११ वर्षीया बालिका दितिया रसाइलीकाे बलात्कारपछि बीभत्स हत्या प्रकरण
राजकरण महतो
ढल्केवर (धनुषा) – धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरका देवनारायण रसाइलीलाई आगोले घर खरानी भएको अस्ति जस्तो लाग्छ । तर एक महिना भइसक्यो । आगोको पीडा बिर्सन नपाउँदै उनको परिवारमा अर्काे वज्रपात पर्यो— छोरीलाई बलात्कारपछि जलाइयो । नौ वर्षीया कलिली छोरी दितियाको
जलाएर बीभत्स हत्या गरे, पापीहरूले ।
९० वर्षीया हजुरआमा सूर्यमायाले जब नातिनीको हत्या भएको थाहा पाइन्, उनी मूच्र्छा परिहालिन् । दितिया हत्याका कारण सूर्यमाया मात्र होइन, उनको परिवार, नातागोता, इष्टमित्र पनि गहिरो शोकमा छन् । घरमा रुवाबासी चलेको छ ।
चुलोमा आगो बलेको छैन ।
‘राम्ररी संसार देख्न नपाउँदै नातिनीको इज्जत लुटेर अपराधीले जलाई मार्यो’, सूर्यमायाले भनिन्, ‘कुन पापीको नजर लाग्यो, थाहा भएन । विवाहमा नाच्दै गरेकी मेरी नानीलाई उखुखेतमा
लगेर मारेर फालिदियो ।’
दितियाको बीभत्स हत्याबारे शनिबार सुनाउँदै गर्दा सूर्यमाया नातिनीलाई सम्झिएर भक्कानिइन् । गला अवरुद्ध भयो । छिमेकीको वैवाहिक उत्सवमा बुधबार अबेरसम्म नाच्दै गरेकी स्कुले बालिका दितियाको शव बिहीबार बिहान जलाइएको अवस्था गाउँलेले फेला पारेका थिए ।
बलात्कारपछि जलाइयो
‘नाचिरहेकी दितियालाई कसैले उठाएर उखुबारीमा लगेर बलात्कार गर्यो । बालिकाले कुरा खोलिदिने डरले कुटेर हत्या गर्यो । प्रमाण नष्ट गर्न पापीहरूले उनको लासै जलाइदियो’, बालिकाका काका देवराजले भने, ‘निर्मम तरिकाले अवोध बालिकाको हत्या भएको छ । हामी कोही सुरक्षित छैनौं । घाँस–दाउरा गर्न जान पनि चेलीबेटी डराइरहेका छन् ।’ दितियाको घर धनुषाको ढल्केवर चोकदेखि चार किलोमिटर उत्तर–पूर्वमा पर्छ । बालिकाको हत्या भएको चार दिन बितिसक्दा पनि प्रहरीले हत्यारालाई पक्रन सकेको छैन । दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै महिला अधिकारकर्मीले शनिबार सडकमा प्रदर्शन गरे ।
एक्ली सन्तान
दितियाको परिवारमा बुबा देवनारायण र हजुरआमा सूर्यमाया थिए । तीन वर्षकै उमेरमा दितियाकी आमा पार्वती पोइला गइन् । उनको लालनपालन हजुरआमा र काकी मीराले गर्थे । प्रस्ट बोल्न नसके पनि दितिया पढ्नमा तेज थिइन् । घरनजिकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा दुईमा पढथन् । बुधबार छिमेकी सुमित्रा थापाकी छोरी मन्दिराको विवाह थियो । गाउँले सबैलाई बिहेभोजमा निम्तो थियो । महोत्तरीको गौशाला रामनगरबाट जन्ती आएका थिए ।
परिवारमा बज्रपात
बुवा देवनारायण सुस्त मनस्थितिका छन् । उनको एक मात्र छोरी हुन् दितिया । छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना बुनेका थिए उनले । सात वर्षअघि श्रीमतीले छाडेर गए पनि उनले छोरीको मुख हेरेर अर्को विवाह गरेनन् । लगत्तै बुवा कृष्णवीरलाई गुमाए । एक महिनाअघि उनको घर आगलागीबाट खरानी भयो । अन्नपात, लत्ताकपडा, नगद जल्यो । घर जलेपछि देवनारायण भाइको घरमा बस्थे । ओत लाग्ने सानो घर थियो त्यो पनि जल्यो । बिरामी पर्दा पानी तताएर खुवाउने छोरी पनि छैनन् उनीसँग ।
हजुरआमा सूर्यमायाको बुढेसकालको साहारा थिइन् दितिया । बालिकाले हजुरआमालाई खाना खुवाउने, लुगा धोइदिने, पसलबाट सामान किनेर ल्याइदिने गर्थिन् । ‘अब यो बूढीआमाको स्याहार कसले गर्छ, पानी ल्याएर खान कसले दिन्छ’, हजुरआमाले भनिन् । सात वर्षअघि हजुरआमाको काखमा सुत्दा अतालिएर दितियाले खुट्टा फाल्दा उनको आँखामा लागेको घाउ अझै निको भएको छैन ।
‘नाच्न उनलाई औधी मन पर्थ्यो’, दितियाकी काकी मीराले भनिन्, ‘हामी सबै विवाहको भोज खाएर घर आयौं । उनी डिजे बाजामा साथीहरूसँग अबेर रातिसम्म नाच्दै थिइन् । घर आइहाल्छन् भनेर सुतिहाल्यौं ।’
बिहीबार बिहानसम्म घरमा नआएपछि परिवारजनले उनको खोजी गर्न थालेको थियो । केही समयपछि गाउँ नजिकैको उखुबारीमा लास फेला परेको खबर आयो । परिवारजन पुग्दा उनीहरूले रेश्माको आधा जलेको शरीर देखे । शरीरमा लगाएको सबै लुगा जलिसकेको थियो ।
उनले लगाएको स्वेटरको केही अंश बाँकी थियो । जलेको स्वेटरकै आधारमा शव रेश्माकै हो भनेर परिवारजनले पुष्टि गरेका थिए । खेत जोत्न गएकाहरूले उखुबारीमा जलेको शव देखेपछि प्रहरीमा खबर गरेको मिथिला नगरपालिका—३ का वडासदस्य उमेशजंग गजमेरले जानकारी दिए ।
Leave a Reply