२६ वर्षीया सरिता दर्जी बोक्सी निहुँमा कुटिइन्

दलित अनलाईन १८ असार २०७५, सोमबार ०३:५३

रामेछाप बाेक्सीकाे अाराेपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा पन्यूले डामिएको छ । डामिएको घाउ निको पार्न उनी स्वास्थ्य चौकीको सहारामा पुगेपछि घटना सार्वजनिक भएको हो ।

दर्जीलाइ पेटसम्बन्धी रोग थियो । उनी धामी लगाउन चाहन्थिन । छिमेकी जिल्ला ओखलढुंगा लिखु गाउँपालिकाका रवीन्द्र नेवारले राम्रो धामी बस्ने भन्दै स्थानीयले सुझाव दिए । उसैलाई बोलाएर देखाउने सहमति भयो ।

नेवार बोलाएपछि स्थानीय केही युवा पनि दर्जीको घरमा पुगे । उनीहरुले दर्जीलाई बोक्सी लागेको भन्दै बोक्सी भगाउन सिस्नु पानी लगाउनुका साथै फलामको पन्यू तताएर गाला डाम्नु पर्ने सुझाव दिए । धामी बसेका नेवारले सिस्नु पानी लगाउँदै दर्जीलाई कुट्न थाले । फलामको पन्यु तताउन लगाएरबेस्सरी गालामा डामे । त्यसको पीडा खप्न नसकेर दर्जी बेहोस भइन् धामी नेवार भागे । यो घटना जेठ २४ गते भएकाे हाे ।

केही घण्टामा होसमा आए पनि अब बोक्सी भाग्ने भन्दै पीडा सहेर बसेकी दर्जीलाई दुवै रोगले च्याप्यो । ‘मलाई एकातिर पेट दुख्ने त छँदैथियो, गाला डामेको पीडा थपियो’ दर्जीले भनिन्, ‘जेठ २४ गते भएको घटनाको पीडा खप्न नसकेर असार ४ गते स्वास्थ्य चौकीमा पुगेँ, त्यहाँ स्वास्थ्यकर्मीले सोधखोज गरेपछि बल्ल म अन्यायमा परेको कुरा सार्वजनिक भयो ।’
स्वास्थ्यकर्मीले बोक्सी नभएको र पन्यूले गालामा डाम्नेलाई कानुनी कारबाही हुने बताएर दर्जीलाई इलाका प्रहरी कार्यालय धोवीमा पठाइदिए । धोवी इलाकाले ५ गते जिल्ला प्रहरी कार्यालय मन्थलीमा पठायो । मन्थली पुगेपछि दर्जीले तातो पन्यूले डाम्ने र त्यस कार्यमा सहयोग गर्नेको नाममा किटानी जाहेरी दिइन् । उनको जाहेरीका अधारमा प्रहरीले धामीलाई सघाउने ३ जनालाई पक्राउ गर्‍यो । आफूलाई धामी भन्ने नेवार फरार छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ बस्ने राजन पौडेल, दीपक ढटेल र अश्विन रोका छन् । उनीहरुलाई जिल्ला अदालतबाट बोक्सी ऐन बमोजिम १० दिनको म्याद थप गराइ अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । फरार रहेका नेवारको खोजी भइरहेको प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए ।

बोक्सी ऐन २०७२ अनुसार पीडा दिने पिडकलाई ३ वर्षदेखि ७ वर्षसम्म जेल सजाय हुने र पीडितलाई क्षतिपूर्ति समेत भराउनु पर्ने व्यवस्था गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank