दोलखामा वडाध्यक्षकै संलग्नतामा कुटिए दलितहरु

दलित अनलाईन चैत्र ३०, २०७६

दोलखा– दलित वस्तीमा प्रवेश गरी अपशब्द बोल्दै तामाकोशी गाउँपालिका–५ का वडा अध्यक्ष सहितको टोलीले गाउँका दलित युवा ,महिलाहरुलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
मादक पदार्थ सेवन गरी वडाध्यक्ष राजकुमार रोक्का, मदन खड्का, भुमिराज रोक्का, कपिल फुयाँल र ईश्वर रोक्कासहितको ३०–४० जनाको समुह दलित वस्तीमा पसी महिलामाथि तथानाम गाली बेइज्जती गर्दै दलितको पसल अगाडी पिसाब फेरी कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएको दुई महिला र दुई पुरुषलाई दोलखाका अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । टाउकोमा चोट लागि सख्त घाईते भएका भुवन मिजार र कमल मिजारको चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको घाइतेका आफन्त डबल मिजारले बताएका छन् । शरिरभरि निल डाम भएका दुई जना दलित महिला सिता र गिता मिजारको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको मिजारले जानकारी दिए ।
जनप्रतिनिधि भएर सार्वजनिक स्थलमा पटक–पटक दलितको बुद्धि हुदैन भन्दै अपशब्द बोल्ने रोक्कालाई योभन्दा पहिला पनि स्थानिय प्रशासनमा दलित समुदायले उजुरी गरेका थिए । गाँजा, रक्सी सेवन गरी बोल्दै हिँड्ने अध्यक्षलाई एक पटक सचेत दलित युवाहरुले माफी दिएको परिणाम यस पटक मरणासन्न हुने गरी कुटाई खानु परेको तितो यर्थाथ सुनाउँदै तामाकोशी गाउँपालिका ५ अर्खोलेका मिजारले भने ‘हामीले दलित भएर बाँच्न नपाउने ?’
घाइते दुईको अवस्था चिन्ताजनक रहेको चरिकोटस्थित सामुदायिक अस्पतालले जनाएको छ । प्रहरीले कुटपिट गर्नेलाई हालसम्म नसमातेकोमा पीडितहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
घटना बारे सम्बन्धित निकाय जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रेवती रमन पोखरेलसँग कुरा गर्दा प्रहरीले घटना दर्ता गरी अनुसन्धानमा लागि परेको भनेता पनि घटना दर्ता नभएको र प्रहरीले झुट बोली दोषीलाई बचाउने खेल खेली रहेकोले सबै दलित अधिकारकर्मी सचेत भई पीडितलाई न्याय दिलाउनमा सहयोग गर्न दलित एकता संजाल नेपाल केन्द्रिय सचिव सुनिल मिजारले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank