विमलले वसन्ती परियारलाई किन हाने तेजाब ?

दलित अनलाईन ९ आश्विन २०७५, मंगलवार २०:२०

काठमाडौं – रौतहट चन्द्रनिगाहपुर–६ की सम्झना दासले तेजाब आक्रमणमा परेर मृत्युवरण गरिन् । उनको शव गृह जिल्ला नपुर्याइँदै नवलपुरमा सोही प्रकृतिको घटना घटेको छ ।

कावासोती–१६ की वसन्ती परियारलाई छिमेकी विमल श्रीपाइली विकले तेजाब खन्याएर गम्भीर घाइते तुल्याएका छन् । पहिले अनुहारमा तेजाब खन्याएर चित्त नबुझेर पीडितको पिठ्युँमा छुरासमेत प्रहार गरेको नवलपुर प्रहरी प्रमुख रमेश थापाले  जानकारी दिए । वसन्तीलाई तेजाबसहित साङ्घातिक हमला गर्ने विमललाई प्रहरीले नियन्त्रणमा लिइसकेको र उनले अपराध कबुलसमेत गरेको थापाको भनाइ छ ।

अपराधको कारण ‘प्रेम सम्बन्ध’
वैदेशिक रोजगारीबाट फर्किएका विमल वसन्तीका छिमेकी हुन् । विमल केही समयदेखि वसन्तीसँग प्रेम सम्बन्धमा रहेको उनले प्रहरीसमक्ष बताएका छन् । प्रहरी प्रमुख थापाका अनुसार अभियुक्त र पीडित दुवै विवाहित हुन् । श्रीमान् र वसन्तीबीचको सम्बन्धको चाल पाएकी विमलकी पत्नीले अदालतमा सम्बन्ध विच्छेदको मुद्दासमेत दर्ता गरेकी छिन् । यद्यपि त्यो मुद्दा विचाराधीन छ ।

वैदेशिक रोजगारीमै रहेका वसन्तीका श्रीमान् स्वदेश फर्किएपछि उनीहरूबीच कटुता उत्पन्न भएको र रिस फेर्न आक्रमण गरेको अभियुक्तले प्रहरीसँगको बयानमा बताएका छन् । शरीरको २५ प्रतिशत भाग तेजाबले जलेकी वसन्तीको भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

भारतीय सिमावर्ती बजार रक्सौलबाट तेजाब किनेर ल्याएको बयान अभियुक्तले प्रहरीसमक्ष दिएका छन् । सोमबार बेलुका बाटो ढुकेर साँझ ७ बजेतिर तेजाब प्रहार गरेको उनले बताएका छन् । “आफूमाथि धोका भएको भन्दै अभियुक्तले तीज अगाडिदेखि नै मौका पर्खिएको रहेछ । उसले तीज अगाडि नै वीरगञ्जपार रक्सौल पुगेर तेजाबसमेत किनेको रहेछ,” थापाले जानकारी दिए ।

यसैबीच, घाइतेको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको राससले जनाएको छ । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो ।

प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ । चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ ।

उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले बताए । परियार राति ८ बजे तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय विमल सिर्पालीले तेजाब छर्किएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार तेजाब छर्केर आक्रमण गर्ने सिर्पाली नेपाली सेनाका भगौडा हुन् । उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनले बिहे गर्न अस्वीकार गरेपछि आक्रमण गरेको प्रारम्भिक बयान दिएको लामिछानेले बताए । विदेशमा रहेका उनी निज परियारसँग बिहे गर्ने भन्दै घर फर्किएको जनाइएको छ । परियारसँगको उनको सम्बन्धका कारण श्रीमतीले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरी माइतमा बस्दै आएको प्रहरीले जनाएको छ । माइतमा बस्दै आएकी श्रीमतीको चार वर्षको बच्चा रहेको छ ।

घाइते परियारको विदेशमा रहेका श्रीमान् फर्किएलगत्तै निज सिर्पालीसँगको सम्बन्ध तोड्न खोजेपछि घटना भएको प्रहरीले जनाएको छ । परियारको ११ वर्षीया छोरी रहेको लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank