जहाँ दलितलाई कुकुर–कुकुर्नी भनेर बोलाइन्छ !

प्रेम सुनार ३२ जेष्ठ २०७६, शनिबार १७:३८

 

प्रेम सुनार
बुटवल – मान्छेको नाम कुकुर–कुकुर्नी भनेकाे सुन्दा सबैलाई एकछिन अचम्म लाग्न सक्छ । तर अचम्म मानुपर्दैन । यही कुकुर र कुकुर्नी नामबाट चिनिन्छन्, ढोरपाटन नगरपालिका वडा ८ बोबाङ्ग गाउँका कुकुर्नी कामी र कुकुरे कामी अहिले पनि । आमा कुकुर्नी र बाबु कुकुरे भनेर गाउँलेहरुले बोलाउँदा छोराछोरीलाई कति पनि अचम्म लाग्दैन् । छोराछोरीलाई अचम्म र दुख लागेर के गर्नु ? उनीहरुलाई अनागरिकबाट नागरिक बनाउन दिइएको नागरिकतामै कुकुरे र कुकुर्नी नाम लेखिए पछि !
गाउँ घरमा विवाह, चाडपर्व सबै मेला पर्वहरुमा उनीहरुलाई यही नामबाट बोलाउँदा आफुहरुको नाम अरुले थाहा पाउँछन् कि भनेर निकै दुख लाग्ने गरेको कुकुर्नी कामीले बताइन् । उनलाई सबै भन्दा चिन्ता त छोराछोरीको नागरिकतामा बाबु आमाको नाम लेख्दा कुकुर्नी भनेर लेखिनेमा छ ।
माइती घरमा बाबु आमाले मायाले काली नाम राखेर बोलाए पनि न्वारनको नाम कुकुर्नी नभएको उनले बताइन् । पछि गाउँ घरमा झगडा हुँदा कुकुर्नीजस्ती भनेर भन्दा पछिसम्म सबैले कुकुर्नी नामबाट बोलाउन थालेको उनले बताइन् । गाउँमै चुनावको बेला भोट हाल्ने निुहँमा आफ्नो नाम कुकुर्नी कामी भनेर लेखेर आएपछि सबैले बोलाउने नाम नै कुकुर्नी भएछ । त्यही नामबाट नागरिकता लिन अनकनाउँदा समेत सरकारी कर्मचारीका कारिन्दाहरुले कुकुर्नी नामबाट नागरिकता दिएको उनको भनाई छ ।
नागरिकतामै उनीहरुको नाम कुकुर र कुकुर्नी लेखेर दलित समुदायका मानिसलाई यतिसम्म हिंसा गरेको देखियो । यहाँका दलितहरुको नागरिकता हेर्दा र सार्वजनिक स्थानमा समेत यही नामबाट बोलाइन्छ । मान्छे भएर पनि पशुको जस्तो नामको दर्जा पाउनु र त्यही नामबाट गाउँभरी चिनिनु असाध्यै पीडा हुने गरेको कुकुरे कामीले बताए । ‘हामीलाई पशुको जस्तो नामले बोलाउँदा साह्रै नराम्रो लाग्छ , यो नाम परिर्वतन गर्नुप¥यो । ’

गाउँभरी नै यस्तै नाम
यो बाग्लुङ्गको ढोरपाटन नगरपालिकाका दलितहरुले भोग्दै आएको हिंसाको घटना हो । सुन्दा नै पीडा बोध हुने नाम नियोजित रुपमा राखिएको दलित समुदायको बुझाइ छ । उनीहरुको मात्रै होइन कि यहाँका अन्य दलित समुदायको नाम मशान, लाटी, ख्याउँते, ढल्ले, आँखे , आँखी, काले, काली र भुन्टे जस्ता नाम नागरिकतामा छन् ।
बोबाङ्ग गाउँमा बसोबास गर्ने दलित समुदायको ठुलो बाहुल्य रहेको छ । जहाँ ७० प्रतिशत भन्दा बढि दलित समुदाय बसोबास गर्छन् । त्यसै ठाउँमा न्युन संख्यामा रहेका अरु समुदायले विभेद गर्छन् । बिशेषतः त्यस्ता नाम राखी दिने ज्योतिष र त्यही नाम नागरिकतामा लेखि दिने तत्कालिन गाविस सचिवहरु पीडक भएको वर्तमान पिढीँको भनाई छ ।

छोराछोरीको चिन्ता
अहिलेका युवापुस्ताहरु आधुनिक नाम राख्न चान्छन् । सबैले मन पराउने नाम आफ्नो र आफ्नो परिवारको होस भन्नेमा छन् । तर बोबाङ्ग गाउँमा हुँर्किएका दलित युवापुस्ताहरुले भने आफ्नो आमा बाबुको नामलाई अभिशाप मान्छन् । किन कि स्कूलदेखि जे गर्दा पनि नागरिकता आवश्यकता पर्दा सहज नागरिकता देखाउन समेत गाह्रो लाग्ने गरेको आशिष विकले बताए । आफ्नो नागरिकतामा समेत बाबु आमाको नाम राख्दा पीडाबोध हुने नाम लेख्नुपर्ने हँुदा निकै दुख लागेको उनले बताए ।
ढोरपाटन जनवादी विद्यालयका प्रधानाध्यापक देवबहादुर विश्वकर्मा भन्छन् ‘त्यस्ता गाली गलौजका नाम राखि दिनेहरुको खोजी हुनुपर्छ र त्यस्ता नागरिकताहरु शुद्धिकरण गरिनुपर्छ । नत्र के ती कुकुरे कुकुर्नी लेखिएका व्यक्तिहरुका छोरा, नाती, पलाती सम्म कुकुर कुकुर्नीका सन्तान भई रहनु पर्ने ? ’

रुप–रंगका आधारमा नाम
यस्तो नाम जुराई दिने यहाँका हिजोका सामन्ती ज्योतिषीहरु हुन् । त्यसले गर्दा अहिले त हामी ब्राम्हण ज्योतिषकोमा जान छाड्यौ । हाम्रै जातका जैसी बनाएका छौं । दलितका जैसी नाम गंगे कामी हो ।

ब्राम्हण ज्योतिषी कहाँ जाने हो भने अहिले पनि त्यस्तै नाम राखी दिन्छन् । जन्मिने सन्तानबारे अनेक अफवाह फैलाई दिन्छन् । तेरो सन्तानको नाम यस्तो नराख्ने हो भने यति महिना वा वर्षमा मर्छ भनेपछि रुप–रंगका आधारमा नाम राखिन्छ । त्यही रुप रंङ्ग र जिउ डालको आधारमा राखिएको नाममा नागरिकता दिएको छ ।

ज्योतिषीले देखाउँछन् अरबको सपना
ब्राम्हण ज्योतिषी कहाँ भर्खर जन्मेको सन्तानको चिना हेराउँदा तिम्रो छोरा पशु चौपायाँबाट धन लाभ गर्छ भन्ने अर्थी दिन्छन् । साउदी अरवमा पानी जहज चढ्न जान्छ पनि भन्ने गर्छन् । आफ्नो जातको सन्तानको चिना हेराउँदा भने डाक्टर, ईन्जिनियर र पाईलट बन्छ भन्छन् । त्यही मानसिकताको शिकार भएका छन् यहाँका दलित समुदाय पनि । मनोवैज्ञानिक रुपमै हिनताबोध सिर्जना गराईएको छ ।

सच्याउन सकिन्छ नागरिकता : सिडियो
बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले दलित समुदायलाई हिनताबोध हुने गरी जारी भएका नागरिकता सच्याउन सकिने बताएका छन् । दलित समुदायलाई थप विभेद गर्ने नाम थर रहेका व्यक्तिहरुले सच्याउन चाहे प्रशासनले सच्याएर नागरिकता बनाई दिने क्षेत्रीले बताउँछन् । हामीले त्यस्ता गाली गलौज गरी बनाईएको नागरिकताको नाम थर अन्य स्थानीयमा पनि पाईएकोले सच्चाई दिएका छौं, उहाँहरुले पनि सच्याउन चाहे हामी सच्याइ दिनेछौं । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank