प्रेम सुनार
बुटवल –गुल्मीको वाग्ला गाउँको एक टोलमा सदियौं पुराना दुई वटा पँधेरा छन् । करिव ५० मिटर माथि एउटा र त्यसको तल अर्को पँधेरो रहेको छ । माथिल्लो पँधेराको नाम ‘बाहुनको पँधेरो’ र तलको नाम ‘दमैको पँधेरो’ रहँदै आएको छ ।
पँधेराहरुमा पुग्दा एकथरी महिलाहरु तलको पँधेरामा पानी भर्दै थिए भने अर्काथरी महिलाहरुमाथि बाहुनको पँधेरोमा थिए । माथिल्लोमा पानी सबै जातजातीका महिलाहरुले दुख सुखका कुरा गर्दै पानी भर्दै थिए ।
तलको पँधेरोमा पनि त्यस्तै थियो । तल ‘दमैको पँधेरा’मा कक्षा १२ मा अध्ययनरत चौतरा गाउँकी सीता पुरी सहित दुई जना ब्राम्हण समुदायका युवतीहरु पानी भर्दै थिए । त्यस अघि त्यसै पँधेरामा तीन दलित र दुई गैरदलित किशोरीले पानी बोकेर उकालो लाग्दै थिए ।
उनै सीता पुरीले भनिन्–‘विहान ८ बजे देखि पानी भर्न थालेका हौं , अहिले साढे दश बजे सम्म पनि एउटा गाग्री भर्न सकेका छैनौं ।’ उनले थपिन्–‘ हिजो हाम्रा बाबु बाजेका पालामा त दमै र बाहुनको पँधेरो भन्दै हामी बाहुनहरु माथिल्लो पँधेरोमा र तल परियार जातीहरु तलको पँधेरोमा पानी भर्ने गर्थे अरे अहिले त हामीलाई मतलव नै छैन , जुन पँधेरोमा पानी सङलिन्छ त्यसैमा पानी भर्छौं ।’
गत वर्ष धुर्कोट गाउँपालिकाले ती दुई वटै पँधेराको संरक्षण ग¥यो । ढलान पलास्टर गरे पछि पानी केहि सङलिन थालेको छ तर पनि सोचे जस्तो पानी जम्न नसके पछि एक गाग्रो पानी भर्न दुई घण्टा कुर्नुपर्छ । जुन पँधेरोको मुहान माथि छैन तल ढुङ्गाबाट बुलबुल रसाउँदै माथी जम्मा हुने गर्दछ ।
रातको दुई बजे वडाध्यक्षको श्रीमती पँधेरोमा
‘आज म रातको दुई बजे पँधेरोमा पुगेकी थिएँ । म पुग्दा चारपाँच वटा गाग्री पुगी सकेका रहेछन् । मैले मेरो गाग्री साढे चार बजे तिर भरेर फर्किएकी हुँ , धुर्कोट गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष हिमप्रसाद पन्थीकी श्रीमती नमुना पन्थीले भनिन् पहिला त आ–आफ्नो पँधेरोमा पानी भर्ने गरिन्थ्यो , अहिले त हामीलाई दमै कामी बाहुनको पँधेरो भन्ने मतलवै छैन । जता पानी भर्न पायौं त्यतै भर्ने गरेका छौं ।’
अहिले त धेरै चेन्ज आयो
चौतरा गाउँकी सामाजिक क्षेत्रमा सक्रिय महिला शारदा परियारले पछिल्लो चरण छुवाछुत विभेदमा धेरै परिवर्तन आएको भन्दै सन्तोष व्यक्त गरिन् । ‘गाउँमा पहिला जस्तो छैन सर , धेरै चेञ्ज आएको छ , पहिला–पहिला ती दुई वटा पँधेराको नाम दमै र बाहुनको पँधेरो राखेर आ–आफ्नो पँधेरोमा पानी थाप्ने गरिन्थ्यो , अहिले त कसैलाई मतलव छैन , जता पानी जम्मा हुन्छ त्यतै मिलेर थाप्र्छाै, एउटै पँधेरोमा लाईनमा बस्छु , पहिला जस्तो तर्किने पनि गर्न छाडिएको छ । ’
५० बर्षको नेटो काटेका र त्यस गाउँमा ३६ बर्ष देखि कटुवाल काम गरेका भोजबहादुर परियार भन्छन्–‘ पहिला पहिला दुई जातीका दुई वटा पँधेरा थिए । हाम्रो पँधेरोको पानी ब्राम्हणहरुले खाँदैनथे अहिले त त्यही हाम्रो पँधेराको पानी सबैलाई चलेकोले खुशी लागेको छ । ’
घरमा खान, बास बस्न पँधेरो
चौतरा बजारकी होटल सञ्चालक कमला गिरीले आफुहरुले पानीको निकै असाध्यै समस्या खेप्दै आएको बताईन् । उनले भनिन् कहिले काँही त पालो चाँडै पार्नका लागि खान खाएर बास बस्न हामीहरु तल पँधेरामा पनि गईयो ।
रातको दुई, तीन बजे चार घण्टा लगाएर एक गाग्रो पानी भरेर पनि ल्याईयो । वडाध्यक्ष हिमप्रसाद पन्थीले पनि पहिला पहिला खाना खाएर पँधेरोमा जाने , पानी भर्दा भर्दै त्यही पँधेरोका छतमा मानिस निदाउने गरेको बताए ।
दमैको होईन सबैको बनायौं
वडाध्यक्ष पन्थीले बाबु बाजोको पालामा यस टोलमा दलित समुदाय मध्ये बढि मात्रामा दमाई जातीका दलितहरु बस्ने भएकोले दमैको पँधेरो र अर्को बाहुनको पँधेरो भन्ने चलन रहन गएको बताए ।
‘विभेद र अपमानजनक नामकरण भए पछि आफुहरु जनप्रतिनिधी हुनासाथ बाहुन र दमैको पँधेरो नभनौ, सबैको पँधेरो भनौ भन्दै संरक्षण गरेर राम्रो बनाएका र्छौ , अहिले दुबै पँधेराको नाम नै सबैको पँधेरो रहन गएको छ ’–उनले भने–‘ यस वाग्लामा शिक्षित मानिसहरु बस्ने भएको र यहाँका दलित समुदाय समेत शिक्षित सचेत र सभ्य भएकोले अहिले छुवाछुत विभेद हुन छाडेको छ । ’
उनका अनुसार त्यस पँधेरोमा ३० घर दलित समुदाय र करिव ५० घरधुरी गैह दलितले पानी पिउँदै आएका छन् । त्यस टोलको खानेपानी समस्या समाधान गर्न केन्द्रिय बजेट १ करोड ५ लाख र थप ४० लाख लागतमा बाईखोला लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाको काम सम्पन्न हुने चरणमा छ ।
त्यसले त्यहाँका ३ सय ९ घरधुरीमा एक घर, एक धारा कार्यक्रम सम्पन्न हुनेछ । त्यस्तै अन्य तीन वटा लिफ्टीङ्ग सिस्टम खानेपानी योजना पनि सञ्चालनको चरणमा छन् । त्यसबाट धुर्कोट गाउँपालिकाको एक घर एकधारा कार्यक्रम वाग्लामा ९ सय १३ घरधुरमा दुई बर्ष भित्र सम्पन्न हुनेछ ।
Leave a Reply