वादी समुदायको माग : नथिया र ‘ऐलानी’का आपत्तिजनक शब्द हटाऊ

दलित अनलाईन ९ श्रावण २०७५, बुधबार १८:४८

काठमाडौँ– पछिल्लो समयमा चलचित्र, कथा, उपन्यास र लेखमा वादी समुदायलाई नकारात्मक प्रभाव पर्ने शब्दको प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । चर्चित उपन्यास नथियासहितका कथा, उपन्यास, लेख र चलचित्रमा वादी समुदायलाई नकारात्मक असर पर्ने शब्दको प्रयोग भएको भन्दै चिन्ता गरिएको हो ।
मदन पुरस्कारका लागि सिफारिस भएको सरस्वती प्रतिक्षाद्वारा लिखित ‘नथिया’ मा प्रयोग भएका कतिपय शब्दले वादी समुदायको अपमान गरिएको उहाँहरुको आरोप छ ।
वादी समुदायलाई प्रत्यक्ष ठेस लाग्ने, लान्छाना, भेदभाव देखिने शब्दको प्रयोग उपन्यासमा भएको उहाँहरुको आरोप छ । उपन्यास, लेख, रचना र चलचित्रमा समुदायलाई प्रत्यक्ष असर हुने बदेनी, पातर, रण्डी र रखेल प्रयोग भएका छन् ।
विवेक ओझाद्धारा लिखित ‘ऐलानी’, थमनकुमार बुढाथोकीले निर्माण गरेको ’पण्डित बाजेको लौरी’ चलचित्रमा पनि वादी समुदायलाई होच्याउने शब्दको प्रयोग भएको पाइएको छ । नेपाल पत्रकार महासंघको कार्यालयमा मंगलवार पत्रकार सम्मेलन गरेर उहाँहरुले वादी समुदायलाई अपमानित गर्ने शब्द हटाउन र चलचित्रको प्रर्दशन रोक्न माग गर्नुभएको छ ।
राष्ट्रिय वादी परिषदका अध्यक्ष केशव नेपाली (वादी) ले नथिया, ऐलानी र पण्डित बाजेको लौरीमा प्रयोग भएका वादी समुदायलाई अपमानित गर्ने शब्द तत्काल हटाउन र संशोधन गर्न आग्रह गर्नुभयो ।
कलंक र नकारात्मक प्रभावबाट छुटकारा पाई सम्मानित जीवनप्रति अग्रसर भइरहेका वादी समुदायप्रति उपन्यास र चलचित्र मार्फत पुनः अपमानित गर्न खोजिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । वादी समुदायलाई ठेस पुग्ने गरी बनाएका चलचित्र र लेखिएका पुस्तक तत्काल संशोधन गर्न माग गरिएको छ ।

सरकारले २०६५ साल पुस २३ गते वादी समुदायमा भइरहेको यौन शोषण (वादी प्रथा) को उन्मुलनको घोषणा गरेको थियो । निको भइसकेको घाउमा पछिल्ला चलचित्र, उपन्यास र कथाले नुनचुक लगाउने काम गरेको वादी परिषदका अध्यक्ष नेपालीले बताउनुभयो ।
समाजमा प्रतिस्थापना भई सम्मानित जीवनयापन प्रति उन्मुख रहेको अवस्थामा वादी समुदायको केही परिवारमा देखिएको यौन शोषणलाई आधार बनाई केही निर्माता, लेखकले पुनः वादीप्रति लान्छाना, भेदभाव र शोषण गरेको उहाँहरुको आरोप छ ।
चलचित्र निर्माता भण्डारीसँग वादी जातिको संवेदनशिलतालाई हेरेर फिल्म प्रर्दशन स्थगित गर्न माग गरिएको छ भने नथियाकी लेखक सरस्वती प्रतिक्षा र ऐलानीका लेखक विवेक ओझालाई किताब तथा उपन्यासमा उल्लेख भएका आपत्तिजनक र ठेस पुग्ने शब्द यथाशिघ्र संशोधन गरी अर्को संस्करण प्रकाशित गर्न माग गरिएको छ ।
चलचित्र प्रर्दशन स्थगित तथा उपन्यासको संस्करण यथाशिघ्र नभएमा सरकारी निकायबाट रोक्न र बन्देज लगाउन नेपाल सरकारसँग समेत उहाँहरुले माग गर्नुभएको छ ।
वादी समुदायको तर्फबाट अध्यक्ष केशव नेपाली र महासचिव सुकलाल नेपालीद्वारा जारी प्रेस विज्ञप्तिमा वादी समुदायको मागप्रति वास्ता नगरी चलचित्र प्रर्दशन भएमा वा किताब उपन्यास संशोधन नभएमा सबै वादी समुदाय सामुदायिक लान्छाना विभेदविरुद्ध जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank