धनुषा – गएको बर्षायाममा बाढीले घर भत्काइदियो । नेपाल–भारत सीमावर्ती दसगजा क्षेत्रमा बसोबास गर्दै आएका दुई सयभन्दा बढी घरपरिवारको छाप्रो बाढीले भत्काइदिएपछि पुनः निर्माण गर्न सकेका छैनन् । बाढीले घर बगाएका भूमिहीन नयाँ टहरा निर्माण गर्न नसकेपछि बाक्लो शीतलहरमा कठ्याङ्ग्रिदो चिसोमा पालमुनि बस्न बाध्य छन् ।
धनुषा सदरमुकाम जनकपुरधामदेखि पूर्व जनकनन्दनी गाउँपालिका–१ इनर्वाकी ७६ बर्षिया देवी सदाले वर्षा र बाढीले भत्काइदिएको छाप्रो पुनःनिर्माण गर्न सकेकी छैनन्। बर्षायाममा रेडक्रसलगायत विभिन्न संघसंस्थाले उपलब्ध गराएको पालमा ५ जनाको परिवार एकै ठाउँ बसिरहेका छन्।
भूईंमा चट्टाई ओछयाएर बसेकी २३ बर्षिया सुत्केरी आरती सदालाई चिसो र अन्न अभावले झन् बढी पिरोलेको छ। ‘चिसोले केटाकेटीको बिजोग छ। खाना रुच्दैन, आफूले नखाए बच्चाको लागि दुध आउदैन, बच्चालाई के खुवाउने? कसरी बाँच्ने होला?’ आरतीले भनिन्, ‘कमाई केही छैन, श्रीमानले काम गर्नसमेत पाएका छैनन्।’
इनर्वाकी अर्की वृद्धा ७९ बर्षिया कुमारी सदाको ५ जनाको परिवार पनि पालमै छन्। सोही गाउँकी ७५ बर्षिया आरतीदेवी गिरी, ५५ बर्षिया जुलवीदेवी सहनी, ५० बर्षिया सीता सदा, ४० बर्षिया निरुदेवी दास, ४९ बर्षिया काउलीदेवी कामतको परिवार पनि पालमै छन्। यी पाल पनि विभिन्न संघसंस्थाले दिएका हुन्।
‘छाप्रो बाढीले भत्किाइदियो, खाने अन्न छैन,’ इनर्वाकी ७५ बर्षिया भागवदेवी सदाले दुखेसो पोखिन्, ‘ओड्ने लुगा छैन, चिसोले ज्यान बचाउन मुस्किल परिसक्यो, कतैबाट राहत पनि आएको छैन, हामी गरिबको घर बनाइदिनुपर्यो हजुर !’ ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएका बाढीपीडित हिंजोआज चिसोले गर्दा काममा जान समेत सकेका छैनन्।
जनकनन्दनी गाउँपालिका–१ इनर्वाका वडाध्यक्ष धमेन्द्र गोइत शीतलहरले गर्दा बाढी पीडितको अवस्था खराब भएको बताउँछन्। यो विपन्न दलित समुदाय न्यानो लुगा नभएपछि रातदिन धुनी तापेर बस्न बाध्य छ। गोवरको गुईंठा, पराल, झ्यासको धुनी बालेर उनीहरु बस्दै आएका छन्।
घर बनाउनका लागि सरकारी तथा गैर सरकारी निकायबाट आर्थिक सहयोग लिनका लागि उनीहरुसँग जग्गा जमिनको लालपूर्जा छैन। लालपूर्जा नभएपछि कानुनी प्रक्रिया मिलाउन समस्या हुने गाउँपालिकाकी उपप्रमुख भारती कार्कीले बताइन्। ‘हामीलाई पनि आवास निर्माण गरिदिन पाए हुन्थ्यो भन्ने लाग्छ। तर, बजेट नै छैन,’ उनले भनिन्। न्यायो लुगा किन्ने तयारी भने गाउँपालिकाले गरेको उनले बताइन्।


























Leave a Reply