जाजरकोट —(रानागाउँ) विहान ७ बजे काममा जाने, ११ बजे कोठा आएर खाना खाने र दिउँसो २ बजे फेरि काममै जाने । मिस्त्री काम गर्ने जाजरकोटको भेरी नगरपालिका वडा नं. ४, खलंगा, रानागाउँका राधिका र उनका श्रीमान् पदमबहादुर बुढामगरको दैनिकी हो । छोरालाई पढाउदै एघार वर्षदेखि खलंगा बसेका मगर दम्पत्तीलाई आशा थियो, ‘उमेर हुन्जेल आफुले छोराका लागि मजदुरी गर्ने, र पढाउने । त्यसपछि छोराले केही गर्छ ।’ तर, दश वर्षदेखिको उनीहरुको तपस्या भेरीमा बगेको छ ।
साथी नवराज विककी प्रेमिकालाई भगाएर ल्याउन साथी गएका गणेश बुढामगर घर फर्किएनन् । भेरी तरेर पश्चिम रुकुमको सोतीगाउँ पुगेका उनीहरुलाई गाउँलेले आक्रमण गरे । १० जेठको साँझ गाउँलेको आक्रमणमा परेका उनीहरुमध्ये ६ जनाको मृत्यु भयो । साथी गएका १२ जना घाइते छन् । १९ वर्षीय गणेशको शव १२ जेठको बेलुका ४ बजे भेरी नदी किनार फेरामा भेटियो । उनको मृत्युपछि बुवाआमाको कामको लय र दैनिकीपनि भत्किएको छ । उनीमाथि सजाइएका सपना र आशाहरु पनि लथालिङ्ग भएका छन् । एउटा प्यारो काख कलिलैमा खोसिएको छ ।
नवराजका सबैभन्दा मिल्ने र नजिकका साथी थिए गणेश । नवराजसँगै हिड्थे । खान्थे, खेल्थे । उनलाई नवराजको प्रेम सम्बन्धका बारेमा पनि थाहा थियो । खेल खेल्न र मेला पर्वमा नवराजसँगै हिड्ने र खेल्ने उनी कक्षा–१० मा पढ्थे । मगर दम्पत्तीका कान्छा छोरा हुन् उनी । रानागाउँमा दुई वटा कोठा छन् उनीहरुका । विहान आमा राधिकाले खाना बनाउँथिन् । बेलुका उनी बनाउँथे ।
आमाबुवा नै मिस्त्री काम गर्ने भएकाले अधिक समय उनले नवराज र साथीहरुसँगै बिताउथे । भाडा महिनाको १५ सय रुपैयाँ तिर्नुपर्छ । त्यसदिन पनि राधिका विहानै खाना बनाएर काममा हिडेकी थिइन् । गणेशका बुवा पदमबहादुर पनि दिउँसो खोलातिर नुहाउन गए । लकडाउन भएपछि सधैं त्यतै वरपर हुने गणेश त्यो दिन दिनभर घरमा थिएनन् । बेलुकी ४ बजे आमा राधिकाले खसीको मासु लगेर खाना बनाउन भनेर फोन गरेकी थिइन् ।]
उनी भन्छिन्, ‘मैले फोन गर्दा साथीसँग खेल्न गएको छु, बेलुका खाना आफैं बनाउनु, म ढिला हुन्छ भन्थ्यो, मेरो भर नपर्नु भनेको थियोे, त्यसपछि फेरि कुरै भएनँ । ऊ सधैंलाई हामीबाट टाढा भयो ।’ १० जेठमा उनी भेरीमा बगे । १२ गते उनको शव भेटियो । आमा राधिकाका अनुसार गणेशको अनुहारमा चोटै चोट थियो । अनुहार हेरेर आफ्नै छोरो हो भनेर चिन्न पनि नसकिने अवस्था थियो उनको लासको । तर, २३ जेठमा दलित अनलाइन उनको घरमा पुग्दासम्म पनि राधिकाका आँसु थामिएका छैनन् ।
कोठाअगाडि सिँढीमा बसेकी राधिकाले रुँदै–रुदै सुनाइन् आफ्ना कथा । गरिबी र संघर्षको छहारीभित्र जेलिएको कथा । कमाई खाने जमीन छैन उनीहरुको, न घर छ, न अरु सम्पत्ति । सम्पत्तिका नाममा त्यही एउटा छोरो मात्रै थियो । छोरालाई पढाएर जागिर खुवाउने सपना थियो उनीहरुको । गणेशपनि पढेपछि प्रहरी वा आर्मीमा जागिर खान चाहन्थे ।
छोरालाई पढाउनकैलागि खलंगा बसेर दश वर्षदेखि जीवन जिउन संघर्ष गरेकी राधिका भन्छिन्, ‘छोराले पढेर सानो तिनो जागिर खाला, बुढेसकालको सहारा बन्ला भन्ने आशा थियो, आशाको जरै उखेलियो ।’ साथीको लहै लहैमा लागेर हिड्दा छोराले ज्यान गुमाएको उनको भनाइ छ । भन्छिन्, ‘मेरो छोराको केही दोष थिएन, उनीहरुले कुटी कुटी मारे, दोषीलाई मिल्ने मृत्यदण्ड दिइयोस् ।’
राधिकालाई नेपालमा मृत्युदण्ड दिने कानुनी व्यवस्था छैन भन्ने पनि थाहा छ । र, आफ्ना छोरालाई मार्नेहरुलाई सरकारले आजीवन काराबास भनेर दुई चार वर्षमै उन्मुक्ति दिन्छ भन्ने आशंका पनि । तर, उनलाई यतिवेला सरकारी यो कानुनी व्यवस्था चित्त बुझेको छैन । ‘दोषीहरुलाई आजीवन कैद भएपनि आफन्तले भेट्न पाउँछन्, परिवारले खुवाउन पाउँछन्, दुःखसुख बाँड्न पाउँछन् । तर हामीले त अब बाबुलाई कहाँ गएर भेट्ने ? कुन दुनियाँमा गएर भेटौं ?,’ उनले भनिन् । ठुलाबडा र पहुँच भएकाहरुले हत्याराहरुलाई उन्मुक्ति दिने प्रयास गरिरहेका सुन्दा उनलाई पटक्कै राम्रो लागेको छैन । भन्छिन्, ‘हाम्रो त ठूलो मान्छे कोही छैन, जति सक्नुहुन्छ, निर्दोष नफसुन्, दोषीलाई कडाभन्दा कडा कारवाही होस् ।’
छोरो मरेपछि मगर दम्पत्तीले डेरामा बसेर काजकिरिया पनि गर्न पाएनन् । मािथ डाँडामा रहेको खानेपानीको भवनमा बसेर किरिया गरे । काजकिरिया सकेपछि उनीहरु छोराकै कोठामा बस्छन् । छोरो मरेपछि उनीहरुले कामको लय समात्न सकेका छैनन् । बुढाबुढीले नै मजदुरी गर्न नपाएपछि घरमा दुई छाक टार्ने प्रबन्ध गर्न पनि मुस्किल परेको छ ।
राधिका भन्छिन्, ‘एउटा आशा बाँकी थियो, त्यो आफैं नरहेपछि अब कसकालागि दुःख गर्ने ?’ घर अगाडि सिढीमा बसेर टोलाइरहेकी उनले आफुले जातपातका कुरा नमानेको वर्षौ भएको बताइन् । ‘हामी त मजदुरी गरेर खाने मान्छे, खान पाए खान्छौं, भएको बाँडेर खान्छौं, हामीलाई त्यस्तो लाग्दैन,’ उनले भनिन् । छोराले लहै लहैमा लागेर साथीकालागि ज्यान गुमाएकोमा मगर दम्पत्तीलाई पछुतो छ । गाउँलेले कुटीकुटी विभत्स हत्या गरेकाले उनीहरु आक्रोसित पनि छन् समाज र यहाँको व्यवस्थाप्रति । दलितले छोरी लैजाला भनेर मान्छे मार्नुलाई राधिकाले उच्च भनौदाहरुको मुर्खता भनिन् ।
१० जेठ शनिबारको दिउँसो चौरजहारी नगरपालिका–४ की प्रेमिका सुष्मा मल्ललाई भगाएर विहे गर्न गएका नवराज विक र उनका पाँच जना साथीहरु ठुली भेरीको छालसँगै बगे । उनीहरुसँगै उनीहरुको सपना र परिवारको खुसी पनि बग्यो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, गैरीज्यूलामा गाउँलेको आक्रमणमा वेपत्ता भएकाहरुको शव भेरीमा भेटिएको थियो ।
घटनामा परी गणेशसहित जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षे नवराज विक, २२ वर्षे सन्जु विक, भेरी नगरपालिका–११ मटेलाका १८ वर्षे लोकेन्द्र सुनार र १७ वर्षे गोविन्द शाही तथा चौरजहारी नगरपालिका–१ का २० वर्षे टिकाराम सुनारको ज्यान गएको छ ।
Leave a Reply