जात थाहा पाएपछि ‘तिमी’ !

सोना खटिक १ चैत्र २०७६, शनिबार १८:५१

अहिले सहरवासीले गाउँमा मात्रै विभेद छ भन्छन् । तर, कतिपय घटना हामीले सुनेका/देखेका छौं– सांसद भइसकेका दलितले समेत सहरमा भाडामा कोठा पाएका छैनन् । अरूको कस्तो अवस्था होला ? कोठा खोज्ने बेलामा जात लुकाउनुपर्ने अवस्था यद्यपि छ, सहरमा । जात थाहा पाएपछि विभिन्न बहाना बनाएर कोठाबाट निकालेका कैयौं उदाहरण छन् ।

म पहिले अफिसकै अपार्टमेन्टमा बस्थेँ । कुनै समस्या आएको थिएन । जब पछि अफिसबाहिर कोठा लिएर बस्नुपर्ने भयो, समस्या सुरु भयो । साथीहरूले एक जना बाहुनकहाँ डेरा खोजिदिएका रहेछन् । घरबेटीले जात सोधेपछि मैले सत्य भनिदिएँ । खटिक जातिको संख्या एकदमै कम भएकाले हो वा उनले यो जातबारे उति नसुनेकाले, त्यति वास्ता गरेनन् । पछि अरू छिमेकमार्फत थाहा पाएछन्– खटिक जाति दलितमा पर्छ भन्ने । तर, उनले मलाई केही भनेनन् । उनलाई थाहा थियो– म सञ्चारकर्मी हुँ । उनले कानुन बुझेकाले ‘सिधै जातको कुरा गरेँ भने मलाई छोड्ने छैनन्’ भन्ने लाग्यो सायद ।

पछि उनले एउटा जुक्ति निकाले ।आफ्नी श्रीमती बिरामी भएको र उनलाई दुई तलामाथि चढ्न–झर्न गाह्रो भएको हुनाले म बसिरहेको डेरा घरबेटीले नै लिने कुरा गरे । म माथिल्लो तलामा सर्नुपर्ने भयो । जबकि त्यही तलामा अर्को कोठा पनि खाली थियो । मैले माथिल्लो तलामा जान अस्वीकार गरेँ । पछि म बसेको कोठामा उनीहरू सरे । म भने छेउकै कोठामा सामान खाली गराएर बसेँ ।

सहरभित्र यस्ता घटना प्रत्यक्ष/अप्रत्यक्ष भई नै रहेका हुन्छन् । यसबारे उजुरी गर्न सकिने बाटोसमेत प्रशस्तै हुन्छ । यहाँ सार्वजनिक स्थल तथा कार्यक्रममा पनि जातीय, वर्गीय, रंगीय, लैंगिक तथा सामुदायिक हिसाबले विभेद भइरहेका छन्, जसको कुनै उजुरी परेका छैनन् र ठूलो संख्यामा पर्दैनन् पनि । किनभने हामी आफैँले विभेदलाई स्वीकार गरेका छौं । त्यसलाई विद्रोहको स्वर दिन सकेका छैनौं । जातीय हिसाबले म दलित, सामुदायिक हिसाबले मधेसी महिला । अनुहार कालो वर्णको । कतिपय ठाउँमा म अनुहारले पनि विभेदीकरणमा परेकी छु ।

सार्वजनिक कार्यक्रममा पनि हाम्रो नेतृत्व हतपती स्वीकार हुँदैन । पहिले त्यही पदमा रहेर गैरदलित, महिला, पहाडी मुलकाले नेतृत्व गर्दा सार्वजनिक कार्यक्रममा उनीहरूलाई जसरी भए पनि स्टेज दिइन्थ्यो, दिइन्छ । म त्यही पदमा रही नेतृत्व गरिरहेकी छु भने उक्त स्थानमा भएको/नभएको कुनै वास्ता गरिन्न । यस्ता अनगिन्ती उदाहरण छन् ।

सोचेँ, सुरुमा स्वागत गर्दा ‘तपाईं’, सम्बोधन पाएकी मलाई किनएकाएक ‘तिमी’ ?मधेसका महिलालाई लक्षित गरी जनकपुरमा हालै सञ्चालन गरिएको कार्यक्रममा पनि मैले विभेदको महसुस गरेँ ।

औपचारिक स्थान मात्र होइन, कामको मूल्यांकन गरेर दिइने सम्मानमा पनि यस्तै हुँदै आएको छ । कार्यअनुभव र मिहिनेत हेरिँदैन । तर, जात, उमेर र समुदायका आधारमा मूल्यांकन हुँदो रहेछ ।

जिल्ला विकास समितिमा छँदाको कुरा । समितिले हरेक वर्ष विकास पत्रकारिता पुरस्कार उपलब्ध गराउँदै आएको थियो । त्यसका लागि म पनि प्रतिस्पर्धामा थिएँ । छनोट समितिले नाम छनोट गरिसकेको थियो । पछि मेरो नाम काटिएको थाहा पाएँ, गैरदलितलाई उक्त पुरस्कार प्रदान गरियो । यो त जिल्लाको हकमा हो । राष्ट्रिय स्तरमै पत्रकारितामा रहेर अझै सामुदायिक रेडियोमै काम गर्ने दलित मधेसीको नाम सरकारले कहीँ आफ्नो लिस्टमा उल्लेख गरेको देखिँदैन । विभिन्न पत्रकारकै सगंठनमा पनि समावेशिताका लागि मात्रै हो, हामी मधेसी महिला दलितलाई प्रयोग गर्ने ।

गत कात्तिकमा एउटा संस्थाको आग्रहमा म जनकपुर पुगेको थिएँ । त्यहाँ मधेसी दलितको समस्या, चुनौती र समाधानको विषयमा बोल्नुपर्ने थियो । दुईदिने कार्यक्रममा मलगायत धेरै जना गैरदलित तथा केही दलित थियौँ । होटेल पुगेपछि सम्बन्धित व्यक्तिलाई फोन गरेँ । उहाँ बाहिर हुनुहुँदो रहेछ । एक महिला कर्मचारीलाई रिसेप्सनमा पठाएर मलाई खादा ओढाई बडो सम्मानका साथ कोठामा लगियो । त्यहाँ एकापसमा परिचय भयो । ती महिला कर्मचारीले मेरो परिचय जान्नेबित्तिकै अनुहारको रङ बदलिन् । उनी यत्तिकैमा भोलि हुने कार्यक्रम स्थालमा जाने भनेर कोठाबाट बाहिरिइन् । अघिसम्म ‘तपाईं’ सम्बोधन गरेकी मलाई उनले तत्कालै भनिन्, ‘तिमी यहीँ फ्रेस भएर बस्नु, जानु पर्दैन ।’

सोचेँ, सुरुमा स्वागत गर्दा ‘तपाईं’, सम्बोधन पाएकी मलाई किनएकाएक ‘तिमी’ ?मधेसका महिलालाई लक्षित गरी जनकपुरमा हालै सञ्चालन गरिएको कार्यक्रममा पनि मैले विभेदको महसुस गरेँ । आफ्नो अनुभव सुनाउन मलाई बोलाइएको थियो । काठमाडौंका अतिथि नआइपुग्दासम्म सबै मधेसी दलित महिलालाई भीआईपी होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो । जब अर्को दिन राजधानीबाट अतिथिको आगमन भयो, हामीलाई अर्कै होटेलमा सारियो । कार्यक्रम समावेशी बनाउन ‘दलितलाई पनि बोलाएका छौँ’ भनेर देखाइएको जस्तो लाग्यो ।

सम्झिन्छु विगतका ती दिन, जहाँ घरमै आएर मेरा आमा–बुबा, दाइलाई व्यापक मात्रामा कुटियो । धारामा पानी भर्न जाँदा कहिल्यै सुरुमा पालो आएन । पानी खाँदा गैरदलितले माथिबाट खसाल्ने र हामी हात थापेर खाने ! उनीहरूको घरमा जाँदा ढोकाभन्दा बाहिरै बस्नुपर्ने !

बिस्तारै समाजमा केही मानवीयता पलाउँदै छ तर पर्याप्त छैन । संविधानमै छुवाछूत र विभेदमाथि लेखिएकाले पनिहोला, समाज रूपान्तरणमा केही प्रयास भएका पनि छन् । तर, सहर अझै साह्रै निर्दयीनै छ ।

२१औं शताब्दीमा पनि नेपाल गरिबी, अशिक्षा, जातीय, वर्गीय, क्षेत्रीय, लैंगिक विभेदलगायत पछौटे चिन्तन र अवस्थामा रहनु भनेको हाम्रा लागि लज्जाको विषय हो । हामी शिक्षितसँग यस्तो व्यवहार भइरहेको छ भने गाउँबाट भर्खर सहर प्रबेश गरेकासँग विभेद भएको छैन भनेर कसरी विश्वास गर्ने ?

(खटिक रेडियो कपिलवस्तुकी स्टेसन म्यानेजर हुन् ,याे सामाग्री कान्तिपुर दैनिकको कोसेलीबाट साभार गरिएको हो  ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank