राजु सदा मृत्यु घटना : छानविन समिति कागजमै सीमित, दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

दलित अनलाईन साउन १२, २०७७

धनुषा— समयमा उपचार नपाएर प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएका धनुषाका राजु सदालगायत विभिन्न घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गर्दै विभिन्न जिल्लामा अर्धनग्न प्रदर्शन गरिएको छ ।

संयुक्त दलित संघर्ष समितिको अगुवाइमा प्रदर्शन गरिएको हो । धनुषाको हंशपुर नगरपालिका–७ पर्साहीका राजु सदाको ९ असारमा प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । त्यस्तै, सबैला नगरपालिका–१२ बरकुर्वाका शम्भु सदाको २८ जेठमा सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएको थियो ।

यीलगायत विभिन्न घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै धनुषा, सर्लाही, सिराहा र सप्तरीका विभिन्न स्थानमा सामूहिक प्रदर्शन गरिएको हो । जनकपुरमा जनक चोकबाट निस्केको अर्धनग्न जुलुस शिव, भानु, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेको थियो ।

जनक चोकमा आयोजित कोणसभामा दलित समुदायका अगुवाले एक महिना बितिसक्दा पनि घटनाको छानबिन नभएको, दोषीलाई बचाउन खोजेको भन्दै विरोध जनाए । एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति बनाए पनि अहिलेसम्म छानबिन नभएको उनीहरूको भनाइ थियो । उनीहरूले दोषीलाई बचाउन खोजेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी रहने संयुक्त दलित संघर्ष समिति धनुषाका संयोजक चन्देश्वर दासले बताए । समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा १३ साउनमा प्रत्येक जिल्ला सदरमुकाममा थाली तथा सिटी जुलुस प्रदर्शन निकालेर जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिने, १५ साउनमा मृदंग बजाउने र पोस्टर टाँस्ने, प्रशासन कार्यालयअगाडि धर्ना दिने र १८ साउनमा प्रशासन कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन बस्नेलगायत आन्दोलनका कार्यक्रम रहेका छन् ।

छानबिन समिति कागजमै सीमित

राजु सदाको मृत्यु घटना छानबिनका लागि प्रदेश २ को सामाजिक विकास मन्त्रालयले १० असारमा स्वास्थ्य निर्देशक हरिचन्द्र साहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । एक साताभित्र छानबिन प्रतिवेदन बुझाउन म्याद दिइएकोमा अहिलेसम्म छानबिन प्रक्रिया नै सुरु गरेको छैन ।

समितिका सदस्य तथा सामाजिक विकास मन्त्रालयका उपसचिव डा. नवलकिशोर झाले पनि अहिलेसम्म छानबिन सुरु नभएको स्वीकार गरे । डा.झाले  भने, ‘अहिलेसम्म छानबिन सुरु भएको छैन । कहिले सुरु हुने हो, त्यो संयोजकज्यूलाई नै थाहा हुन्छ ।’

त्यस्तै, प्रदेश २ सभाले पनि पाँच सदस्यीय सर्वदलीय छानबिन समिति गठन गरेको थियो । १४ जेठमा नेकपा सांसद रवीन्द्र बैठाको संयोजकतत्वमा गठित समितिलाई पाँच दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय तोकिएको थियो । संसदीय समितिले पनि अहिलेसम्म प्रतिवेदन बुझाउन सकेको छैन । समिति सदस्य चमेलीदेवी दासले प्रतिवेदन लगभग तयार भएको बताइन् । ‘प्रतिवेदन लगभग तयार भइसकेको छ, तर संयोजकज्यूले के कारण बुझाउन ढिलाइ गरिरहनुभएको छ, त्यो थाहा भएन,’ उनले भनिन् ।

प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले पनि छानबिन सुरु नगरेको विषयमा आफूलाई थाहा नभएको बताए । मन्त्री झाले नयाँ पत्रिकासँग भने, ‘छानबिन समिति त गठन गरियो, तर के कारण समितिले छानबिन गरेनन्, त्यो थाहा भएन ।’ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे सरुवा भएपछि काम गर्न कठिनाइ भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank