७९% मुसहरसँग उभिने पनि जमिन छैन : खुला दिसामुक्त क्षेत्रका नाममा भूमिहीन दलितमाथि अत्याचार

दलित अनलाईन १३ माघ २०७५, आईतवार १२:२५

एक लाख ८५ हजार मुसहरसहित तराईमा पाँच लाख दलित भूमिहीन झुपडीसमेत बनाउने व्यवस्था नगरी शतप्रतिशत घरमा चर्पी बनेको घोषणा

 

सुवास भट्ट

 

चुनावका वेला उनीहरूलाई जग्गा दिने घोषणा गरिन्छ
चुनावपछि चर्पी किन नबनाएको भनेर प्रहरी लगाइन्छ

-नेपालको कुल जनसंख्या २ करोड ९७ लाखको १३.८ प्रतिशत अर्थात् ४० लाख ९९ हजार दलित छन् ।

-दलितमध्ये पहाडमा ९.१% अर्थात् २७ लाख ३१ हजार र तराईमा ४.७% अर्थात् १३ लाख ९६ हजार छन् ।

-तराईका दलितमध्ये ३७ प्रतिशतसँग अर्थात् ५ लाख १६ हजारसँग खेती गर्ने जमिन छैन । तराईका दलितमध्ये पनि २ लाख ३४ हजार मुसहरमध्ये ७९ प्रतिशत अर्थात् एक लाख ८५ हजारसँग घर बनाउने भूमिसमेत छैन ।

चरम गरिबीको यो अवस्था

-मधेसका ४६ प्रतिशत दलित, ४१ प्रतिशत मुस्लिम र ३३ प्रतिशत आदिवासी जनजाति गरिबीको रेखामुनि छन् ।

-राष्ट्रिय योजना आयोगले ०७५ मा गरेको अध्ययनअनुसार कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१.२२ प्रतिशत र प्रदेश २ मा ४७.८९ प्रतिशत जनता गरिब छन् ।

दलितको लडाइँ गरिबीसँग मात्र होइन, समाजसँग पनि
-जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ लागू भइसकेपछि ०७४ मंसिरसम्ममा जातीय विभेदका कारण १६ जना दलितले ज्यान गुमाएका छन् ।

प्रहरी लगाएर सरसफाई गर्ने कि साक्षरता बढाई, चेतना जगाउने ?

नेपालको साक्षरता दर ८० प्रतिशत नाघेको सरकारको दाबी छ तर, तराईका दलितमध्ये २० प्रतिशत मात्र साक्षर छन्


१० प्रतिशतभन्दा कम मुसहर बालबालिका विद्यालय जान्छन् 
दलितमा पनि मुसहर बालबालिका पढाइतर्फ आकर्षित हुन सकेका छैनन् । अहिले पनि मुसहर समुदायको साक्षरता दर १० प्रतिशतभन्दा कम छ । पछिल्लो समय विद्यालय भर्ना हुने क्रम बढे पनि आर्थिक उपार्जनका लागि श्रम गर्नुपर्ने बाध्यताले बालबालिका बीचैमा स्कुल छाड्ने गरेका बताउँछन्, शक्तिहीनको सशक्तीकरण, मुसहर समुदायको समग्र उत्थान अभियानका संयोजक पछुलाल माझी ।

राजनीतिमा पनि उपेक्षित मुसहर समुदाय
दुई लाख ३४ हजार जनसंख्या भएको मुसहर समुदायबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व शून्य छ । स्थानीय तहको निर्वाचनमा मधेसी दलित कोटाबाट एक हजार पाँच सय ५४ जना निर्वाचित भएका थिए । त्यसमा मुसहरको संख्या दुई सय १५ मात्र छ । दलित एनजिओको छाता संगठन दलित गैरसरकारी संस्था महासंघमा अहिलेसम्म एकजना पनि मुसहर पुगेका छैनन् । अधिकारकर्मी शिवहरि ज्ञवालीका अनुसार राष्ट्रिय दलित आयोगका पदाधिकारीमा पनि मुसहरको प्रतिनिधित्व छैन ।

मुसहर बालिकाको बलात्कारपछि हत्या, किटानी जाहेरीपछि पनि पक्राउ परेनन् आरोपी
१८ मंसिर साँझ ७ बजे सर्लाही कविलासी नगरपालिका–७ सिरसियाकी मुसहर बालिका सम्झाकुमारी माझी शौच गर्न बाहिर निस्किएकी थिइन् । उनी फर्किइनन् । भोलिपल्ट बिहान छिमेकीको भैँसीगोठमा भुन्डिएको अवस्थामा फेला परिन् ।
४ दिनपछि उनको परिवारले इलाका प्रहरी कार्यालय हरिपुरमा किटानी जाहेरी दियो । १५ वर्षीया माझीको बलात्कारपछि हत्या भएको किटानीसहित परिवारले कविलासी–७ सिरसियाकै विनय राय र चुनचुन रायविरुद्ध जाहेरी दिएको थियो । तर, प्रहरीले कारबाही अघि बढाएन । छानबिन अघि नबढेपछि १० पुसमा सोही प्रहरी चौकीमा मृतककी आमाले पुनः किटानी जाहेरी दिइन् । तैपनि अनुसन्धान अघि नबढेको पीडित परिवारको भनाइ छ ।

आरोपीले यसअघि पनि मृतक माझीलाई जबर्जस्ती गर्ने प्रयास गरेको परिवारको दाबी छ । तर, आरोपीको धम्कीपछि सामसुम पारिएको थियो । मृतककी आमाले आफू दलित भएकाले ‘मालिक’सँग एक्लै लड्न नसक्ने भन्दै मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, दलित अधिकारकर्मीको सहयोग मागेकी छिन् । तैपनि यो घटनाको अनुसन्धान अघि बढेको छैन ।

अर्को घटना, भूमिहीन मुसहरलाई जग्गा दिलाइदिने भन्दै टाठाबाठाले ठगी गर्दै आएका छन् । महोत्तरी जिल्ला अदालतका खरिदार राजकरण साहले  स्थानीय मुसहरलाई जग्गा दिलाइदिने भन्दै पैसा लिएका थिए । उनीबाट ठगिएको भन्दै भंगाहा नगरपालिका–३ महोत्तरीका मुसहर समुदायका व्यक्तिहरूले उजुरी दिएका थिए । शाहले १८ जनासँग यस्तो ठगी गरेका आरोप उनीहरूको छ । दैनिक ज्यालादारी गरेर जोगाड गरेको रकम ठगेपछि आफूहरू मर्कामा परेको गुनासो पीडितहरूको छ ।

उक्त ठगीको मुद्दा नगरपालिकाको न्यायिक समितिसम्म पुगे पनि त्यसको कुनै टुंगो लाग्न सकेको छैन । पीडितले आफूहरूसँग अदालतसम्म जाने रकम नभएको गुनासो गर्दै आएका छन् । उनले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आर्थिक शोषण गर्ने गरेको आरोप पीडित मुसहरहरूको छ ।

(यो सामाग्री नयाँ पत्रिका दैनिकाबाट जस्ताको तस्तै साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank