जातीय विभेद अन्त्यका लागि सामुहिक सहभोजमा नगरप्रमुखले भने,‘छुवाछूत मुक्त नगरपालिका बनाउछु ’(फोटो फिचर)

दलित अनलाईन २४ चैत्र २०७५, आईतवार ०५:२५

कपिलबस्तु– जातीय विभेद र छुवाछुतको अन्त्यको लागि महाकाली मेची पदयात्रामा रहेका अभियन्ताहरुलाई कपिलबस्तुको शिवराज नगरपालिकामा स्वागत गर्दै वृक्षारोपण तथा सामुहिक सहभोजको आयोजना गरिएको छ ।
शिवराज नगरपालिकाको आयोजनामा चन्द्रौटाको दुर्गा मन्दिर परिसरमा वृक्षारोपण तथा सामुहिक सहभोजको आयोजना गरिएको हो ।
जातीय विभेद र छुवाछूतको व्यवाहारिक रुपमै अन्त्य गरौँ भन्ने मूल नारा सहित महाकालीबाट मेचीसम्म पदयात्रामा निस्किएका होमराज आचार्य, अशोक दर्नाल र रिता परियारको टोली कपिलबस्तुको चन्द्रौटामा आएको अवसरमा शिवराज नगरपालिकाका स्थानीयबासी र दलित अधिकारकर्मीहरुको सहभागितामा स्वागत गरिएको थियो ।
पदयात्राका अभियन्ताहरु तथा स्थानीयहरुको सहभागितामा विभेद अन्त्य गरौ लगायतका नारा सहित शुक्रबार सडकमा लेखन गरिएको थियो भने शनिबार शिवराज नगरपालिकाको दुर्गा मन्दिर परिसरमा वृक्षारोपणसंगै सहभोज गरिएको थियो ।
जातीय छुवाछूत समाजको कलंकको रुपमा रहेको भन्दै आफ्नो नगरपालिकालाई केही वर्षमा छुवाछूत मुक्त नगरपालिका बनाउने शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए । ‘ मैले केही वर्षमै शिवराज नगरपालिकालाई छुवाछूत मुक्त नगरपालिका बनाउछु , यो मेरो प्रतिबद्धता हो’उनले भने,‘ यदि कसैले छुवाछूत गरे म जस्तोसुकै कारबाही पनि गर्न तयार छु । ’
जातीय छुवाछूतका मुद्दामा प्रहरी प्रशासनलाई राजनीतिक दबाबमा परेर जागिर जोगाउने दाउँपेचमा लाग्दा दोषीहरु उम्काउने गरेको ईलाका प्रसासन कार्यालय चन्द्रौटाका प्रमुख नरवहादुर खड्काले बताए । ‘छुवाछूतको मुद्दा राजनीति हस्तक्षेपको कारण प्रहरी प्रशासनबाट गल्ती हुन्छ ,उनले भने ,‘राजनीतिकरणले दलित समुदायमाथिको विभेद कायम गरेको छ । ’


पूर्वसभासद् तथा दलित आन्दोलनका अगुवा विनोद पहाडीले जातीय छुवाछुतका घटनाहरु एकपछि अर्को गदै श्रृंखलाबद्ध बढ्दै गर्दा कारबाही गर्ने निकाय बेखबर हुनु र संविधानले दिएको अधिकारलाई कार्यान्वयन गराउन लडाई लाड्नुपर्ने अवस्था आउनु राष्ट्रको लागि लज्जाको विषय भएको बताए । ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा सम्मानजनक रुपमा दलित समुदायलाई बाँच्न अझै कठिन छ, कानुनहरु बनेका छन् तर कार्यान्वयन हुँदैन,उनले भने,‘यो राष्ट्रकै लागि लज्जाको विषय हो । ’
विभिन्न संघ संस्थाका प्रतिनिधी, जनप्रतिनिधी, पत्रकार, समाजजसेवी र नागरिक समाजका अगुवाहरुको सहभोजमा सहभागितामा रहेको थियो । राजपा नेपालका केन्द्रीय सचिव रविदत मिश्रा, नेपाली कांग्रेसका युवा नेता अजय थापाले संम्बोधन गरेका थिए । सहभोज कार्यक्रम दलित अधिकारकर्मी मिना परियारको संचालनमा सम्पन्न भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank