बुटवल –प्यारी बहिनी पुर्णिमा, हिजो मैले बाटोमा तिम्रो त्यो विचल्ली देख्दा मेरो मनमा साह्रै करुणा जाग्यो । म कोठाबाट खान खाएर तिमीहरु जस्तै विपन्न र गरि खाने वर्गको आवाज उठाउने थलो तर्फ आउँदै थिएँ । तिमीलाई सुत्केरी हुने व्यथा लागेको रहेछ ।
साथमा तिम्री सासु कमला परियार र अरु दिदी वहिनीहरुले पनि तिमीलाई ठाउँ ठाउँमा साहारा दिदै आई रहेका थिए । उनीहरु चार पाँच जना दिदी वहिनीहरुले पनि कोठामा छाक अड्केको दुखेसो सुनाउँदै थिए ।
अस्ती चैते दशैंका दिन मैले तिमीहरु जस्तै दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई दशैं खर्च जुटाउने अभियान सामाजिक सञ्जालमा उठाएको थिएँ र ३८ परिवारले थोरै भए पनि राहत पाएका थिए ।
तर तिमी तम्घासको साहुटोलमा बस्ने रहेछौं । तिमीहरुको बारेमा मलाई थाहा थिएन र छुट्यौं । पहिलो प्राथमिकतामा पर्ने तिमीहरुको परिवार हुँदाहुँदै पनि छुट्न पुगेकोमा सर्वप्रथम म क्षमा चाहन्छु । बहिनी, पहिलो सन्तानको आमा बन्ने तिमीमा कति खुशी होला र पनि आर्थिक अभावका कारण मलिनो मुहार लगाई रहेकी थियौं ।
आँखा रसाए जस्तो पनि देख्थे । सायद सुत्केरी व्यथाले च्यापेर पनि होला । तिम्री सासु भन्दै हुनुहुन्थ्यो हाम्रो घर प्युठान हो । गाउँमा खेती योग्य जमिन थिएन त्यसैले स–परिवार वर्षौ अघि देखि तम्घास आएर मजदुर गर्न थालेका हौं । काम बन्द भएको दश एघार दिन भयो ।
मेरो श्रीमान र छोरा कोठामै पल्टेका छन् । यहि महिना हो बुहारी सुत्केरी हुने । एक्कासी अहिले विहान व्यथा लाग्यो र अस्पताल हिँडालेर ल्याएकी हुँ । अस्पतालले अहिले जानुस् पछि आउनुस भनेर फर्काई दिए पछि कोठामा जान थालेका हौं । चर्को घाम थियो । तिमी असिना पसिना हुँदै मुश्किलले पाईला सार्दै थियौं । कोठाबाट आउँदै गर्दा मेरा साथमा जम्मा ५० रुपैयाँ मात्रै थियो । यसर्थ दुई चार सय दिउँ भन्ने मनमा हुँदाहुँदै पनि त्यति थोरै पैसा दिन सकिन । वहिनी म पनि तिमीहरु जस्तै विपन्न परिवारमा जन्मेको मान्छे हुँ ।
त्यस माथी सानैमा घर छाडेर काठमाण्डौ जाँदा मैले सडक छापहरुको भोगाई पनि भोगेको छु । यसर्थ मेरो हिजोको भोगाईको महशुस अहिले पनि गर्छु र यो वर्ग प्रति सधै वफादार भएर वकालत गर्न मन लाग्छ । साँच्ची बहिनी, म पत्रकार बन्न चाहेको पनि यहि समुदाय र अन्य गरि खाने वर्गहरु माथि चर्को दमन शोषण र उपेक्षा विरुद्ध आवाज बुलन्द गरौं भन्नका लागि हो ।
तर पनि के गछ्र्र्यो बहिनी ? हामीलाई थोरै अगाडी बढ्न खोज्यौं कि पछाडी धकेल्न खोज्ने तप्का अझै सक्रिय छ । म केहि दिन अघि देखि तिमीहरु जस्ता मजदुर वर्गका मानिसहरुको उद्धार गर्न खोज्दा म जस्तै पेशाका एक व्यक्तिले यो बेलामा के को उद्धार ? खुरुक्क लागेर आ–आफ्ना घर बस्ने आफु सुरक्षित हुने अरुको के मतलव भन्दै मेरो अभियानका उपाहस गरे ।
हुन त हो बहिनी बाहिर निस्कनु हुँदैन तर सबै घर भित्र बस्ने हो भने उपचार गर्ने स्वास्थ्यकर्मीले के गर्ने ? सुरक्षाकर्मी पनि मानिस नै हुन् । उनीहरु पनि सुरक्षार्थ र जनचेतना छर्दै हिँडेकै छन् । सञ्चारकर्मीहरु लाइभ दिदै सडकमा हिँडैकै छन् । अनि मैले कसरी जति बेला पनि घरमै बसीरहन सक्छु ?
साँच्ची बहिनी, म पत्रकार बन्न चाहेको पनि यहि समुदाय र अन्य गरि खाने वर्गहरु माथि चर्को दमन शोषण र उपेक्षा विरुद्ध आवाज बुलन्द गरौं भन्नका लागि हो ।तर पनि के गछ्र्र्यो बहिनी ? हामीलाई थोरै अगाडी बढ्न खोज्यौं कि पछाडी धकेल्न खोज्ने तप्का अझै सक्रिय छ ।
बहिनी, म जस्ता कतिपको त घरमा टन्न पैसा छ र पो घर बस्ने खाने , आखिर हामी त छट्पटाउनु पर्ने न हो । फेरी चुनावताका गरिव मजदुरहरुका सामु सबै भदा बढि गोहीका आँशु बगाउने , दाल चामल मासु रक्सी र पैसा बाड्ने त्यस्तै त्यस्तैले हो बहिनी ।
तर थुप्रै मनकारी पनि छन यो समाजमा । मेरो एउटै न्युजले धेरै जनाको फोन आयो । तम्घासको हुलाकरोडमा योरच्वाईस मोवाईल सेन्टरका मालिक एवं सामाजिक अभियन्ता जनक पन्थले उति बैले फोन गरेर त्यस्ता छाकै अड्केका मजदुर कति छन म सवैलाई चैते दशै मनाई दिन्छु भनेर फोन गरे ।
नभन्दै चैते दशैको विहानै देखि हामीले अभियान छेड्यौं । त्यस अभियानलाई साथ दिदै तम्घासमा बस्ने मुसिकोट उपल्लो फाँटका श्रीराम महतले तत्काल १० हजार बराबरको राशन दिन्छु दाई भनेर फोन गरे ।
उता भाडगाउँ घर भई तम्घास मै एभरग्रिन होटल सञ्चालक निजर मरासीनीले दाई तपाईको न्युजले मन छोयो , कहाँ हुनुहुन्छ म आवश्यक खाद्यवस्तु लिएर आउँछु भने ।
नभन्दै दुई बोरा राम्रो खालको चामल बोकेर आए । अन्ततः ३८ मजदुर परिवारको चैते दशै मनाउन सफल भएका हौं । वहिनी, हामीले छेडेको त्यस अभियानमा प्रदेश सांसद गीता थापाले १० हजार बराबरको राशन घोषणा गरिन् । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले साढे ७ हजार बराबरको राशन घोषणा गरे ।
त्यस्तै शान्तिपुरको हरेवा घर भई हाल बेलायतमा बस्ने गुल्मी जिल्ला युके समाजका संस्थापक अध्यक्ष हाल सल्लाहकार ओमप्रसाद थापा काउछाले १० हजार बराबरको घोषणा गरेका थिए । चैते दशै खर्चका लागि मात्रै मैले गुल्मीका सिडियो साव भरतकुमार शर्मा संग अनुमति लिएको थिएँ ।
त्यस यता उठेको त्यो श्रोत हामी चार जनाको टिमले बाँड्न मिल्दैन । सिडियो सावले रेसुङ्खा नगरपालिका ंसंग समन्वय गर्नु होला भनेकोले हामी सम्पर्क राखेर मिल्ने भए उहाँहरुको रोहवरमा बाँकी रहेका खाद्य सामग्री छुटेका तपाईहरु जस्तालाई वितरण गर्नेछौं ।
वहिनी , हेर्नुस् त हाम्रो मुलुक र यहाँका कतिपय जिम्मेवार मानिसहरुको रवैया ? यहाँ मात्रै नभनौ केन्द्रका नेताहरुको रवैया अझौ भनौ मानसिकता निहित स्वार्थमा केद्रित छ । गरिवी र अभावको भोगाई उनीहरुले पनि गरेरै गएका हुन् तर विर्सिए । तर वहिनी अघि पछि विर्सीए पनि चुनाव ताका भने विर्सिदैनन् यहि छ उनीहरुको गुन् ।
चुनावताका मध्य रातमा हाम्रा दलित बस्तीहरुमा दाल चामल , मासु र रक्सी बाँड्नेहरुको कति हुल हुन्थ्यो बहिनी ? हाम्रा बाहरु मासु र रक्सी पाए पछि जम्लेहात गर्दै जयहोस् प्रभु , हजुरको जो निगाह भन्थे । यो विपद्मा भने जम्ले हात होईन पाउ छुनै गए पनि एक गेडो चामल पाउन सकेका छैनन् ।
बल्ल खाउ हाम्रा बाहरु. । अहिले तिम्रो भोको पेटलाई विधि र पद्धति चाहिएको छ । नेता बनाउन त गरिवी र अभाव भोगेकै समुदायबाटै बनाउनु पर्दो रहेछ भन्ने लाग्यो वहिनी यति बेला । किनकि कुनै समय ओढारमा बसेको , तम्घासबाट मट्टितेल , नुन चामल बोकेर गुजरा चलाएको पन्ध्र सोह्र वर्षको उमेर सम्म खुट्टामा चप्पल नलगाएको ढोरपाटन नगरपालिकाका मेयर देवकुुमार नेपालीले हेर्नु त ? व्यक्तिगत खर्चमै त्यहाँका सयौं विपन्न परिवारलाई पर्याप्त राशन बाँडे ।
हरदम मजदुरहरुकै पक्षमा उनको दौडधुप छ । उनले उद्घोष गरिसकेका छन्, मैले ढोरपाटनका मजदुरहरुलाई भोकै बस्न दिन्न , ६ महिना त म एक्लैले पाल्छु । हो यस्तो हुनु प¥यो गरिव निमुखाहरुको जनप्रतिनिधी भनेको मेयर देवकुमार संग टन्न सम्पत्ति छ किन नदेओस् त ? भन्नेहरु पनि होलान् ।
तर वहिनी धन भएर पनि मन नहुनेहरु पनि देखिएका छन् । मन हुनेहरु भने देवकुमारको जस्तो सम्पत्ती चाँहिदैन् । भर्खरै अभियान छेड् भनुन जनक पन्थ , निरज मरासीनी , श्रीराम महत जस्ता हजारौ युवाहरुले सामजिक सञ्जालबाटै उठाई दिन्छन गरिव मजदुरका लागि पर्याप्त राशन ।
त्यसमा साथ म जस्ता तमाम सञ्चारकर्मीले पनि दिने छन् । कित भने बहिनी त्यो चुनाव ताका संस्थागत होईन प्रति व्यक्ति राशन बाढ्नेहरुको प्रतिष्पर्धा हुन्थ्यो । एउटा दलले चुनावको अन्तिम रात सबै भन्दा पहिला दलित वस्तीमा पाडा कटाएर रक्सी खुवाउँछु भन्दै पाडो डोराउँदै जाँदा अर्को दलले त्यो भन्दा पहिल्लै पाडो काटेर महाभोज गरिरहेको देखेर पाडो फर्काउँदै गरेको चर्चा पनि अझै गरिन्छ ।
एक जना कमरेड दिनभरी कमरेडहरुको मेशमा मान्छे , राते कांग्रेसजनको भोजमा मस्त । एक दिन त कांग्रेसजनको बोको ढलाएर खोलामा आन्द्र धुदै थिए, मलाई देख्नासाथ डरले लाल सलाम कमरेड भनेर आन्द्रासंग हात उठाउँदा लादी जति उनो छाती र कपडा भरि लत्तपत्तिएको दृश्य अहिले पनि मेरो आँखा वरिपरि घुम्छ ।
ठुलै नेता एक दलको भोट खोसेर अर्को दललाई अलाउन मध्यरातमा भोजमा मस्त भएको पनि मैले भुलेको छैन् । भर्खर जय नेपाल भनेको मान्छे केहि बेर पछि अर्को आयो भने लाल सलाम.. भन्नेहरुकै कारण यो देश विग्रेको हो र विपन्न वर्गहरु सधै पछाडी परेका हुन वहिनी । कहाँ गयौं चुनाव ताका चामल माछा मासु , रक्सी र पैसा बाँड्ने ति कार्यकर्ता ? कहाँ गयौं हरविपद्मा साथ दिन्छौं भन्ने ती नेताहरु ? यस्तो सवाल उठाएका छन दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने मजदुर वर्ग ।
वहिनी , सुत्केरी हुने अवस्थामा पुगेकी तिमीले पनि यहि सवाल उठाउ र दिमागमा राख चुनावताकाको दाल चामल , मासु र रक्सीले विशेष त दलित समुदायलाई सधैका लागि लड्ने गरि लठ्ठ पारेर सुताउँदो रैछ भन्ने कुरा । यहि कुरा सुनाउ तिम्रो श्रीमान , ससुरा र सुनाउ अरु सारालाई ।
बस यहि आग्रह गर्दै म ढुक्क हुन आग्रह गर्दछु कि तिम्रो सुत्केरी खर्च जुटाउन तयार छ यो दाजु तिम्रो खुशी , तिम्रा बाबु नानी छिटै यस धर्तीमा क्रान्तिकारी योद्धा भनेर जन्मिउन मेरो यहि शुभकामना…
Leave a Reply