छुवाछुत अन्त्य भएको सन्देश दिन महायज्ञमा दलित समुदायकाे पूजा !

दलित अनलाईन २१ फाल्गुन २०७५, मंगलवार २३:२९

वीरगञ्ज- वीरगञ्जमा जारी गायत्री अश्वमेध महायज्ञमा सहभागी भएका दलित समुदायका अगुवाहरुले छुवाछुतको विभेद नभएको भन्दै खुशी व्यक्त गरेका छन् । छुवाछुत अन्त्य भएको सन्देश दिन उनीहरुले आदर्शनगरस्थित यज्ञस्थलमा गएर हवन गरेका थिए ।

धिरजकुमार पासवान, निला रामलगायतका दलित अगुवाहरुले आफूहरुले महायज्ञमा परिवारसहित गएर हवन र पूजापाठ गरेर आएको बताएका छन् । ‘ऐन कानूनमार्फत छुवाछुतको अन्त्य भएको र त्यस्तो विभेदलाई गैरकानुनी मानेको भएपनि व्यवहारमा दलित समुदायले अझैपनि विभेदको सामना गरिरहनु परेको अवस्था छ । अझ पूजापाठको समयमा हामीलाई धेरै घृणा गछन्,’ उनीहरुले भने, ‘वीरगञ्जमा जारी महायज्ञमा त्यस्तो देखिएन । अन्य समुदायका मानिसहरुसँगै बसेर हवन र पुजापाठ गर्‍यौं ।’

केही महिनाअघि बाराको प्रसौनीमा लागेको यज्ञमा दलित समुदायको सहभागितालाई लिएर विवादसमेत भएको थियो ।

पूजापाठ र हवनमा सहभागी गराएर दलितमाथि भइरहेको विभेदलाई अन्त्य गर्न महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गरेको धिरज पासवानले बताए । ‘हामीले आजसम्म अन्य समुदायसँगै बसेर पूजापाठ गर्न पाएका थिएनौं, महायज्ञले त्यो अवसर दिलाएको छ । एकदमै खुशी लागेको छ,’ उनले भने, ‘दलित माथि विद्यमान छुवाछुतको विभेद अन्त्य गर्न यसले सकारात्मक सन्देश दिन्छ । ‘

महायज्ञमा दलित मात्रै नभएर मुस्लिम समुदायसमेत सहभागी भएको वीरगञ्ज महानगरपालिकाका मेयर एवं यज्ञ आयोजक समितिका संयोजक विजयकुमार सरावगीले दावी गरे । ‘दलित मात्रै होइन, मुस्लिम समुदायका मानिसहरु पनि महायज्ञमा सहभागी हुनुभएको छ,’ उनले भने, ‘गायत्री महायज्ञमा कुनैपनि प्रकारको विभेद छैन । मानव मात्रको कल्याणका लागि महायज्ञ गरिएको हो ।’

जातीय विभेद, छुवाछुत प्रथाको अन्त्य, धार्मिक सहिष्णुता कायम गरी समाज रुपान्तरणको निम्ती गायत्री अश्वमेध महायज्ञ आयोजना गरिएकोले महायज्ञमा आहुति दिन आउन भन्दै आयोजक समितिका संयोजक सरावगीले दलित समुदायलाई सार्वजनिक रुपमा आग्रह गर्दै आएका थिए ।

फागुन ६ गते नागरिक संवाद मञ्चले दलित समुदायसँग गरेको अन्र्तक्रियामा नगर प्रमुख सरावगीले दलित समुदायलाई महायज्ञमा सहभागी हुन आग्रह गरेको मञ्चका अध्यक्ष ओम प्रकाश सर्राफ बताउँछन् ।

सरावगीले महायज्ञ शुरु हुनु अघि फेसबुकलगायतका सामाजिक सञ्जाल मार्फत आग्रहसमेत गरेका थिए । ‘रुढीवादी समाजले भिराएको दलित (छुवाछुत)शब्दको अन्त्य गर्न अश्वमेधमा आहुती दिन सम्पूर्ण दलित समुदायलाई भावपुर्ण निमन्त्रणा गर्दछौ,’ उनले लेखेका छन् ।

२५१ कुण्डीय गायत्री महायज्ञमा मंगलबार बिहान ७ बजेदखि दिउँसो ३ बजेसम्म हवन गरिएको छ भने साँझ दीप पुजन हुँदैछ ।

दीप पुजनका क्रममा यज्ञ स्थलमा एक लाख एक बत्ति बालिने र नगरबासीलाई घर घरमा समेत दीपावली गर्न आग्रह गरिएको यज्ञ आयोजक समितिले जनाएको छ ।

फागुन १९ गतेदेखि जारी महायज्ञ भोलि (बुधबार) सम्पन्न हुनेछ । महायज्ञमा निःशुल्क स्वास्थ्य शिविर, पुस्तक प्रदर्शनी समेतको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank