नेपालगन्ज : जानकी गाउँपालिका ६ पिप्रहवामा भेला भएका विवाहित महिलामध्ये नागरिकता नभएका बुहारीहरु हात उठाउँदै । तस्विरः टेकेन्द्र बस्याल
नेपालगन्ज –जानकी गाउँपालिका ६ प्रिपहवाकी ४५ बर्षीय हसरतजहा दर्जीले विवाह गरेको २५ वर्ष भयो । उहाँको १९ र १६ वर्षीय दुई छोरी तथा १४ र ११ वर्षको छोरा छन् । १९ वर्षीय छोरीको विवाह भएर पनि दर्जी हजुरआमा भैईसक्नु भएको छ । उहाँले विवाह गरेदेखि ६ वटा स्थानीय, प्रतिनिधी, संविधान र प्रदेशसभाको चुनाव भैईसकेको छ । विडम्बना ४५ वर्षसम्म हसरतजहा दर्जीको नागरिकता बनेको छैन् । उहाँका पति बाहिद अली दर्जीले नागरिकता बनाएर हरेक निर्वाचनमा भोट हाल्नुहुन्छ तर उहाँले चाहेर पनि भोट हाल्न पाउँनुहुन्न । त्यति मात्र नभएर उहाँले नागरिकता नभएकै कारण बैकमा खाता खोल्न समेत पाउनुभएको छैन् । सहकारी, महिला समूहमा रकम बचत गर्न पनि पाउनुभएको छैन् । वडा र गाउँका हरेक निर्वाचनमा मत माग्न र भोट हाल्न सिकाउन आउने नेताले समेत नागरिकता बनाउन पहल गरिदिएका छैनन् । छोराछोरी पनि हुर्कि बढेर विवाह गर्न थालिसके तर आफ्नो नागरिकता नभएको हसरतजहा बताउँनुहुन्छ । नागरिकता बनाउने मन छ, उहाँले भन्नुभयो , तर पतिले विवाह दर्ता नगराईदिँदा नागरिकता भएको छैन् ।’ चुनावमा भोट हाल्न मन लागे पनि नागरिकता नहुँदा खल्लो लाग्ने गरेको उहाँले पीडा सुनाउनुभयो । सहकारी, आमा, महिला समूहमा ऋण लगानी समेत नपाएको उहाँले दुखेसो पोख्नुभयो ।
पिप्रहवाकी २५ वर्षीय ज्योति लोधले विवाह गरेको १० वर्ष भयो । १५ वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँको अहिले ७ वर्षीय छोरा भैईसक्यो तर नागरिकता बनेको छैन् । नागरिकता बनाउन घरमा भने पनि नबनेको उहाँले बताउनुभयो । ‘सासु ससुरा, पतिलाई विवाह दर्ता गरि नागरिकता बनाउन सिफारिस गरिदिन भन्दै आएको छु,’ उहाँले भन्नुभयो , ‘मनले चाहे पनि नागरिकता पाउन सकेको छैन् ।’ पतिको अगाडी नागरिकताका लागि झगडा र विवाद गर्न नसकिने उहाँ भन्नुहुन्छ । उहाँको उमेर अनुसार २०६४, २०७० र २०७४ मा मतदान गर्न सक्ने उमेर भए पनि नागरिकताकै कारण मतदाता नामावली समेत छैन् । अरुका छोराबुहारीले भोट हाल्न जाँदा र नेता जिताउँदा खुशी हुने गरे पनि आफूहरु लुकेर बस्ने गरेको यहाँका बाँकेका मधेशी दलित बुहारीहरु पीडा सुनाउनुहुन्छ । यी केही प्रतिनिधी उदाहण मात्र हुन्, मधेशका दलित बुहारीका नागरिकता नभएका । जानकी गाउँपालिका ६ पिप्रहवाकी २६ वर्षीय ताजरुन तेलीले विवाह भएको ८ वर्षसम्म नागरिकता बनाउन नसकेको पीडा सुनाउनुभयो । उहाँको एक छोराछोरी साथमा भए पनि नागरिकता नबनाएरै बस्नुभएको छ । नागरिकता बनाउन पति र सासुससुरालाई मनाईरहेको तर बनाउने टुंगो भने अहिलेसम्म नलागेको उहाँले बताउनुभयो । बाँकेका मधेशी बस्तीमा महिलाहरुको विवाह भएको २५ देखि ३० वर्षसम्म पनि नागरिकता छैनन् । अझै गाउँ गाउँमा खोज्ने हो भने मृत्यु भैईसक्दा पनि बुहारीहरुका नागरिकता बन्दैनन् । वृद्ध भत्ता खान पाउने समयमा मात्र केहीले नागरिकता बनाउने गरेको भेटिन्छन् ।
जानकी गाउँपालिका ६ का वडाअध्यक्ष सुरेश यादवले आफ्नो वडामा जनसंख्या ८ हजार रहेको तर मतदान गर्नेको संख्या १ हजार ६ सय मात्र रहेको बताउँदै विवाह गरे पनि अधिकांशको नागरिकता नहुने उहाँले बताउनुभयो । विवाहित ५५ प्रतिशत सम्म बुहारीहरुको नागरिकता नहुने उहाँको भनाई छ । ‘गाउँपालिका र वडा कार्यालयबाट नागरिकताकै लागि जन्मदर्ता, विवाह दर्ता र नागरिकता सिफारिस निशुल्क गरेका छौ,’ उहाँले भन्नुभयो — ‘सबै सिफारिस निशुल्क गर्दा पनि नागरिकता बनाउन आउँदैनन् ।’ मधेशका बुहारीको नागरिकता बनाउनका लागि सहजै सम्भव नभएको वडा अध्यक्ष यादव बताउनु हुन्छ । बाँके जिल्लामा अझै ५५ प्रतिशत विवाहित महिलाहरुको नागरिकता हुन नसकेको बताईन्छ । उनीहरु त्यही कारण बैंक खाता, सहकारी, समूहमा ऋण, लगानी नपाउने, भोट हाल्न नपाउने, अंशबण्डामा नपाउने समस्या छ । फात्तिमा फाउण्डेशन बाँकेकी संस्थापक अध्यक्ष महोम्मदी सिद्धिकीले मधेशी समुदायका अधिकाश बुहारीले समयमा नागरिकता नबनाउने गरेको बताउनुभयो । ‘ धेरै कार्यक्रम र छलफलमा जाँदा अधिकांश विवाहितका नागरिकता नभएको भेटिन्छ,’ उहाँ भन्नुहुन्छ । घरपरिवारकै कारण उनीहरुले नागरिकता बनाउन नपाएको सिद्धिकीले बताउनुभयो ।
बाँकेको जनसंख्या र मतदाता संख्याका आधारमा पनि महिला मतदाताको संख्या कमी भएको पुष्टि हुन्छ । जहाँ महिलाको जनसंख्या करिव ४ हजार बढी छ तर मतदाता संख्यामा महिला संख्या साँढे ५ हजार कमी छ । २०६८ अनुसार कुल जनसंख्या ४ लाख ९१ हजार ३१३ रहेको छ । जसमा पुरुष २ लाख ४४ हजार २५५ र महिला संख्या २ लाख ४७ हजार ५८ रहेको छ । जिल्लामा कुल मतदाता संख्या दुई लाख ७६ हजार ७१८ रहेको छ । ५ लाख जनसंख्यामा साँढे २ लाख मतदाता रहेको बाँकेमा पुरुष मतदाता १ लाख २५ हजार ९९३ र महिला मतादाता संख्या १ लाख २० हजार ८४ जना रहेका छन् ।
Leave a Reply