पहिरोमा परिवार गुमाएकी सुनिता बिकलाई सुर्खेतको कोपिलामा पठाइयो

दलित अनलाईन १ आश्विन २०७५, सोमबार २१:३२

पुरुषोत्तम गिरी

सल्यान – आमाबुवा गुमाएर बेसाहारा बनेकी सल्यान बागचौर नगरपालिका–४, सेतोगुराँसकी आठ वर्षीय सुनिता बिकलाई सुर्खेत पठाइएको छ ।

सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, बागचौर नगरपालिका–४, का वडाअध्यक्ष प्रेमबहादुर पुन, सुनिताका मामा कृष्णबहादुर बिक, पत्रकार लगायत सरोकारवालाहरुको रोहबरमा उनलाई सुर्खेत पठाइएको हो ।

२०६४ सालमा स्थापना भएको कोपिला भ्याली सेवा समाज सुर्खेतले सञ्चालनमा ल्याएको कोपिला भ्याली स्कुलमा उनलाई पठाइएको हो । उनलाई कोपिला भ्याली स्कुलमा खाने, बस्ने, पढ्ने सबै निःशुल्क व्यवस्था गरिएको छ ।

सुनितालाई १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था गरिएको छ । १८ वर्षको उमेरसम्म उनलाई सबै कुरा निःशुल्क गरेर राखिने समाजका अध्यक्ष टोपबहादुर मल्लले बताउनुभयो ।

असहाय, आमाबुवा गुमाएका टुहुरा बालबालिकाहरुलाई निःशुल्क रुपमा पढाउनको लागि कोपिला भ्याली सेवा समाज खोलिएको बताउँदै उहाँले अहिले ४ सय बढी बालबालिकाहरुले पढिरहेको बताउनुभयो ।

उहाँले सल्यानकी ८ वर्षकी बालिका सुनिताको उज्ज्वल भविष्य कोपिलाले बनाउने बताउनुभयोे । साथै उहाँले सुनिताको अभिभाबकको रुपमा आफूहरुले काम गर्ने बताउनुभयो । बालिका सुनितालाई लिन सल्यान आएका मन्त्री ज्वालाले सुनिताको अभिभावकको रुपमा काम गर्न कोपिला भ्यालीलाई सुझाव दिनुभयो ।

उहाँले सल्यानमा भएको अकल्पनीय घटनामा परेर आमाबुवासँगै दुई बहिनी र एक भाइ गुमाएकी सुनिताको प्रत्येक क्षेत्रको विकासको लागि कन्जुस्याँइ नगर्न आग्रह गर्नुभयो । उहाँले जिल्लामा घटेका घटनाले आफूलाई दुखित बनाएको बताउँदै परिवारका ५ जना गुमाएर बाँच्न सफल भएकी सुनितासँगै उनकी २ दिदीहरुको लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले आफ्नो एक महिनाको आधा तलब पीडित परिवारको लागि उपलब्ध गराउने बताउनुभयो । गएको भदौ १२ गते राति बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँसस्थित आफ्नै घरमा सुतेका ५ जनाको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा ज्यान गएको थियो ।

जसमा सुनिताका ४० वर्षका बुवा रामसिंह कामी, आमा ३५ वर्षका रामकला कामी, ७ वर्षकी बहिनी गगां बिक, ६ वर्षकी बहिनी प्रमिला बिक र चार वर्षका भाइ रुपलाल बिकको घटनास्थालमा नै ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank