संविधानले व्यवस्था गरेको कानूनको कार्यान्वयन गर्न कोहलपुर नगरपालिका सँग माग,कार्वाही गरेर देखाउन चुनौती
कोहलपुर नगरपालिका वडा नं २ आनन्दनगरका प्रगतिशिल दलित महिला जडीबुटी कृषि समूहले भोग चलन गर्दै आएको कोहलपुर २ ईन्द्रेणी चोक स्थित १ विघा ३ कट्ठा जग्गा बाट कोही कसै लाई १ धुर जग्गा पनि नदिने दलित महिला नेतृ तुलसी सुनारले उद्घोष गरेकी छन् ।
नेतृ सुनारले वर्षौ देखि हिडिरहेको बाटोमा खाल्डो खन्ने, ह्युम पाईप राखेर बाटो छेक्ने,गत वर्ष २१ मार्चमा दलित कुट्ने उद्देश्यका साथ कोहलपुरका मान्छे बटुल्ने वडाध्यक्ष कर्ण ब. विसिले यही प्रकृतिको घटना गएको बुधबार फागुन ८ गते यस्तै हर्कत गरेको भन्दै दलित सरोकार मञ्चले जातपात छुवाछूतको कार्वाही र पैसा र शक्तिको बलमा बन्द गरिएको बाटो नखोलुञ्जेल अनवरत संघर्षमा जाने निर्णय गरेको बताईन् ।
बिहिबार कोहलपुरका राजनीतिक दल र नेताहरु लाई ज्ञापन पत्र बुझाएको दलित सरोकार मञ्चले शुक्रबार संविधान सभा सदस्य पूर्वमन्त्री दल ब. सुनार,दलित गैर सरकारी संस्था महासंघका नेता नन्द विक,नेपाली काँग्रेसका नेता कृष्ण विक रसाईली,नेता रामकृष्ण विक,खजुरा गाँउपालिका उपाध्यक्ष एकमाया विक,बैजनाथ गाउपालिका उपाध्यक्ष शारदा रेग्मी बिक,दलित मुक्ति मोर्चा बाँकेका अध्यक्ष अमर विक,उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष लिल ब. विक,नेपाल दलित संघ बाँकेका अध्यक्ष कृष्ण विक लाई जातिय भेदभाव तथा छुवाछूत विरुद्धको आन्दोलनको नेतृत्व गर्न ज्ञापनपत्र बुझाएका थिए ।
दलित सरोकार मञ्चका सदस्य ईन्द्र विकले जानकारी दिएका छन् । दलित नेतृ तिला बिकका अनुसार आज शनिबार गोप्य स्थानमा दलित आन्दोलनका राष्ट्रिय नेताहरु सहित बसेर आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए ।
दलित सेवा संघका केन्द्रिय अध्यक्ष ईश्वरी विक र दलित गैह्र सरकारी संस्था महासंघका केन्द्रिय महासचिव जेवी विश्वकर्माले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सरकार लाई छुवाछूत दण्ड कसुर सजाय ऐन अनुसार कार्वाही गरेर देखाउन चुनौती दिएका छन् । दलित नेताहरुले संविधानले व्यवस्था गरेको कानूनको कार्यान्वयन गर्न कोहलपुर नगरपालिका सँग माग गरेका छन् ।
Leave a Reply