पहिलो पटक काठमाडौ आएका शनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टार

दलित अनलाईन ८ कार्तिक २०७६, शुक्रबार २३:१९

काठमाडौं – रोल्पा नगरपालिका–८, जकोटका १८ वर्षीय शनि विश्वकर्माले नेपाल लोक स्टारको उपाधि जितेका छन् । एपीवान टेलीभिजनबाट प्रशारित सर्वधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै विश्वकर्माले ५० लाख नगद पुरस्कार जिते । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि जितेका हुन् ।
प्रतियोगितामा स्याङ्गजा, वालिङका ३० वर्षीय चेतन गोतामे नेपाल लोक स्टारका
दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका विनोद दनुवारले जिते । उनले १० लाख नगद प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्त्वना भए । सान्त्वना भएका उनले दुई लाख हात पारे ।

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो ।

नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम हो । देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारका उत्कृष्ट छनोट भएका थिए । अडिसनमा छनोट भएका प्रतियोगीले आफूलाई निकै निखारे र अलराउन्डर प्रस्तुति दिए । कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय साँस्कृतिक लोकसंगीतदेखि आधुनिक गीत र राष्ट्रिय गीतले स्थान पायो ।

कार्यक्रमको ३६ औं शृंखलासम्म आउँदा प्रत्यक्ष रूपमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले निर्णायकको भुमिका निर्वाह गरे । सुरेस पौडेलले प्रोजेक्ट हेडको जिम्मेवारी पूरा गरे । एलन श्रेष्ठ, लोकेश बज्राचार्यले निर्देशकीय भूमिका निर्वाह गरे ।

आइएमई नेपाल लोकस्टार सिजन १ का प्रतिस्पर्धी शनि विश्वकर्माले देश तथा विदेशको समेत राम्रो भोट पाए । रोल्पामा मात्र नभई देश तथा विदेशमा समेत राम्रो चर्चा भयो । गत असारमा बुटवल भएको अडिसनमा गोल्डेन स्टार प्राप्त गरी सिधै उत्कृष्ट २० मा पुग्न सफल थिए ,शानि विश्वकर्मा । गोल्डेन स्टार पाएका तीन प्रतिस्पर्धीहरुमध्ये पहिलो गोल्डेन स्टार पाएका शनीले देश तथा विदेशबाट सबैको हौसला, माया, साथ र सहयोग प्राप्त गरे ।

 शनि विश्वकर्मा को हुन् ?

शनि विश्वकर्माको जन्म जनयुद्धको उद्गम थलो रोल्पाको जंकोटमा बुवा मनबहादुर र आमा मनकुमारीको कोखबाट २०५८ पौष २५ गते भएको हो । गाउँकै विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि लिबाङको बालकल्याण नमूना माविमा अध्ययन गरे । कक्षा १२ सम्मको अध्ययन भने दाङमा गरेका थिए ।
घरको आर्थिक अवस्था बलियो थिएन तर जेनतेन हुर्किने अवसर पाए उनले । ११ वर्षको उमेरमा पहिलो पटक स्टेजमा गीत गाएका थिए । आमा बाबु र परिवारको मेहनतले उनी सानैदेखि लगनशलि बने । खासै नबोल्ने स्वभावका उनीभित्र अथाह प्रतिभा लुकेर रहेको छ । अहिलेसम्म संगीतको कुनै औपचारिक शिक्षा नलिएका उनको स्वर सुन्दा जो कोही पनि मन्त्रमुग्ध हुन्छन् ।
लिबाङमा रेडियो जलजलाले वार्षिक उत्सवको अवसरमा आयोजना गरेको गायत प्रतियोगिता जलजला तारामा शनिले पनि भाग लिए र प्रतियोगितामा उत्कृष्ट दशमा पुग्न सफल भए । यस्तै राप्ती आइडलमा उनी दोश्रो भए । विद्यालयमा अध्ययनरत हुँदा हुने जिल्लास्तरीय प्रतिभा पहिचानमा लोकगीतमा प्रथम भएका थिए । विश्वकर्मा हिजो जनयुद्धले चिनिएको रोल्पालाई संगीतको रोल्पा भनेर चिनाउने अभियानमा छन् । कुनै बेला रोल्पालीले टिभी, रेडियो लोक दोहोरी गाउँदा रोल्पामा पनि गीत गाउने कलाकार छन् र ? भनेर प्रश्न गरिन्थ्यो । तर अहिले समय बदलिएको छ, अन्य चर्चित रोल्पाली कलाकारहरुजस्तै उनको नाम र प्रतिभाबाट पनि सबै परिचित छन् । उनलाई आइएमई लोकस्टार सिजन १ को विजेता बनाउन देश तथा विदेशबाट साथ र सहयोग गर्नेको लहर बढ्दै गयो र लोकस्टार बने ।
सानैदिख गीतसंगीतमा रुचि राख्ने उनले अडिसन राउण्डमा तिरिरी मुरली बज्यो बनैमा गीत गाएर नेपाली लोक स्टारमा पहिलो गोल्डेन स्टार प्राप्त गरेका थिए । दुई पटकसम्म आइएमई पर्फमर अफ डे र भोटङ राउण्डमा एक पटक सर्वधिक भोट प्राप्त गरिसकेक थिए ।
दाङ बस्दै आएका रोल्पाका शनि नेपाल लोक स्टारमा सहभागी हुन पहिलो पटक काठमाडौं आएका हुन् । पारिवारिक पृष्ठभूमी सांगीतिक नभए पनि उनलाई गीतसंगीतमा लाग्न परिवारको पूर्ण सहयोग छ । उनले एउटा गीत पनि रेकर्ड गराइसकेका छन् । तर त्यो बजारमा भने आइसकेको छैन । लोकगीतसँगै अरु विधाका गीत पनि उत्तिकै गाउन सक्ने उनलाई राजेशपायल राई, राज सिक्देल, शिव परियार र रामजी खाँड मन पर्ने गायक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank