पीडित परिवार भन्छन्- न न्याय पायौँ, न त क्षतिपूर्ति नै
डेढ वर्षअघि धनुषाको कमला नगरपालिकामा विषाक्त रक्सी सेवन गर्दा सातजनाको मृत्यु भएको थियो । ३ असार ०७५ मा विषालु रक्सी सेवनका कारण सल्हेम टोलका रामचन्द्र पासवान, रामनाथ पासवान, रामकुमार पासवान, मन्नती पासवान, गंगा पासवान तथा कमला–६ का सविर मुसलमान र रजवीर कोइरीको मृत्यु भएको हो । पाँचजनाको एकैपटक र दुईजनाको उपचारका क्रममा तत्कालीन जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
श्रीमानकाे मृत्युपछि रम्भा परिवारको एकछाकमै कट्छ दिन
धनुषाको कमला नगरपालिका–५ सल्हेम टोलस्थित फुसको झुप्रोसँगै आँगनमा ३५ वर्षीया रम्भादेवी पासवान अस्थायी चुलोमा रोटी सेक्दै थिइन् । सात वर्षीय छोरा पंकज भने १० वटाजति भुरा माछा ट्युबवेलको पानीमा केलाउँदै थिए । माछा पखाले । उठेर चुलोनजिक गए । चार वर्षीय भाइ अंगदलाई सँगै लिए । आमासँग सेकाएको रोटी मागे । चुँडाएर आधा भाइलाई दिए, आधा आफैँ खान लागे । तीन आमाछोरालाई नजिकैबाट नियालिरहेका ३९ वर्षीय रामबाबु पासवान भन्दै थिए, ‘अहिले अपराह्नको ४ बज्न लाग्यो । बिहान–बेलुकाको खाना यिनीहरूको त्यति हो ।’
विषालु रक्सी सेवनबाट श्रीमानकाे मृत्यु भएदेखि रम्भा परिवारको दैनिकी एकछाकमै बित्ने गरेको छ । चार सन्तानकी आमा उनी आफैँ पाठेघरको गम्भीर समस्याबाट पीडित छिन् । निजी सम्पत्तिको नाममा फुसको झुप्रोबाहेक केही छैन । खेती गर्न जमिन छैन । त्यसैले उनी पाठेघरको पीडा सहेरै मजदुरी गर्न गाउँ चाहार्छिन् । जोहो भएको सोही कमाइले उनको एकछाक टर्ने गर्छ । बगेका आँसु घुम्टोले पुछ्दै उनले भनिन्, ‘साह्रै पीडा हुने रहेछ । सन्तानको मायाले मात्रै बाँच्ने उम्मिद पलाउँछ । नत्र यो जीवन पहिल्यै अन्त हुन्थ्यो ।’
पीडित परिवारलाई राहत दिन नगर परिषद्बाटै निर्णय गरे पनि तत्कालीन प्रशासकीय अधिकृत चेक काट्न तयार भएनन् । रक्सी खाएर मरेका परिवारलाई सरकारी सहयोग गर्न मिल्दैन भनियो । त्यसैले सहयोग गर्न नसकेका हौं । पोस्टमार्टम रिपोर्टमा पनि विष सेवन गरी मृत्यु भएको आएपछि झन् समस्या भयो । कर्मचारीले नै दिन नमानेपछि हाम्रो केही सीप लागेन ।
विषालु रक्सीले ४२ वर्षीय पति रामचन्द्र पासवानको मृत्यु भयो । सोही दिनबाट उनको जीवनमा दुःख प्रवेश ग-यो । ३ असार ०७५ को मध्यरातमा विषालु रक्सीका कारण उनको मृत्यु भएको थियो । त्यस साँझ टोलमा जमघट चल्यो । जमघटमा रामचन्द्र पनि सहभागी भए । सबैले रक्सी पिए । उनले पनि एक गिलास लिए । केहीबेरको रमझमपछि घर फर्किए । खाना खाए । शरीर आलस्य भयो ।
ओछ्यानमा एकछिन पल्टिए । टाउको दुख्न थाल्यो । वाकवाक आउलाजस्तो भयो । फेट फुल्न थाल्यो । आँखाको ज्योति गुम्न लाग्यो । पीडा बढ्दै गयो । अस्पताल टाढा भएकाले राति नै गएनन् । भोलि बिहानै अस्पताल जाने योजना बने पनि राति नै रामचन्द्रको प्राण उडिसकेको थियो । रम्भाको मैथिली उल्था गर्दै देवर रामबाबुले भने, ‘गाउँमा जमघट रहेछ । सबैले रक्सी खाए । उनले पनि खाए । रक्सी विषाक्त रहेछ । सोही कारण उनको ज्यान गयो ।’
विषालु रक्सीले पति गुमाएकी निरादेवी आफैँ मदिरा पसल चलाउँछिन्
रामचन्द्रसँगै रक्सी पिएका थिए सल्हेम टोलकै ५० वर्षीय गंगा पासवानले पनि । कमला–६ स्थित जागिर टोलका द्वारिका कलालका मान्छेले ग्यालिनमा बोकेर १० लिटर रक्सी ल्याइदिएका थिए उनलाई । १३ असार ०७५ साँझ टोलकै विद्यालयमा सानो जमघट चल्यो । जमघटमा रामचन्द्र र गंगासँगै रामनाथ पासवान, रामकुमार पासवान र मन्नती पासवान भेला भए । गंगाले ग्यालिनको रक्सी आपसमा बाँडे । माछाको सितनसँगै सबैले रमाइलो मानेर खाए । खाइसकेपछि सबै घर फर्किए । गंगा पनि घर गए । खाना खाए र केहीबेर परिवारसँग रमाए । सुत्न तर्खर गर्दै थिए, अचानक टाउको दुखेर आयो । सहनै नसक्ने भएपछि घोप्टो परे । भोलिपल्ट अस्पताल जाने योजना बन्यो । यातायातको साधनको जोहो गरेर ३५ किमि परको जनकपुर अञ्चल अस्पताल लगियो । तर, त्यसवेलासम्म ढिला भइसकेको थियो । उनको बाटोमै मृत्यु भइसकेको थियो ।
डेढ वर्षअघिको त्रासदीपूर्ण घटना सम्झिँदा उनकी श्रीमती निरादेवीको आँखा रसायो । भक्कानिँदै उनले भनिन्, ‘जागिर टोलबाट ग्यालिनमा बोकेर १० लिटर दारु मेरै श्रीमान्ले ल्याएका थिए । त्यसमा जहर भएको पत्तै भएन । साथीसँगै उहाँले पनि दारु पिउनुभएछ । सोही दारुले उहाँको मृत्यु भयो । उहाँसँगै अरूको पनि मृत्यु भइसकेछ ।’ जीवन गुजाराका लागि उनले गाउँमै सानो पसल खोलेकी छिन् । तर, पसलमा उनी रक्सी नै बेच्छिन् । तर, लोकल होइन, सिल प्याक । उनले भनिन्, ‘कमाउने मान्छे छैन । केटाकेटी पाल्नुपर्छ । त्यसैका लागि यो सानो पसल गरेकी हुँ ।’
१३ असार ०७५ मै विषाक्त रक्सी पिएर मृत्यु भएका २३ वर्षीय मन्नती पासवानकी ७० वर्षीया आमा कमलादेवी पासवान फुसको झुप्रोमै भेटिइन् । साँघुरो ढोका उघार्दै छोरी साइनोकी २० वर्षीया पूजादेवी पासवान बाहिर निस्किइन् । मृतक मन्नतीबारे जानकारी लिन हामीले आफ्ना कुरा राख्यौँ । मृतकको फोटो र मृत्युदर्ता प्रमाणपत्र खोज्न भन्यौँ । तर, उनी एकाएक आक्रोशित बनिन् र घरभित्र पसिन् । केहीबेरपछि कागजपत्रसहित बाहिर आइन् । माई क्लियर ब्यागबाट कागजपत्र झिकेर आँगनमा पछार्दै भनिन्, ‘तपाईंहरू हाम्रो पीडा बेचेर नाम कमाउनुहुन्छ, हामी के पाउँछौँ ? सरकारले ३० हजार रुपैयाँ किरिया खर्च दिने घोषणा गरेको थियो । पछि क्षतिपूर्ति पनि दिने भनेको थियो । तर, अहिलेसम्म किरिया खर्चसमेत पाउन सकेनौँ । समाचार लेखेर के हुन्छ ?’
घोषणा भएको ३० हजार रुपैयाँ किरिया खर्च नपाएको विषयमा मृतक गंगा पासवानकी पत्नी निरादेवीको पनि गुनासो छ । विषालु रक्सीका कारण मृत्यु भएका परिवारलाई कमला नगरपालिकाले प्रतिव्यक्ति ३० हजार रुपैयाँ दिने घोषणा गरेको थियो । त्यसपछि क्षतिपूर्ति पनि दिने भनेको थियो । तर, मृतकका परिवारले क्षतिपूर्ति त के करिया खर्चसमेत पाउन सकेका छैनन् । पीडा सुनाउँदै निरादेवीले भनिन्, ‘किरिया खर्च ३० हजार र क्षतिपूर्ति पनि दिने भनिएको थियो । तर, अहिलेसम्म हामीले केही पाउन सकेका छैनौँ ।’
रक्सी खाएर मृत्यु भएका परिवारलाई सरकारी सहयोग गर्न मिल्दैन भनियो : रामउदगार गोइत, नगरप्रमुख, कमला नगरपालिका
मदिरा सेवनबाट ज्यान गुमाउनेको परिवारलाई नगरपालिकाले राहत दिने घोषणा गरेको हो । तर, कानुनी जटिलता कारण दिन सकेका छैनौं । पीडित परिवारलाई राहत दिन नगर परिषद्बाटै निर्णय गरे पनि तत्कालीन प्रशासकीय अधिकृत चेक काट्न तयार भएनन् । रक्सी खाएर मरेका परिवारलाई सरकारी सहयोग गर्न मिल्दैन भनियो । त्यसैले सहयोग गर्न नसकेका हौं । पोस्टमार्टम रिपोर्टमा पनि विष सेवन गरी मृत्यु भएको आएपछि झन् समस्या भयो । कर्मचारीले नै दिन नमानेपछि हाम्रो केही सीप लागेन ।
विषाक्त मदिराले मृत्यु हुनेको संख्या १८ पुग्यो
विषाक्त मदिरा सेवनले आइतबार धनुषामा थप तीनजनाको मृत्यु भएको छ । मदिरा सेवनले सिकिस्त बिरामी भई आइसियुमा रहेका क्षीरेश्वरनाथ–१ रमदैया भवारीका रामबहादुर यादव, लक्ष्मीनियाँ गाउँपालिका–३ का विश्वनाथ यादव र जनकपुरधाम उपमहानगरपालिका–७ का जितेन्द्र सदाको मृत्यु भएको छ । पछिल्लो दुई सातायता धनुषामा घरेलु मदिरा सेवनले १८ जनाको मृत्यु भएको छ ।
(यो सामाग्री नयाँ पत्रिकाबाट साभार गरिएको हो ।)
Leave a Reply