भोजमा विभेद प्रकरण : प्रहरीकाे अनुसन्धान सुरु

मणिलाल विश्वकर्मा १ मंसिर २०७६, आईतवार ०९:५०

सिरहा-सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियास्थित कविलासी गाउँमा छिमेकीको मृत्युभोज खान गएका दलितमाथि भएको विभेद र अपमानको घटनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा पीडितमध्ये दुईजनाले दिएको किटानी जाहेरी दर्ता गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको हो ।

मुद्दा दर्तालगत्तै घटनास्थलको मुचुल्का उठाएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए ।

१० कात्तिकमा स्थानीय ७४ वर्षीय सूर्यनाथ यादवको मृत्युपछि १३औँ दिन २३ कात्तिकमा मृत्युभोज आयोजना भएको थियो । भोजमा पोखरिया गाउँका सम्पूर्ण जातिसहित औरही गाउँपालिकाअन्तर्गत पर्ने हरकट्टी, कुण्डलपुर र कडहरवा गरी चार गाउँका यादवलाई भोजमा निम्त्याइएको थियो । कथित ‘उपल्लो जात’का व्यक्तिलाई खुवाइसकेपछि घरधनीले दलित समुदायलाई साँझपख मात्रै बोलाएका थिए । तर, पस्किएर दिएको भोज खानै लाग्दा यादव समुदायका ‘अगुवा’ले खोसेर फालिदिएका थिए । केही दलितमाथि कुटपिटसमेत भएको थियो । रात नपरी आँगनमा बसेर खाएको भन्दै गालीगलोज गरेपछि उनीहरू फर्किएका थिए । स्थानीय पशुपति यादव, उपेन्द्र यादव, रामचन्द्र यादव र भुल्ला भनिने रामप्रीत यादवसहितको समूहले अपमान गरेका थिए । दलित समुदायका अगुवा ७० वर्षीय सिंहेश्वर मोचीले भने, ‘हाम्रो भागको खानेकुरा मात्र खोसेर फालिएन, अपमान र दुव्र्यवहारसमेत गरियो ।’

साँझ ७ बजेसम्म छिमेकी गाउँसहित पोखरियाका यादव समुदायले भोज खाएर उठेपछि आफू नै गएर छिमेकी दलितहरूलाई बोलाएर खुवाउन लगाएको मृतकका नाति उमेशकुमारले बताए । ‘भोज खान बसेका छिमेकी दलितमाथि दुर्व्यवहार र गालीगलोज भएको थाहा पाएलगत्तै हाम्रो परिवारको बदनाम नगर्नुस् भन्दै उपेन्द्रको खुट्टासमेत ढोगेँ,’ उमेशकुमारले भने, ‘उनी साम्य नभई एकोहोरो गालीगलोज र हातपातमै उत्रिएको देखेर अत्तालिएका दलित बालबालिका रुन–चिच्याउन थाले, म आफैँ भक्कानिएँ ।’
भोजमा भान्से बनेका ५० वर्षीय शुभनारायण यादवले पनि दलितमाथि अपमान भएको बताए । ‘उनीहरू खान खोज्दै थिए,’ घिउ वितरणको जिम्मा पाएका यादवले भने, ‘अकस्मात् मेदी भनिने उपेन्द्रले सानो जातकालाई कसले खान बोलायो भन्दै मलाई नै हुत्याएर भागको खानासमेत फलिदिए ।’

पीडितहरू गत बुधबार न्याय माग्दै जिल्ला प्रशासनको ढोकामा पुगेपछि घटना सार्वजनिक भएको थियो । उनीहरूले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसमक्ष घटना सुनाएका थिए । प्रजिअ अधिकारीकै सुझाबअनुसार कानुनी कारबाहीका लागि बुधबार नै दलितहरू जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरीले शुक्रबार किटानी जाहेरी दर्ता गर्दै अनुसन्धान थालेको हो ।

के छ कानुनमा ? 
मुलुकी फौजदारी (संहिता) ऐन ०७४ को परिच्छेद १० को दफा १६६ उपदफा (१) मा कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय र शारीरिक अवस्थाप्रति भेदभाव गर्न निषेध गरिएको छ । त्यस्तै, सामाजिक सम्प्रदायको उत्पतिको आधारमा छुवाछूत वा अन्य कुनै किसिमको भेद्भाव गर्न, सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न निषेध गरिएको छ । उक्त दफाको उपदफा २ मा उदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने र राष्ट्रसेवकले उक्त दफामा लेखिएको कसूर गरेमा थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank