‘हाम्ले बाजा नबजाउँदैमा समाजले छूत मान्छ त ?’

प्रभाकर गौतम २१ असार २०७६, शनिबार २२:२९

प्रभाकर गौतम

मुगुबाट काठमाडौं छिरेका हिरा बिजुलीलाई फिल्म निर्देशक अनुप बरालको सुझावले आफ्नै गाउँ फर्काइदियो। अनुप भन्थे, ‘संसारभरका दर्शन बुझे पनि हरेक कलाकारले आफ्नै कुरा भन्न सिक्नुपर्छ।’ अनुपको सुझाव हिरालाई मन त पर्यो, सँगै पिरोल्न पनि थाल्यो।

‘मसँग आफ्नो भन्ने के छ?’ यो प्रश्नले लखेट्न थालेपछि उनी काठमाडौंमा टिक्न सकेनन्। उनी मुगु फर्किए र यस्तो काममा लागे, जुन उनको आफ्नो थियो। अर्थात्, उनी अनुपले भनेझैं कलामार्फत् कर्णालीको कथा भन्न थाले। कर्णाली र काठमाडौंको दुरीलाई कलाले जोड्न थाले।

अचेल हरेकपटक कर्णालीबाट काठमाडौं आउँदा उनी त्यहाँको नयाँ सिर्जना बोकेर आउँछन्। यसपटक कर्णाली नाटक ‘पम्फा फूल’ र ‘हुड्के’ नाच लिएर आएका छन्।

हिराले नै निर्देशन र अभिनय गरेको ‘पम्फा फूल’ यही असार पहिलो साता नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय नाटक महोत्सव’ मा मञ्चन भयो। ‘हुड्के’ नाच असार १९ गते जमल, नाचघरमा आयोजित ‘नेपाल नृत्य महोत्सव’ मा देखाइयो।

नाटक होस् वा नृत्य, उनी कर्णालीकै जनजीवन र मौलिक परम्पराबाट टपक्क टिपेर ल्याउँछन्। यति मात्र होइन, उनकै नेतृत्व रहेको ‘कर्णाली आर्ट्स सेन्टर (केएसी)’ एक दशकभन्दा बढीदेखि लोकजीवनका आयाम खोतल्न प्रयासरत् छ। यो संस्था ‘कालो पोथी’ का निर्देशक मीन भामको पहलमा मुगुमा नाटकघर बनाउने भन्दै २०६४ सालमै स्थापना भएको थियो।

यो समूहको पहिलो नाट्य प्रस्तुतिले प्रशंसा पायो। काठमाडौंको गुरूकुलमा मञ्चन भएको ‘कर्णाली दख्खिन बग्दो छ’ पछि मीन र हिरा दुवैको व्यस्तता बढ्यो। मुगुभन्दा काठमाडौंको बास लामो हुन थाल्यो।

यसबीच मीन फिल्म निर्माणमा व्यस्त भए। हिरा भने एक्टर्स स्टुडियो, मण्डला थिएटर र गुरूकुलजस्ता समूहमा जोडिए। यसले झन्डै तीन वर्ष केएसीको गतिविधि सुस्तायो। २०६७ मा केएसी अध्यक्ष भएपछि हिरामाथि संस्थालाई नेतृत्व दिने चुनौती थपियो। उनले ठूलो सपनाको भारले नथिचोस् भनेर सानै काम भए पनि थाल्नुपर्ने निचोड निकाले।

रंगमञ्चको आयाम फराकिलो हुन्छ, जहाँ एकैपटक धेरै विधा अटाउँछन्। यो भेषभुषा, भाषा, साहित्य, संगीत, नृत्य लगायत कला जोड्ने र निखार्ने थलो हो। यसैको फाइदा उठाउँदै केएसीले सांस्कृतिक विशेषतासँग सामाजिक मुद्दा जोड्न पहल गरिरहेको छ। दमाहा, बिनायो, ट्याम्का, नरसिंहा, झ्याम्टी, सनाईलगायत कर्णालीमा मात्रै एक दर्जनभन्दा बढी मौलिक बाजा छन्। ठाडी, देउडा, मागल, पम्फा, झालेलगायत सयौंथरी भाका र शैली छन्। हुड्के नाचदेखि श्रुति परम्परामा बाँचेको भारत/भार्तजस्ता कथावाचन परम्परा पनि छन्।

‘हाम्रो उद्देश्य यी सबैको अडियो, भिडियो, फोटो, फुटेज संकलन गरी लोपोन्मुख संस्कृति प्रयोगमा ल्याउनु हो,’ हिरा भन्छन्, ‘हामी कर्णालीको लोकसंस्कृति र लोककलाकारको पक्षमा काम गर्न पालिकाहरूदेखि वडासम्मलाई झक्झक्याउने तयारी गर्दैछौं।’

यही क्रममा प्रदेश ६ का लोकबाजा, कलाकार र परम्परा उत्थान गर्न सरकारी पक्षलाई लिखित खाका बुझाउन लागेको उनले सुनाए। हिराको मान्यता छ- कलामा समाजको वास्तविकता प्रतिविम्बित हुनुपर्छ। तर, उनी केएसी अध्यक्ष हुँदा माओवादी द्वन्द्वले मुगु र समग्र कर्णालीकै सांस्कृतिक गतिविधि अवरुद्ध थियो।

‘एक दशकको विराममा बजारीया संस्कृतिले नयाँ चुनौती थपिदिएको थियो,’ उनले भने। यस्तो अवस्थामा ज्ञान हस्तान्तरणको वातावरण कसरी बनाउने?

केएसीले यसको निम्ति मुगुमा व्यावसायिक नाटकघर बनाउने सपना त्याग्दै समुदायमुखी काममा जोड दियो। बालबालिकाकेन्द्रित ‘स्टोरी टेलिङ वर्कसप’ चलायो। यस्ता गतिविधिले स्थानीय कथा, गीत र भाषाप्रति नयाँ पुस्तामा सकारात्मक असर पर्न थालेको हिराको अनुभव छ।

उनका अनुसार हिजो खस भाषा बोल्न लाज मान्नेहरू आज मागल गाइरहेका छन्। पुराना पुस्तासँगै हराएका विषयबारे सन्तानले सोधखोज र प्रयोग गर्न थालेको देखेर अभिभावक दंग छन्। खुला आकाशमुनि हुने नियमित सडक नाटकले मुगुका सर्वसाधारणमा रंगमञ्चप्रति आकर्षण बढाएको छ। मुख्य कारण नाटकको रूपरङ र चालढाल नै हो, जुन सबै स्थानीय छ। ‘नाटकले के हुन्छ भन्नेहरू अचेल खानै छाडेर हेर्न आउँछन्,’ अनुहार हँसिलो बनाउँदै हिरा भन्छन्।

कर्णालीवासीको जीवनमा नाचगान, वाद्यवादन, जात्रापर्व नित्यकर्मकै हिस्सा हुन्। त्यही भएर परम्परागत मौलिक संस्कृतिले यहाँ लामो समयदेखि निरन्तरता पाएको छ। यो परम्पराभित्र जातीय र वर्गीय मुद्दा पनि वर्षौंदेखि जेलिएर बसेका छन्। हिराको दाबी छ, कर्णालीका हकमा ९० प्रतिशत कला दलितकै हातमा छ। चाहे मूर्तिकला होस् वा संगीत। केएसीमै पनि दलित विद्यार्थी धेरै छन्।

यो परिवेशले केएसीका हरेक गतिविधिमा जातको मुद्दा जोडिएर आउँछ। ‘केएसी दलितको राजनीतिक लडाइँ लड्ने ठाउँ हैन। तर, दलितका सांस्कृतिक मुद्दा र उनीहरूले बजाउने बाजाको वकालत गर्ने ठाउँ बनेको छ। कर्णाली संस्कृतिका मुख्य संरक्षक नै दलित हुन्। अभिजात वर्गको व्रतबन्ध, बिहेदेखि बालीनालीका कर्मसम्म दलितकै संगीतले पवित्र र जीवन्त बन्छ,’ उनी भन्छन्।

प्राध्यापक अभि सुवेदीले भनेजस्तै यो सांस्कृतिक विशिष्टतालाई समाजले सम्मान गर्नुपर्ने हो। तर, यसैलाई शोषणको आधार बनाइयो। जातका आधारमा हुने हेलाहोचाका कारण नयाँ पुस्तामा बाजागाजाप्रति वितृष्णा उत्तिकै छ। उनीहरू हिरालाई सोधिरहन्छन्, ‘जातैले पाइल्यो भनेर हामीलाई अछूत मान्ने, हाम्रो सीप र पुर्खाको योगदान कदर नगर्ने भएपछि बाजा किन बजाउने? हुड्के किन नाच्ने?’ ‘हाम्ले बाजा नबजाउँदैमा, हुड्के ननाच्दैमा यो समाजले हामीलाई छूत मान्छ त?’ हिरा उनीहरूलाई यत्ति मात्र भन्छन्।

कला दलितमा हिनताबोध गराउने माध्यमको साटो गर्वबोध गराउने आधार बन्नुपर्ने हिराको बुझाइ छ। केएसीले यसैमा प्रयास गरिरहेको उनी बताउँछन्। ‘हामी एकातिर जातको माध्यमबाट कला र अर्कातिर कलाका माध्यमबाट जात प्रवर्द्धन गर्ने दोहोरो काम गरिहेका छौं,’ उनले भने। केएसी सदस्यहरूले अघिल्लो वर्ष गमगढी बजारमा दमाहा बजाएर देउसी खेलेका थिए। ‘दमाईले बजाउने बाजा’ रूपमा सीमित दमाहा बजाउनेहरू गैरदलित पनि थिए। खत्री, ठकुरीजस्ता ‘उच्च’ जातले ‘दमाई बाजा’ बजाउनु सकारात्मक मान्छन् उनी। सहरमा पढेका र नामसमेत कमाएका कलाकारले नेतृत्व लिएका यस्ता अभ्यासले नयाँ पुस्तालाई प्रेरित गर्ने नै भयो।

जीविकोपार्जनसँग नजोडिँदा परम्परागत कला संकटमा पर्छ भन्ने बुझेका हिराले स्थानीय कलाकारलाई पैसा लिएर मात्रै बाजा बजाउन जोड दिइरहेका छन्। दमाहा बजाउनेहरूको व्यावसायिक ‘ब्यान्ड’ बनाई पारिश्रमिक तोकेरै काम गर्ने उनको इच्छा छ। केएसीको सञ्जाल कर्णाली क्षेत्रभर फैलाउने लक्ष्य लिएका हिराले जुम्लामा काम थालिसकेका छन्। मुगुबाट सुरू ‘कर्णाली चिनाउने अभियान’ मा थप सांस्कृतिक पक्ष समेटिने अनुमान गर्न सकिन्छ। केएसीको काम र गतिविधिसँग जोडिँदा काठमाडौंमा कला प्रस्तुत गर्न पाइने मौका छ। यस्तै मौका लिन र दिन हिरा कहिले एक्लै, कहिले केएसी सदस्यका साथ काठमाडौं आइरहन्छन्।

केएसीका यिनै कामले मुगुका सर्वसाधारणको सहयोग बढेको छ। कथित उच्च जात र वर्गका मान्छेले भने बेवास्ता नै गरिरहेका छन्। बाजा, संस्कृति, कला जे भन्यो घुमिफिरि कुरा दलितकै आउँछ। उनीहरू हामीलाई बाजा बजाउन लगाएर, हाम्रो कुरा बेचेर मात्रै खान चाहन्छन्,’ हिरा आफ्नो दिक्दारी पोख्छन्। उनको आरोप छ, ‘हाम्रा सांस्कृतिक मुद्दा हामीले अपनाएका छौं, तर अर्को समुदायले सोच्दा हुन्, दमाईको पक्षमा मैले किन बोल्ने ?’

वर्षौंको अनुभवबाट हिराले बुझेको सबभन्दा महत्वपूर्ण कुरा यही हो- दलित समुदायको सांस्कृतिक मुद्दा भावना र संवेदनासँग जोडिन्छ। यो पेसासँग दलित समुदायको अस्मिता र आत्मसम्मानको मुद्दा जोडिएको छ। हिरा आफू पनि दलित प्रतिनिधि बनेर यो कुरा महशुस गर्न सक्छन्। दलितका तमाम मुद्दा आत्मसात गर्छन्। उनी यसैमा सक्रिय र प्रतिबद्ध छन्।  सायद, हिरासँग अब ‘आफ्नो भन्ने’ धेरैथोक छ।

याे सामाग्री सेतोपाटी डटकमबाट साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank