प्रेसविरुद्ध दिएका अभिव्यक्ति सच्याउन सरकारसँग देउवाको माग

दलित अनलाईन २१ बैशाख २०७७, आईतवार १५:०९

काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेसविरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन सरकारसँग आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै देउवाले सरकार र सरकारको नेतृत्वले निरन्तर प्रेसविरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन अपील गरेका हुन् ।

‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको रहेको उनको भनाइ छ । प्रश्न र आलोचना मिडियाको संवैधानिक हक रहेको उल्लेख गर्दै देउवाले मिडियाका प्रश्नप्रति नकारात्मक दृष्टिकोण राख्न आवश्यक नरहेको स्पष्ट पारेका छन् ।  ‘प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसविरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ?, उनले प्रश्न गरे ।

कोभिड-१९ को विश्व महामारीले एकातर्फ पत्रकारको व्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको व्यवहारिक व्यवस्थापनमा चुनौती ल्याएको उल्लेख गर्दै कांग्रेस सभापति देउवाले समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न माग गरेका छन् ।

महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको देउवाको भनाइ छ । ‘यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएका छन् । संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छदैथिए, लक डाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ,’ उनले भने, ‘लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंगमाथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने हर्कत अस्वीकार गर्दै नेपाली कांग्रेस सदैव त्यसविरुद्ध प्रखर रुपले उभिने छ।’

नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउँदै आजको नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा पार्टीको ऐक्यवद्धता रहेको उनले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank