आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ नारासहित मुलकुभर मनाइँदैछ।
नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) र विभिन्न राजनीतिक किसान संगठनहरूले पनि छुट्टै कार्यक्रम गरेर धान दिवस मनाउँदै छन्। असार १५ लाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ ।
कृषि प्रधान देश भएकाले नेपालका धेरै नागरिकको मुख्य पेसा कषि नै हो। वर्षभरका लागि खाद्यान्न जोहो गर्न यो महिना किसान खेतीपातीमा व्यस्त हुने गर्छन्।
धान नेपालको प्रमुख अन्नबाली हो । धान उत्पादन बढ्दा मुलुकको कूल गार्हस्थ्य पनि बढ्छ। कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ।
कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला दिन धान दिवस मनाउने गरिएको हो।
धान दिवसका अवसरमा सरकारले शुक्रबार विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ। कपिलवस्तुमा आयोजित धान रोपाईं कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनाल सहभागि हुँदैछन्।
यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि धान रोपाइँमा सहभागी हुँदैछन्। युवा संघ र वाईसियलले संयुक्त रूपमा बूढानीलकण्ठमा आयोजना गर्ने कार्यक्रममा पोखरेल सहभागि हुने भएका हुन्।
यस्तै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित शुक्रबार काठमाडौंको बौद्धमा हुने धान रोपाइँमा सहभागि हुने कार्यक्रम छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गते भएको मन्त्रिस्तरीय निर्णयअनुसार असार १५ लाई धान दिवसका रूपमा मनाउन थालिएको हो।
देशभर १२ प्रतिशत रोपाइँ
गत वर्षभन्दा यस वर्ष अलि अगाडि नै मनसुन सक्रिय भएकाले असार लागेसँगै मुलुकभर रोपाइँ सुरु भएको छ।
अहिलेसम्म देशभर साढे १२ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ। कृषि विभागका अनुसार पछिल्लो तीन वर्षको अवधिमा यो वर्षको असार पहिलो साता उल्लेख्य मात्रामा रोपाइँ भएको छ।
२०७२ को असार पहिलो साता देशभर सात दशमलव आठ प्रतिशत र २०७३ को यस अवधिमा नौ दशमलव १५ प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ।
२०७४ को असार पहिलो साता आठ दशमलव ८६ प्रतिशत हाराहारी रोपाइँ भएको विभागको अभिलेखले देखाउँछ।
अहिलेसम्म सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा छ । तुलनात्मक रूपमा सुदूरपश्चिमको बझाङमा ७० र हुम्लामा ८० प्रतिशत हाराहारी रोपाइँ सकिएको छ।
बाँकेमा रोपाइँ नै सुरु भएको छैन। कपिलवस्तुमा १०, रूपन्देहीमा १५, नवलपरासीमा ३०, मोरङमा पाँच, सुनसरीमा १५, सप्तरी र सिरहामा एक र झापामा एक दशमलव पाँच प्रतिशत हाराहारी रोपाइँ भएको छ।
नेपालको कूल जनसंख्याअनुसार स्वदेशमै धान उत्पादन नहुँदा बर्सेनि अर्बौं मूल्यको चामल भारतलगायत तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ।
Leave a Reply