मुस्लिम आयोगको अपिलः रमजानमा नमाज घरमै पढिदिनुस्, नत्र अमेरिकाकै हालत हुनेछ

दलित अनलाईन १२ बैशाख २०७७, शुक्रबार २१:४५

काठमाडाैं- मुस्लिम समुदायको महान् पर्व रमजान शनिबार सुरु हुँदै छ। तर यसपटक नमाज मस्जिदमा होइन, आफ्नै घरभित्र पढिदिन देशका सम्पूर्ण मुस्लिमलाई मुस्लिय आयोगले विशेष आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणसम्बन्धी अपडेटका लागि दैनिक आयोजना गर्ने पत्रकार सम्मेलनअन्तर्गत शुक्रबार दिउँसो मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यसपटक कोरोना महामारी फैलिने जाेखिम भएकाले त्यसबाट बच्न मस्जिदमा गएर सामूहिक रूपमा नमाज नपढ्न मुस्लिम समुदायलाई विशेष आग्रह गरेका हुन्।

‘जमाती समूहमा जुन ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ, त्यसले हामीलाई गम्भीर बनाएको छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष अन्सारीले भने, ‘त्यसैले यस्तो बेला हामी देशभरका मुस्लिम समुदायलाई यसपटककोर रमजानमा नमाज आफ्नै घरभित्र पढिदिनुहोला भन्ने विशेष आग्रह गर्छाैं।’

हेलचक्र्याइँ गरेकै कारण इटली, अमेरिकालगायतका देशमा कोरोना महामारीले भयावह रूप लिएको उल्लेख गर्दै मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भने, ‘हामीले पनि हेलचक्र्याइँ गर्‍याै‌ भने इटली र अमेरिकाकै हालत हुनेछ।’

यसैकारण यसपटक रमजानमा नमाज पढ्दा आफ्नै घरमा पढ्न र मस्जिद मात्र होइन, एक घरबाट अर्काे घरमा पनि नजान उनले मुस्लिम समुदायलाई आग्रह गरेका छन्।

कोरोना महामारीले कुनै जात, धर्म नभन्ने उल्लेख गर्दै अध्यक्ष अन्सारीले सबै समुदाय यसमा सजग र सतर्क बनी सिंगो देश र देशवासीलाई बचाउन सरकाले लागू गरेको लकडाउन पूर्ण रूपमा पालना गरी घरभित्रै बसिदिन  सम्बन्धित सबैमा अपिल गरेका छन्।

‘मस्जिदमा त जानै भएन, एक घरबाट अर्काे घर अर्थात् छरछिमेकमा पनि नजानु होला,’ उनले भने, ‘यदि गयौं भने कोही कोरोना संक्रमित रहेछ भने छरछिमेक, गाउँ हुँदै सिंगो देशमा संक्रमण फैलिन सक्छ। त्यही भएर हामी विशेष आग्रह गर्छाैं, यसपालि आफ्नै घरभित्र नमाज पढिदिनुहोला।’

उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका एकै समूहका २८ जनामा कोरोना संक्रमण भएको उदाहरण दिँदै मुस्लिम आयोगका अध्यक्ष अन्सारीले यसलाई गम्भीर रूपमा लिँदै सरकारले लागू गरेको लकडाउन पूर्ण पालना गरी कोरोना महामारी रोकथामको नागरिक दायित्व निर्वाह गर्न मुस्लिम समुदायलाई आग्रह गरेका छन्।

मुस्लिम हिजो हरेक संकटमा इमान्दारीपूर्वक देशलाई साथ दिने समुदाय भएको उल्लेख गर्दै अहिले यो महामारी नियन्त्रणमा पनि लकडाउनको पूर्ण पालना गरी एकपटक फेरि देशप्रति योगदान गर्न अध्यक्ष अन्सारीले मुस्लिम समुदायलाई आग्रह गरे।

‘यसैकारण सम्पूर्ण मुस्लिम समुदायलाई म विशेष आग्रह गर्न चाहन्छु– यसपटक मस्जिदमा, मदरसामा भिडभाड नगरिदिनुहोला,’ उनले भने, ‘जमातीका साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु कि कोही मस्जिदमा छुटेका छन् भने नजिकैका स्वास्थ्यकर्मी अथवा स्थानीय प्रशासनसँग समन्वय गरी चेकजाँच गर्नुहोला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank