पर्वत- पर्वतको जलजला गाउँपालिका– ७ धाइरिङका ५१ वर्षीय गोरे नेपाली यतिवेला कोरोनाविरुद्ध सचेतना जगाउन कर्नाल बजाउँदै गाउँका डाँडाकाँडा पुग्ने गरेका छन् ।
जलजला गाउँपालिका वडा नं. ७ को कार्यालयले नेपालीलाई कोरोनाविरुद्ध सचेतना जगाउने कामको जिम्मा दिएपछि नेपाली आफ्नो पेसा अंगाल्दै सूचना प्रदान गर्ने कार्यमा लागेका हुन् । जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरसबाट गाउँपालिकावासीलाई सुरक्षित राख्न कटुवालमार्फत गाउँगाउँमा नियमित घोक हाल्ने अभियान सञ्चालन गरेपछि गोरे नेपालीले उक्त कामको जिम्मेवारी पाएका हुन् ।
यसरी गाउँलाई कटुवाल लगाएर घोक हालेर सूचना प्रवाह गरेबापत नेपालीलाई वडा कार्यालयले मासिक तीन हजार रुपैयाँ तलब दिने गरेको छ । अघिल्लो वर्षसम्म बालीघरे प्रथाबाटै पेसा सञ्चालन गर्दै आएका गोरे नेपालीलाई यस वर्षबाट भने तलबमा काम गर्ने अवसर मिलेको हो ।
‘अघिल्लो वर्षसम्म घरघरमा अन्न उठाउन डुल्नुपर्थ्याे,’ नेपालीले भने, ‘अहिले भने वडा कार्यालयले तलब नै दिने गरेको छ ।’
गाउँमा सूचनाको सहज पहुँच नपुगेको र गाउँवासीले कटुवालकै विश्वास बढी गर्ने भएकाले कटुवालमार्फत सचेतना अभियान सञ्चालन गरिएको वडाध्यक्ष टुंगनाथ शर्माले बताए । ‘गाउँले भेला गर्ने समयमा होस् या कुनै सार्वजनिक सूचना दिनुपर्ने समयमा होस् हाम्रो विश्वासिलो माध्यम कटुवाल नै हो,’ उनले बताए । यतिवेला गोरे नेपालीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, विनाकाम एक–अर्काको घरमा नजान र भिडभाड हुने ठाउँमा नजान आग्रह गरेका सूचना प्रवाह गरिरहेका छन् ।
Leave a Reply