विशाल जनसभाबाट दलित नेताहरुले भने, ‘शंम्भु सदाको हत्या नै हो’

दलित अनलाईन ३० जेष्ठ २०७७, शुक्रबार २३:१४

धनुषा— प्रहरी हिरासतभित्रै थुनामा बसेका शम्ंभु सदाको प्रहरीको कुटाईपछि हत्या गरिएको भन्दै जिल्लाभरीका दलित समुदायहरुले विशाल जनसभा गरेका छन् ।
शुक्रबार जिल्लाभरीबाट हिरासतभित्रै प्रहरी कुटाईबाट हत्या भएको भन्दै विशाल जनसभा गरेको हो ।
जिल्लाभरिको दलितहरु १० बजे देखि नै सबैलाई उपस्थित हुन थालिसकेको थियो । पुर्व निर्धारित कार्यक्रम भएकोले धनुषाको सम्पुर्ण सुरक्षा निकायको बाक्लो उपस्थित रहेको थियो ।
सुरुमा रोक्ने प्रयास गरेपनि दलितको जनसागर देखेर सुरक्षाकर्मी पछाडि हट्न वाध्य भएको थियो । नगर परिक्रमा गरेर कार्यक्रम सबैला बजारको सार्वजनिक मन्चमा दलित अधिकारकर्मीहरुको अगुवाईमा हजारौ दलित उत्पीडितहरुको उपस्थितिमा चार घण्टा कार्यक्रम चलेको थियो । प्रहरी प्रशासन तथा केही राजनीतिक समूहको मिलोमतोमा शम्भु सदाको हत्या गरेर आत्महत्या भनेको भन्दै घटनालाई सामसुम पार्न खोजेको आरोप लगाइएको छन् । उनीहरुले प्रहरीबाटै शम्भु सदाको हत्या नै भएको भन्दै तीन दिनदेखि ठूलो संख्यामा उपस्थिति भएर आन्दोलन गर्दै आइरहेका छन् ।

‘अन्याय अत्याचार विरुद्ध प्रतिकार, शम्भु सादाको हत्यारालाई फासि’ नाराका साथ शुरु भएको ‘विरोध सभा’लाई सम्बोधन गर्दै राष्ट्रिय मुसहर संघका केन्द्रिय अध्यक्ष चन्देश्वर सदाले रक्षकले नै भक्षक भएपछि जनताको विश्वास गुमेको बताउँदै दलित युवालाई षड्यन्त्र पूर्वक हत्या गर्नेमाथि कारवाही नभएमा विभिन्न चरणको आन्दोलन गर्ने उद्यघोष गरे ।

प्रहरीद्वारा हत्या आशंकामा घटनाको निष्पक्ष छानविन गरी दोषीमाथी कारबाही,पिडित परिवारलाई उचित क्षतिपुर्ति र आन्दोलनको क्रममा घाईते भएकाहरुको उपचारको माग गर्दै सबैला नगरमा विशाल विरोध प्रदर्शन गरिएको बहुजन एकता समाज नेपालका केन्द्रीय संयोजक चन्देश्वर दासले बताएका छन । संयोजक दासका अनुसार दलितहरुको शृंखलाबद्ध सुनियोजित हत्याको विरुद्ध ३२ डिग्रि गर्मिमा पनि मधेशी दलित समुदायले धनुषा प्रहरी,नेपाल सरकारका गृहमन्त्री र स्थानीय दलाल नेतालाई चुनौती दिदैं प्रदर्शन गरिएको हो ।

टेक्टर दुर्घटनाका कारण उत्पन्न विवादले जेठ १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका शम्भु सदा मुसहर २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए । प्रहरी निरिक्षक चन्द्रभुषण यादब र टेक्टर मालिक संजय साह तेलीको मिलेमतोमा हत्या गरिएको पिडित परिवारको आरोप छ ।
मृतककी आमालाई ईलाका प्रहरी कार्यालयमा गुपचुप लगेर जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लगाउनु आदिले यो आत्महत्या नभई षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आन्दोलनकारीहरुको भनाई छ ।

नेपाल राष्ट्रिय मुसहर संघले पनि बिहिबार दोषीमाथि कारवाहीको माग गर्दै धनुषामा प्रदर्शन गरेको थियो । प्रहरी दमन मुर्दावाद, दलितमाथिको हत्याहिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकीनै असुरक्षित,हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सयौंको संख्यामा रहेका युवाहरुले मोटरसाइकल यालीसहितको प्रदर्शन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत,मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा,जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय, राष्टिय मानव अधिकार आयोगको कार्यालयमा दोषीमाथी कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

जनसभामा मृतक शम्भु सदालाई श्रद्धाञ्जली दिदैं विभिन्न जिल्लाबाट आएका दलित अगुवाहरुले आ—आफ्नो आक्रोश पोखेका थिए । सिरहाबाट रामस्वरूप सदा, धर्मवीर पासवान, सप्तरीबाट शलिता सदा, बद्रि सदा , सर्लाहीका पच्चु माझि मुसहर, महोतरीबाट शिवा सदा तथा धनुषा जिल्लाबाट स्थानीय अगुवाहरु दिप नारायण दास, शत्रुघ्न महरा, सुरतलाल विश्वकर्मा, जोगेंद्र महरा, तिलक परियार, प्रमिला सदा, कृष्ण कुमारी तामांग, सोति पासमान जिल्लाबाट नेतृत्व गरेका थिए ।


जनसभामा बोल्दै वक्ताहरुले शम्भु सदाको न्यायको लागि शृंखलाबद्ध आन्दोलन जारी रहने घोषणा गरे । देशैभरि दलित समुदायमाथि योजनाबद्ध ढंगबाट शृंखलाबद्ध घटनाहरु घटेको भन्दै रुकुमको जातीय नरसंहार, रुपन्देहीको अगिंरा पासी, रुपन्देहीकै सामुहिक हत्याको पनि प्रकरणमा समेत कडा टिप्पणी दिएका थिए । अब दलितहरुले पृथक शक्तिको निर्माण गरी निरन्तर संघर्षको विकल्प नरहेको सामुहिक घोषणा समेत गरे । आन्दोलनरत पक्षले भोली नै प्रहरी निरिक्षक चन्द्रभुषण यादव विरुद्ध जाहेरी दरखास्त दिने बताएका छन् ।
जनसभा कार्यक्रममा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले आन्दोलनको लागि तथा पिडित परिवारको लागि आर्थिक सहयोग पनि गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank