दैलेखका सेते दमाईको सालिक बनाइने

अमर सुनार १४ असार २०७७, आईतवार २२:१८

दैलेख – छोराले अन्तरजातीय विवाह गरेको विषयमा ९ वर्ष अघि हत्या गरिएका दैलेखका सेते दमाईको सालिक बनाइने भएको छ । संघीय संसद प्रतिनिधिसभाका सदस्य पार्वती विशुन्केको पहलमा आगामी वर्ष सरकारले सेते दमाईको सालिक बनाउन १० लाख रुपैंयाँ विनियोजन गरेको छ ।
नौमूले गाउँपालिका–१ तोलीका सन्तबहादुर दमाईले त्यही गाउँकी राजकुमारी शाहीलाई अन्तरजातीय विवाह गरेको विषयलाई लिएर सन्तबहादुरका बुबा सेतेको हत्या भएको थियो । सेते दमाईको कान्छो छोरा सन्तबहादुरले राजकुमारीसंग २०६८ साउन २८ गते अन्तरजातीय विवाह गरेको विषयलाई लिएर माइती पक्षले खुकुरी प्रहार गरी भदौ १३ गते हत्या गरेको थियो । सन्तबहादुर र राजकुमारी घरको माथिल्लो तलामा सुतेको मौकामा चक्कू र खुकुरी सहित आक्रमण गर्न खोजेको बेला रोक्न खोज्दा सन्तका बुबा सेते दमाई र सन्तका जेठो दाजु नरबहादुर दमाई माथि आक्रमण भएको थियो । जिल्ला सदरमुकाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत पु¥याएपछि २०६८ भदौ १४ गते सेते दमाईको प्राण गएको थियो । नरबहादुरलाई कम चोट लागेको कारण उपचार पछि निको भएको थियो ।

 

पीडित परिवारलाई उतिबेलै राहत
उक्त घटनाको सम्वन्धमा व्यवस्थापिका संसदको समेत जिम्मेवारी भएको तत्कालिन संविधानसभाको महिला, बालबालिका तथा समाज कल्याण समितिको ‘जातीय विभेद अध्ययन अनुगमन उपसमिति’ले घटनास्थलगत अनुगमनपछि गरेको सिफारिसको आधारमा नेपाल सरकारले पीडित परिवारलाई १० लाख रुपैंयाँ क्षतिपूर्ति दिएको थियो ।


पीडित परिवारको न्यायका निम्ति सरकारको ध्यानाकर्षण गराउन पत्रकार अमर सुनारको अध्यक्षतामा गठित ‘सेते दमाई सहिद घोषणा संघर्ष समिति’को निरन्तर खवरदारीपछि घटनाको ६ महिनापछि संसदीय समितिले घटनास्थल अध्ययन गरेर राहतको सिफारिस गरेको थियो ।
‘जातीय विभेद अध्ययन अनुगमन उपसमिति’का संयोजक सभासद विनोद पहाडीको नेतृत्वमा घटनास्थल अध्ययन गरेको ५ सदस्यीय संसदीय समितिको सिफारिसको आधारमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको मन्त्रीपरिषद् २०६९ असार ५ गते १० लाख रुपैंयाँ राहत दिने निर्णय गरेको थियो ।  राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष संविधानसभा सदस्य विनोद पहाडीले सेते दमाईको सालिक बनाउन बजेट विनियोजन भएको जानकारी पाउँदा आफूलाई अत्यन्त खुशी लागेको बताए ।

राज्यले सेते दमाईको सालिक बनाइदिंदा उहाँको सहादतको सम्मान भएको मुक्ति समाजका केन्द्रीय सदस्य गोपाल नेपालीले खुशी प्रकट गरे । प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्केले आफू जनप्रतिनिधि भएको नाताले जिल्लाको जातीय विभेदको ठूलो घटना स्मरणीय गराउन सालिक बनाउने बजेट पारेकोमा गौरव लागेको बताइन् ।

घटनाको न्यायिक सिलसिला
हत्या घटनाका ९ जना दोषी मध्ये मुख्य योजनाकार बिन्दकला शाही समेत ३ जनालाई २०–२० वर्षको जेल सजाय भएको छ ।
जिल्ला न्यायाधीश रामकृष्ण भट्टको एकल इजलासले २०६९ जेठ ३० गते गरेको फैसलामा दैलेखको हत्यामा मुख्य योजनाकार बिन्दकला शाही, हत्या घटनामा खुकुरी प्रहार गर्ने जीवन शाही र कृष्ण खत्रीलाई २०–२० वर्ष जेल सजाय भए अनुसार उनीहरु जेल सजाय भोगिरहेका छन् ।
फैसला अनुसार हत्या भएको घटनास्थलमा प्रत्यक्ष पुगेका तर १६ ननाघेका नावालक भएकाले उनीहरुलाई १०–१० वर्ष मात्र बाल सुधारगृहमा पठाएकोमा ५० प्रतिशत कैद मिनाहा पाएर घर फर्किएका छन् । हत्या घटनाको सूचना सम्वाहक बनेका हत्या अघि पनि पटक–पटक सेते दमाईको परिवारलाई कुटपिट गरेका अरु ४ जना बालकहरुलाई जिल्ला अदालतले सफाइ दिएकोमा २०७० वैशाख २४ गते पुनरावेदन अदालतले आरोपित यी ४ बालक समेत ९ जना सबैलाई एक–एक वर्ष जातीय विभेद कसूरमा कैद गर्ने फैसला गरेको थियो ।
पुनरावेदन अदालतका तत्कालिन मुख्य न्यायाधीश दीपकराज जोशी र न्यायाधीश रत्न बागचनको इजलास जिल्ला अदालतको अघिल्लो फैसलामा जातीय विभेद कसूर समेत ठहर गरेपछि आरोपित पक्षले गरेको पुनरावेदनमा सर्वोच्च अदालतले समेत सदर गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानले २०७५ साउन १४ गते गरेको अन्तिम फैसलामा हत्या घटनाको बेला सहभागी नभएका तर त्यसअघि सेते दमाईलाई कुटपिट गरेका ४ जना बालकहरुलाई जातीय विभेद कसूरमा सफाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank