तुलसीपुर ‘स्पोर्टस् सिटी’का लागि उपयुक्त

दलित अनलाईन २१ श्रावण २०७५, सोमबार १४:३४

–कुमार चौलागार्इं

काठमाडौँ – प्रदेश नंं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी)का रुपमा विकास गरिने भएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुल्सीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त हुने देखिएको छ । गत पुसमा राखेप सञ्चालक समितिका सदस्य विनोद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन कार्यदलले सो निष्कर्ष निकालेको हो । सो कार्यदलमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओली, खेल विज्ञद्वय निलेन्द्रराज श्रेष्ठ र शिवराज भट्ट तथा दाङ जिल्ला खेलकूद विकास समतिका अध्यक्ष डिल्लीबहादुर डाँगी सदस्य हुनुहुन्थ्यो ।

कार्यदलले करीब सात महिना लगाएर तयार पारेको उक्त प्रारम्भिक प्रतिवेदनअनुसार पर्याप्त खेल मैदान, संरचनाको निर्माण थालनी प्रक्रिया, स्थानीयवासीको खेलकूदप्रतिको सकारात्मक सोच, यातायातको सुविधा, खाना तथा बसोवासका लागि आवश्यक पूर्वाधार निर्माण, थप जग्गा उपलब्धताका लागि आवश्यक पहललगायत कारणले तुलसीपुर मुलुककै पहिलो स्पोर्टस् सिटीका लागि उपयुक्त भएको ठहर गरेको थियो ।

कार्यदलले फुटबल, ब्याडमिन्टन, भलिबल, टेबल टेनिस, पौडी तथा मार्सलआर्टस्सहितको स्पोर्टस् सिटी र एकेडेमीलगायत पूर्वाधार निर्माण तथा विकासका लागि तुलसीपुर उपयुक्त भएको सुझाव दिएको छ । “समथर भू–भाग, प्रदेश नं ५ को आर्थिक हब, बलियो सुरक्षा घेरा, मौसम तथा हावापानी अनुकूल, शिक्षा र स्वास्थ्यको पहुँच, खेलमैत्री परिवेश तथा पर्याप्त मात्रामा जग्गा उपलब्ध हुनुले तुलसीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त देखिएको हो,” कार्यदलका सदस्य भट्टले भन्नुभयो ।

विश्व खेलजगतमा स्पोर्टस् सिटीलाई देश विकासको परिसूचकसँग दाँजेर हेर्ने गरिन्छ । देशको आर्थिक, साँस्कृतिक तथा सामाजिक पक्षलाई सबल बनाउन स्पोर्टस् सिटीको उल्लेख्य योगदान रहन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी राष्ट्रको गरिमा बढाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि खेल संरचनाको निर्माण तथा विकास, खेल उद्योग र खेल पर्यटनको विकास गर्न ‘स्पोर्टस् सिटी’को अवधारणा अगाडि बढाइएको हो ।

कार्यदलले स्थलगत अध्ययन तथा अवलोकन, स्थानीय सरोकारवाला व्यक्ति, संस्था तथा निकायसँग छलफल र अन्तक्र्रिया, सन्दर्भ सामग्रीको अध्ययन एवं विश्लेषण तथा भौगोलिक वस्तुस्थितिको स्थलगत निरीक्षण गरी सो प्रतिवेदन तयार गरेको हो । स्मार्ट सिटीको अवधारणा कार्यान्वयन गर्न तुलसीपुर उपमहानगरपालिकालाई आवश्यक सहयोग गर्न सक्दो सहयोग पर्ने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डाँगी बताउनुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्पोर्टस् सिटीको अवधारणा कार्यान्वयनका लागि उपमहानगरपालिकामा रु २४ करोडको लगानीमा रंगशाला तथा रु दुई करोडको लागतमा वडा नंं ६ मा कभर्ड हल निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले समग्र खेल क्षेत्रको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले काम अगाडि बढाएको र पूर्वाधार निर्माणपछि स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तुलसीपुरमा आयोजना गर्न सकिने पाण्डे बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank