दलित बस्तीमा जनता आवास कार्यक्रममै घोटला

दलित अनलाईन २० श्रावण २०७५, आईतवार २२:०५

जनता आवास कार्यक्रम :दुई घरबाटै घोटाला भयो करिव डेढलाख,बास पाँउनेकै उठिबास

बसन्त बिश्वकर्मा

बाजुरा-सरकारले विपन्न परिवारका लागि आवास बनाउने पवित्र उद्देश्यका साथ संचालन गरिएको जनता आवास कार्यक्रमबाट बडीमालिका नगरपालिका भित्रको एक समुहबाट मात्र १ लाख ३९ हजार ५ सय ९० रुपैया घोटाला भएको खुलासा भएको छ ।

मार्तडी जनता आवास भवन निर्माण समिति अन्र्तगत निर्माण पुरा भएका सातवटा घरको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीबाट तेस्रोे किस्ता रकम निकासा गर्दा उक्त रकम घोटाला भएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट बाजुरामा खटिएका प्राविधिकहरु मोहन विक, शंकर खड्का र रतन धामीले समुहमा रहेका १० घरमध्ये सातवटा घरको तेस्रो किस्ता ८१ हजार ७ सय ९५ रुपैया प्राप्त गर्ने प्रतिवेदन तयार भएको थियो । सोही आधारमा डिभिजन कार्यालय डोटीले मार्तडी जनता आवास भवन निर्माण समितिको नाममा असार २५ गते ५ लाख ७२ हजार ५ सय ६५ रुपैयाको एसी प्ये चेक समितिका संयोजक संजय वि.क लाई उपलब्ध गराएको बुझिएको छ ।

राष्ट्रिय वाणिज्य बैङकको चेक नं १०००१२४३१५ को चेक भवन निर्माण समितिको एन एमबी बैङक डोटी शाखामा जम्मा भयो । समितिका संयोजक संजय वि.क र डिभिजन कार्यालय डोटीका कर्मचारी रामबहादर विसीको संयुक्त हस्ताक्षरमा सञ्चालन हुने गरी संचालित खाता नं ०१८००६००५४ , ८६१००००००१ उक्त रकम जम्मा भयो ।

एन एमबी बैङकमा जम्मा भएको उक्त रकम मध्येबाट समितिका संयोजक संजय वि.क को नाममा ४ लाख ३३ हजार ४ सय ७ रुपैया २७ पैसा भुक्तानी भयो । बाँकी रकम १ लाख ३९ हजार ५ सय ९० रुपैया कर्मचारीको रोहवरमा गुपचुपमा राखियो ।

कार्यक्रम अन्र्तगत क–कस्ले घर बनाए ?
मार्तडी जनता आवास भवन निर्माण समिति अन्र्तगत जम्मा १० परिवारले प्रति घर निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट प्रति परिवार रु २ लाख ३३ हजार ७ सय अनुदान पाउने गरी सम्झौता भएको डिभिजन कार्यालय डोटीले बताएको छ । विभाग डिभिजन कार्यालयको आवास निर्माण मापदण्डका आधारमा भवन निर्माणका लागि बनपा ९ का नन्दा विक, भुजी लवार, रंगी चदारा, बजिरे चदारा, चन्दा विक, टिउकी चदारा, मनोज विक, संजय विक, ब.न.पा ३ का गीठे लाेहारले सम्झौता गरेर काम थालनी गर्नुभएको थियो । सम्झौता अनुसार डिभिजन कार्यालयले पहिलो किस्ता २५ प्रतिशत, दोस्रो किस्ता ३० प्रतिशत, तेस्रो किस्ता ३५ प्रतिशत र १० प्रतिशत उपलब्ध गराउने उल्लेख छ ।

यसरी भयो घोटाला
मार्तडी जनता आवास भवन निर्माण समिति अन्र्तगत जम्मा १० परिवार मध्ये नन्दा विक, भुजी लवार, रंगी चदारा, बजिरे चदारा, चन्दा विक, टिउकी चदाराले घर निर्माण प्रगति प्रतिवेदनका आधारमा सम्झौता अनुसारको रु २ लाख ३३ हजार ७ सयको ३५ प्रतिशतले हुन आउने तेस्रो किस्ता रकम रु ८१ हजार ७ साय ९५ रुपैया प्राप्त गर्नुपर्ने पिडित चन्दा विकले बताउनुभयो । दुईवटा घर मापदण्ड अनुसार नभएको भन्दै रंगी चदारालाई १५ हजार २ सय ९६ र चन्द्रा विकलाई ९ हजार १ सय ३५ रुपैया दिने गरी शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख टेक राज भट्टले लिखित पत्र समितिलाई पठाउनुभएको छ । यता समिति संयोजक विक डिभिजन प्रमुखको हस्ताक्षरित चिठ्ठीको आधारमा रकम विभाजन गर्न लागेको भन्दै उम्कीन खोजिरहेका छन् । डिभिजन कार्यालयका कर्मचारीको डिजाइन अनुसार रु १ लाख ३९ हजार ५ सय ९० रुपैया झ्वाम पार्ने योजना विभिन्न तथ्यहरुले देखाई रहेको छ । यसरी खुलेआम राज्यबाट गरिव जनतालाई आवास मुनी राख्ने पवित्र सरकारी उद्देश्यलाई केही कर्मचारीले खिल्ली उडाई रहनु र न्यायिक निकाय हेरेको हेरेई हुनुले गरिव त मर्छन् नै , राज्यलाई समेत निकै हानी हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank