पवित्रा वादी जसले देहव्यापार नगर्न मादल रोजिन्

नारायण खड्का ११ कार्तिक २०७६, सोमबार १९:३७

तिहार आएयता मात्रै पवित्रा वादी नेपालीले ७० वटा मादल बनाइन्। ती मादल ग्राहकले उनकै घरमा आएर किने। अघिपछि पनि मादल चाहिनेहरू उनको घरमै पुग्छन् ।

शनिबार हामी पुग्दा पनि ४२ वर्षीया पवित्रा वादी ग्राहकले घेरिएकी थिइन्। उनलाई कुरा गर्ने फुर्सदसमेत थिएन। मादल बनाउनै भ्याइनभ्याइ थियो।

उनी घरि मादल बजाएर आवाज परीक्षण गर्थिन् त घरि मादल भनेजसरी बजोस् भनेर हतौडाले यताउता ठाकठाक ठुकठुक पार्थिन्।

योसँगै मादल किन्न आएका ग्राहकलाई आफैं मादल बजाएर सुनाउन पनि भ्याइरहेकी थिइन्।

मादल बजाउने गज्जबको कला छ पवित्रासँग। उनले छोएपछि मादलको ताल पनि बेग्लै। पवित्राले बनाएका मादल दुई हजारदेखि आठ हजारसम्म बिक्री हुन्छ।

यो पवित्राको पुस्तैनी पेसा हो।

१५ वर्षको उमेरदेखि नै उनले बाबु लालसिंह वादीसँग मादल बनाउन थालेकी हुन्। उनको समुदायका आमा दिदीबहिनी धेरैजसो देहव्यापारमा संलग्न थिए। उनीहरूझैं पवित्रालाई यो पेसा गर्नु थिएन।

‘अरु दिदीबहिनी देहव्यापारमा लागे, तर मलाई त्यो मन परेन। मैले कहिलै देहव्यापार गरिनँ। बरु म ‘बा’ सँगै मादल बनाउन लागे,’ विगत सम्झँदै पवित्राले भनिन्।

 

 

पवित्रालाई उनकै दिदीहरू र अभिभावकबाट समेत देहव्यापारमा लाग्न कम्ता दबाब आएको थिएन। दबाब छल्न उनी घरैसमेत छोडेर भागिन्। भागेर साथीहरूको शरणमा पुगेको सम्झना उनलाई ताजै छ।

उनमा यत्रो हिम्मत उनको ४ कक्षासम्म गरेको पढाइले ल्याइदिएको थियो।

कक्षा ४ सम्म मात्रै औपचारिक शिक्षा पढेकी भए पनि अन्य जातका साथीहरूले बारम्बार उनलाई देहव्यापार नगर्न भनिरहन्थे। साथीहरूका यी कुरा उनका मनमा गढे। उनले समाज र साथीहरूले देहव्यापार गर्ने आफ्ना दिदीहरूलाई के भन्थे र कस्तो दृष्टिकोण राख्थे भन्ने कुरा सानैमा राम्रोसँग बुझ्न पाएकी थिइन्।

उनले देहव्यापार नगर्ने बरु अरू नै काम गर्ने अठोट राखिन्। त्यही अठोटका कारण वादीहरूको मादल बनाउने सीप आफ्ना बाबुबाट सिकिन्।

https://www.photojoiner.net/image/gmTJUpaf

उनी मादलमै रमाइन् तर मादल बनाउने कामले मात्र जीवन जिउन सजिलो थिएन। त्यसैले उनले त्यसका लागि मजदुरी पनि गरिन्।

‘म इँट्टा बोक्न गएँ। कहिले घर बनाउने काममा पुरुषहरूसँगै खटिए, तर देहव्यापार कहिल्यै गरिनँ,’ पवित्राले भनिन्।

यसक्रममा उनले घरको गारा लगाउने मिस्त्रीदेखि ठेक्कामा लिएर घर निर्माण गर्ने कामसम्म गरिन्। तर यी काम गर्न पनि सजिलो थिएन। वादी भनेपछि घर निर्माणको काम दिन्थेनन्। त्यसैले उनले जात लुकाउँदै आफुलाई वलीको छोरी भनेर पनि घरहरूको काम जारी राखिन्।

समयक्रममा उमेरसँगै ज्याला-मजदुरी छुट्दैछ तर मादल बनाउने उनको दैनिकी सकिएको छैन। मादल बनाउने काम प्रायः उनी सबै आफैं गर्छिन्।

मादल बनाउन गोरुको छाला, बाख्राको छाला, कालो किट (ढुंगा) र काठ आवश्यक पर्छ। मादल बनाउने काठ पहिले जस्तो चाहेका बखतमा जंगल गएर काट्न पाइँदैन।

त्यसका लागि पवित्राले पश्चिम दाङका भट्टेखोला र बोक्सिखोला क्षेत्रका स्थानीयका निजी जग्गामा लगाएको काठ खरिद गर्छिन्। पवित्राका अनुसार खमारीको काठ मादल बनाउन सबैभन्दा उत्तम मानिन्छ। त्यो नपाउँदा भिर्कुट र खिर्रौ लगायतबाट पनि बनाइन्छ।

पछिल्लो समय काठ अभाव हुन थालेपछि मादलको मूल्य बढी पर्न थालेको पवित्राको गुनासो छ। एउटा मादल बनाउन आवश्यक मुढोलाई पाँच सात सयदेखि एक हजारसम्म मूल्य पर्ने उनले जानकारी दिइन्। खरिद गर्दा त्यो मुढो बीचमा खोलिएको मात्रै हुन्छ। मुढोलाई ताछेर मादलको आकारप्रकार दिनेदेखि बु‌ट्टा कुँद्ने सबै काम पवित्रा आफैंले गर्छिन्।

मादलको कालो भाग निर्माणका लागि आवश्यक पर्ने किटढुंगा तुलसीपुरकै शिरखोलामा गएर आफैं खोजेर ल्याउँछिन्। ढुंगा पिसेर मादलमा लगाउने खरी (गोटी) तयार हुन्छ।

‘ढुंगाले ढुंगा पिस्छु र त्यसवाट निस्केको धुलोले गोटी लगाउँछु,’ पवित्राले भनिन्।

काठको ढुंग्रो खरिद गरेपछि त्यसलाई बसुलाले ताछेर मादलको आकारमा उनी आफैं ढाल्छिन्। त्यसपछि काठ चिल्लो बनाउन लगाएर गोरुको छाला काटेर बर्ता (डोरा) बनाउँछिन्। बाख्राको छाला कच्ची हुने हुँदा त्यसको डोरा बन्दैन। बाख्राको छाला मादलको दुई पट्टीको खरी लगाउने भाग मोड्न प्रयोग हुन्छ।

गाउँ घरमा अझै पनि कालगतिले मरेका गाईगोरुलाई खुल्ला ठाउँमा फाल्ने चलन छ। त्यो गिद्द, चिल र कुकुर लगाएतका पशुपंक्षीले खानुभन्दा पहिल्यै छाला काढिन्छ।

‘मरेका गाई गोरुका छाला सार्कीले काटेर ल्याउँछन् र मैले उनीहरूसँगै किन्छु,’ पवित्राले भनिन्। मरेपछि फालिएका बाख्राको छाला पनि किन्ने गर्छिन्।

https://www.photojoiner.net/image/zeQrgpXo

संघर्षले भरिएको छ पत्रिताको कथा। उनको साहारा एक मात्रै छोरा हुन् जो आज यातायात समितिमा काम गर्छन्। पति दोस्रो बिहे गरेर भारतमा बस्दै आएका छन्। उनका जवान छोराले मादल बनाउने काममा चासो दिँदैनन्।

त्यही भएर चाडपर्वमा सहयोगका लागि उनले आफ्नै दिदीका छोरी ज्वाइँलाई ज्यालादारी काममा लगाउने गरेकी छन्। ज्वाइँलाई दैनिक ८ सय ज्याला दिने गरेको पवित्राले बताइन्।

एक्लै भएको हुँदा उनले पछिल्लो समय ठेक्का पट्टा लिएर घर हाल्ने काम पनि छोड्ने निधो गरेको बताइन। आज मेरो एक मात्रै पेशा मादल बनाउने जस्तो मात्रै बन्दै गएको छ। मादल बनाउने काम एक्लै पनि गर्न सकिने भएको हुँदा पुस्तैनी पेसालाई आत्मसात गर्दा सजिलो लागेको उनको बुझाइ छ।

‘काम गरेर खान के को लाज? अर्कोलाई ठगेर, चोरेर, देहव्यापार गरेर खान पो लाज,’ पवित्राले भनिन् ‘कसैसँग सित्तैमा हात थापेर खान नपरोस्।  सधैंभरि पौरख गरेर खान पाए पुग्छ।’

तीजयता मात्रै उनले शनिबारसम्म ७० वटा मादल बनाएर बेचिसकिन्। त्यसबाट उनलाई राम्रै आम्दानी भएको छ।

‘दुःख विरामी नहुने हो भने तीन महिनाको कमाईले वर्षदिन बसेरै खाम भने पनि पुग्छ,’ पवित्राले कमाइबारे बताइन्।

चाडपर्व मादल धेरै बिक्री हुने समयमा हो। अघिपछि उनले तयार पारेका मादल बजारमा लगेर थोकमा बेच्छिन्। मादल बिक्री गर्न राज्यले निश्चित ठाउँ व्यवस्थापन गरिदिए राम्रो हुन्छ भन्ने पवित्राको बुझाइ छ।

‘सरकारको आश गरेर बस्नु र भर पर्नु राम्रो हैन,’ पवित्रताले भनिन् ‘राज्यले हामी जस्ताको दुःखलाई मध्यनजर गर्दै बजार व्यवस्थित गरिदिए हुने थियो।’

विभिन्न साउन्ड सिष्टमका कारण आजकल मादल बिक्री हुन छोडेको पवित्राको बुझाइ छ।

‘पहिला एउटा देउसी भैलो खेल्न ३-४ वटा मादल अनिवार्य चाहिन्थ्यो,’ पवित्राले भनिन् ‘तर आज स्पिकर आएपछि एउटा मादल भए पुग्छ। त्यसले मादल निर्माण गर्ने समुदाय पनि निराश भएका छन्। अब हाम्रो पुरानो संस्कृति बचाउनुपर्ने हो।’

(यो सामाग्री सेतोपाटी डटकमबाट साभार गरिएको हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank