टिकारामकी श्रीमती भन्छिन्, ‘छोरीले बाबा खै भन्छे, मैले के जवाफ दिनु ?’

दलित अनलाईन असार १३, २०७७

चौरजहारी (रुकुम पश्चिम) —१० जेठमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा ज्यान गुमाउनेमध्ये एक हुन् टिकाराम सुनार । त्यसदिन नवराजकी प्रेमिका सुष्मालाई भगाउन गएकामध्ये ऊनी एक्लै चौरजहारी नगरपालिकाकै बासिन्दा हुन् । मावली घर गएका टिकाराम साथीहरुसँग आफ्नै गाउँमा साथीलाई प्रेमिका भगाएर विहे गरिदिन गएका थिए । तर, उनलाई पनि आफ्नै माटोले जोगाएन ।
सँगै खेलेको भेरीको छालले सहायता गरेन । साथीको माया र साथसँगै बगे उनी पनि । लकडाउनको फुर्सदमा मावली गाउँ जाजरकोट गएका उनी १० जेठको साँझ बेपत्ता भए । १६ जेठमा भेरी नदीको किनारमा मृत फेला परे । त्यो दिन उनको मृत्युमात्रै भएन । उनको परिवारको खुसी, आशा र भरोसा पनि गुम्यो । श्रीमती सुमित्राको सुहाग पनि भेरीमै बग्यो ।
टिकाराम आफैं २० वर्षका मात्रै थिए, सुमित्रा पनि भर्खर १९मात्रै टेक्दैछिन् । उनको कलिलैमा सिन्दुर पुछियो । सानो बालाखा छोरी टुहुरी बनिन् । आमा गीता र बुवा सोबेको काख रित्तो भयो ।
चौरजहारीको शीतल माविमा ११ कक्षामा पढ्दै सोलार पावर जडानसम्बन्धी काम गर्थे उनी । उनका बुबाआमा मजदुरी गर्छन् । सोलारकै काममा अनुभव राम्रो भएपछि सोलारसम्बन्धी कामलाई व्यवसायका रूपमा विस्तार गर्ने योजनामा उनी थिए टिकाराम ।
‘साथीको साथ लागेर गयो, पापीले मारेर भेरीमा फाले,’ उनका बुबा सोबे भन्छन्, ‘नातिनीलाई टुहुरी बनाए, बुहारीको सिन्दूर पुछियो ।’ सोबेले एक्लो सन्तान गुमेको जस्तै पीडा नातिनी र बुहारीको बिजोग देख्दा हुने गरेको बताए । चौरजहारी नगरपालिका–१, लामिछाने गाउँमा रहेको उनको घरमा सान्त्वाना दिनकैलागि धेरै मान्छे आउदैनन्, तर पुगेकाहरु आँसु रसिलो पारेर फर्किन बाध्य हुन्छन् । परिवारको आर्थिक अवस्था कमजोर छ । ‘जमिन, खेतीपाती छैन, पेसा भने पनि नभने पनि दैनिक मजदुरी हो । नगरे गुजारा चल्दैन,’ सोबे भन्छन्, ‘बास बस्ने घरसमेत अर्काको जग्गामा छ । हाम्रो त सहारा नै गुम्यो ।’ एकातिर भविष्य अन्धकार देख्छन्, अर्कातिर न्यायका लागि आफैं दौडिनुपरेको छ । हत्यारालाई जीवित हुँदासम्म कैद सजाय हुनुपर्ने उनको माग छ ।
कलिलै उमेर सिउँदो पुछिएकी सुनितालाई अझै पति आइहाल्छन् कि जस्तो लाग्छ । बाटो हेरिरहन्छिन्, आँसु झरिरहन्छ, मन झन् झन् दुखिरहन्छ । ‘किशोर अवस्थामै जीवन साथी गुमाउने म जस्तो अभागी अरू को होला र ? यो संसारमा अरू के बाँकी छ र ?,’ सुमित्रा भन्छिन्, ‘मेरा साथमा एउटा मोबाइलसमेत छैन, सासूससुराले कति दुःख गर्ने ?’ सोबे दम्पती नातिनी र बुहारी देखेपछि भक्कानिन्छन्, सुनिता छोरी र सासूससुरा देखेपछि । एकअर्काले हेरेर टोलाउनुबाहेक अर्को विकल्प हुन्न, उनीहरुसँग । ‘छोरीले सधैं बाबा खै, बाबा खै भन्छे, मैले के जवाफ दिनु ?’ सुनिताले आँसु झार्दै भनिन् ।

घरबाट मावली गएका टिकाराम छिट्टै घर फर्किने तयारीमा थिए । त्यसदिन विहान उनले छिमेकी दिदी दिपालाई भनेका थिए, ‘मेरी आमासँग भिडियो कल बनाइदेऊ न दिदी’, ‘आमा गिट्टी कुटेर आएपछि साँझ पक्का है ।’ दीपाले भनेकी थिइन् । भिडियोमा कुरा गर्न खाजेको खबर सुनेकी आमाले भिडियो कलमा मात्रै हैन, अब कहिल्यै नभेट्ने गरी टाढिएका छन् टिकाराम । तर, उनले फेरि फेसबुकमा म्यासेज गरेनन्, बरु कहिल्यै नगर्ने गरी गए ।
भिडियोमा आमासँग कुरा गर्ने उनको योजना अधुरो भयो । टिकारामकी दुई वर्षीय छोरी र श्रीमती भावविव्हल बनेका छन् । बुवा शोभे नेपाली भन्छन्, ‘हाम्रो जिन्दगी भनेको त्यही एउटा छोरो थियो । अब के नै बाँकी रह्यो र ?’ छोराको किरियाकर्ममा सकेर बसेका उनले भावविह्वल हुँदै भने, ‘मेरो किरिया त्यही छोराले गर्ने आशा थियो । तर मैले नै छोराको किरिया गर्नुपर्यो । मजस्तो अभागी बुवा को होला ?’
टीकारामका बुवा त्यही सन्तानको लागि ६ वर्ष मलेसियामा रगत र पसिना बगाएर गएको कात्तिकको भाइटीकाको भोलिपल्ट घर फर्किएका थिए । टीकारामकी एकमात्र बहिनी छिन् । जो दाइको शव भेरीमा भेटिएको खबर सुनेदेखि बेहोसीमै बर्बराइरहेकी छिन् । दाइसँगको अन्तिम कुराकानीको शब्दले उनलाई पोलिरहेको छ । तीन वर्षअघि एसईई सकेका टिकारामले आर्थिक अवस्था कमजोर भएकै कारण त्यो भन्दा माथि पढ्न सकेनन् ।
सोवे भन्छन्, ‘यसरी कुटी कुटी मारेर फ्याँक्नेलाई सरकारले के कारवाही गर्छ ? के ग¥यो भने हामीले चित्त बुझाउने ? जे गरेपनि हाम्रो छोरा त अब आउदैन नै ।’ उनी थप्छन्, ‘यिनीहरुलाई त जे गरेपनि हाम्रो मन बुझ्दैन ।’ समाजमा दलित भएर बाँच्नुको पीडा सोबेले सानैदेखि लुकाएका छन् । गाउँमा सानो जात भनेर सबैले हेप्छन् । साना सेवा सुविधामा मात्रै हैन, मजदुरी गर्ने कुरामा पनि विभेद सहनुपरेको छ उनले । ‘पसिना बगाएर खाने ठाउँमा पनि उपल्लो भनौदाले हेप्छन्, बाध्य भएर सहनुपर्छ,’ उनी भन्छन् ।
१० जेठ शनिबारको दिउँसो चौरजहारी नगरपालिका–४ की प्रेमिका सुष्मा मल्ललाई भगाएर विहे गर्न गएका नवराज विक र उनका पाँच जना साथीहरु ठुली भेरीको छालसँगै बगे । उनीहरुसँगै उनीहरुको सपना र परिवारको खुसी पनि बग्यो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, गैरीज्यूलामा गाउँलेको आक्रमणमा वेपत्ता भएकाहरुको शव भेरीमा भेटिएको थियो ।
घटनामा परी टिकारामसहित जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षे नवराज विक, २२ वर्षे सन्जु विक, १९ वर्षे गणेश बुढामगर, भेरी नगरपालिका–११ मटेलाका १८ वर्षे लोकेन्द्र सुनार र १७ वर्षे गोविन्द शाहीको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank