजेण्डा समेत बनेन । संघ, प्रदेश र स्थानीय सरकार मात्र होइन मानवअधिकार तथा नागरिक समाजबाट कुनै पहलकदमी भएन । राज्यकातर्फबाट सबैजसो घट्नामा विद्यमान ऐन कानूनहरुका आधारमा परम्परगत प्रक्रियामा छोडियो । यी सबै घट्नाहरु र राज्यले लिएको पहलकदमीलाई हेर्दा दलित आन्दोलनले कुनै घट्ना विशेषमा खुद्रा न्यायको लागि मात्र आन्दोलित हुनुभन्दा हालसम्मको दलित आन्दोलनको वस्तुनिष्ट समीक्षा गर्दै दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक समस्याहरुको संरचनागत, नीतिगत र कार्यक्रमिक हिसाबले समग्र समस्या हल हुने गरी एकीकृत दलित आन्दोलनको विकल्प छैन अन्यथा जातीय छुवाछूत र विभेदसहितको लोकतन्त्रले हामीलाई गिज्याई रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank