शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको चेतावनी : सरकार दोषी उम्काए मूल्य महंगो पर्छ

दलित अनलाईन ६ असार २०७७, शनिबार २१:१२

काठमाडौं— जातीय नरसंहारयुक्त घटनाका दोषीलाई तत्काल हदै सम्मको सरकारले कारवाही नगरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने जनता समाजवादी पार्टी नेपाल अन्तर्गत शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले चेतावनी दिएको छ ।
शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका मुख्य सचिव डीबी.नेपाली(सोलु)ले जारी गरेको विज्ञप्तीमा रुकुम, रुपन्देही र धनुषामा घटनाहरु योजनाबद्ध भएको भन्दै सरकारले हदैसम्म कानुनी कारबाही गर्नुपर्ने यदि सरकारले दोषी उम्काउँदै कारबाही नगरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइएको हो ।

विज्ञप्तीमा भनिएको छ, रुकुमको सामूहिक जातीय नरसंहारको रगतको खाटा सुक्न नपाउँदै जेठ २७ गते धनुषामा प्रहरी हिरासतमै शम्भु सदाको जघन्य हत्या र रुपन्देहीकी अंगिरा पासीको बलात्कारपछिको हत्याको दोषीलाई हदैसम्म कारबाही नगरे सरकारले चर्को मूल्य चकाउनुपर्नेछ ।

 प्रेस विज्ञप्ति पूर्ण पाठ

शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति
केन्द्रिय कार्यालय बालकुमारी, ललितपुर

 प्रेस विज्ञप्ति
मितिः२०७७/०३/०३

जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको १४ वर्ष भएको छ । गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भैसकेको छ । छुवाछुतमुक्त राष्ट्र घोषणा भए यता डेढ दर्जन बढी शिल्पी समुदाय माथि जातीय विभेदका घट्ना भएका छन् । गणतन्त्र घोषणा भएको १२ वर्षको अवधिमा श्रृंखलावद्ध रुपमा सतहमा आएका १२ भन्दा बढी जघन्य हत्याहिंसा,बलात्कार,अन्र्तजातीय विवाह जस्ता सामाजिक क्रियाकलापको सन्दर्भमा कुटपिट्,सांघातिक हमला र हत्या समेत हुँदै आएका छन् । आदिम जङ्गली युगको कविला समाजलाई समेत बिर्साउने जातीय नरसंहार गत जेठ १० गते रुकुममा भएको थियो ।
मनुको दण्ड विधानको अध्याय १०को ५३ पदले प्रेम विवाहलाई निषेध गरेको छ । त्यसलाई नै आधार मानेर खस मल्लकी छोरी सुष्मा र कामीको छोरा नवराज वि.क.को प्रेम विवाह आधा बाटोमै समाप्त भएको छ । समाप्त मात्रै भएन नवराज सहित ६ जना होनाहार देशको भविष्य समेत गुमेको छ । परिवारको मियो र मुल खाँबो ढलेको छ । सँगसँगै २१ औंशताब्दीको विज्ञान र प्रविधिको युगमा नेपाली पुरातनवादी समाज जङ्गली युगतिरै फर्केको छ ।
यस अपराधले सगरमाथको शीर झुकेको छ । बुद्धको भातृत्व,प्रेम,दया र करुणाको वैज्ञानिक शिक्षालाई लज्जित बनाएको छ । हिटलरी शैलीको नश्लीय जातिवादी सत्ताको पुनारावृत्ति भएको छ । यस घट्नामा संलग्न अभियुक्त ३४ जना विरुद्ध आजन्म कारावासको सजाय सहित जिल्ला अदालत रुकुममा मुद्धा दायर भएको छ । पाँचजना अझै फरार छन् । बहिष्करणको भुङ्ग्रोमा हिंसा भोग्न बाध्य सीमान्तकृत शिल्पी समुदाय बाध्य छन् । हत्या प्रकरण कस्तो थियो ? दुनियाँको अघि छर्लङ्गै छ । सेटिङमा चलेको जातिवादी राज्यले कर्मकाण्डी पोष्टमार्टम रिर्पोट ल्याउनु नौलो होइन ।
अन्तिम फैसला पीडितको पक्षमा आउला भन्ने रत्तिभर विश्वस्त हुन सकिँदैन । किनकी विगतको घट्ना क्रमले यहि देखाउँछ । रुकुमको सामूहिक जातीय नरसंहारको रगतको खाटा सुक्न नपाउँदै जेठ २७ गते धनुषामा प्रहरी हिरासतमै शम्भु सदाको जघन्य हत्या भएको छ । हिजो हत्याहिंसाको राजनीतिबाट उदाएका नेतृत्वहरुकै साँठगाँठ र मिलेमतोमा । धनुषाको सबैला नगरपालिका वडा नंं. १२ वरकुवा वस्दै आएका २५ वर्षिय शम्भु सदा ट्याक्टर चालक थिए । ट्याक्टर दुर्घट्नामा एक महिलाको मृत्युपछि सदालाई धनुषाधाम इलाका प्रहरी कार्यलयको हिरासतमा राखियो । ट्याक्टर मालिकको योजना अनुसार चालककै हत्या गरिदिए मृतकलाई क्षतिपूर्ति दिनु नपर्ने योजना बन्यो । योजना बमोजिम प्रहरी निरिक्षकको मिलेमतोमा हिरासतमै रातको १२ बजेतिर सदालाई हत्या गरी झुन्ड्याइ दिएको आशंका गरिएको छ । ।
प्रहरी कार्यलय रहेको ५० मिटर नजिक नेकपा नेता मातृका यादवका भाइ कारी यादवको घर रहेको छ । उनकै दबाबमा सदाकी आमालाई रातको २ बजे छोराले भेट्न चाहेको भनी झुक्याएर ल्याएको बुझिएको छ । नशाको सुई लगाएर छोराले आफै आत्महत्या गरेको भनेर सहिछाप गर्न लगाउनु सुरक्षा निकायको कति सम्मको निच कुकर्म हो ? जो जनताले तिरेको करमा बाँचेर जनताको सुरक्षागर्ने कि जनताकै हत्या गर्ने हो ? उक्त इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक चन्द्र भुषण यादव मातृका यादवका सम्धिका छोरा रहेको बुझिएको छ ।
प्रहरी निरिक्षकको कालो कर्तुत र अपराध बचाउनकै लागि एक निर्दोष सदाको हत्यालाई आत्म हत्यामा रुपान्तरण गर्न लाग्नु कानुनी शासनको अन्त्य हो । यसले जङ्गली राज र हिटलरी प्रवृत्तिको झल्को दिएको छ । उक्त हत्याको विरोधमा आन्दोलित १५ जना आन्दोलनकारी प्रहरीसँगको झडपमा सख्त घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य केन्द्र र जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको आन्दोलनको अगुवाई गरिरहनु भएका चन्देश्वर दासबाट जानकारी प्राप्त भएको छ ।
यस्तो जघन्य हत्याहिंसा प्रकरणलाई ढाकछोप गर्ने सुरक्षा निकायका अधिकारी र संलग्नलाई हदैसम्मको कारबाही गर्न जसपा, शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति सरकारसँग जोडदार माग गर्दछ । स्थानीय र प्रदेश सरकारको समन्वयमा शम्भु हत्या छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाई निश्पक्ष छानबिन गरियोस । पीडकलाई कानुन बमोजिम कडा कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र राहत तत्काल उपलब्ध गरियोस । क्षतिपूर्ति र शहिद घोषण गर्ने उधारो सहमतिले मात्रै मृतकले न्याय पाउन सक्दैन ।

देश र जनताको सुरक्षागर्न सपथ खाएका सुरक्षा निकायले आफ्नो जिम्मेवारी,दायित्व र कर्तब्यमा अडिग रहने कसम खाएको क्षण स्मरण गराउन चाहन्छौ । कमजोर वर्ग र समुदायका लागि रक्षक नै भक्षक हुने हो भने समाजमा लोकतन्त्रको ठाँउ जङ्गलीतन्त्रमा रुपान्तरण हुने खतरा रहन्छ । राज्यले अभिभावकत्व नदिँदा केही मुठीभरका टाढाबाठाहरुले शक्तिको दुरुपयोग गरिरहेका छन् । कमजोरहरुको बाँच्न पाउने मानवअधिकार समेत कुण्ठित गर्नु फाँसीवादी निकृष्ट चरित्र हो । जघन्य सामाजिक अपराधको विरुद्ध हुने सबै प्रकारका आन्दोलन र अभियानहरुमा प्रदेश समितिको ऐक्यवद्धता र समर्थन सदैव रहने व्यहोरा अवगत गराउँदछौं ।
रुपन्देहीकी अंगिरा पासीलाई बलात्कार गर्नेलाईनै जिम्मा लगाए पछि भएको हत्या, कैलाली लम्किचुहा नगरपालिका वडा नं. १ मा क्वारेन्टाइनमा बसेकी महिला माथि भएको सामूहिक बलात्कारको घट्नाप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको छ । अपराधमा संलग्नलाई कानुन बमोजिम कडा कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछौ ।
समाजमा जङ्गली राजको अन्त्य गरी कानुनी राज्यको स्थापना र लोकतन्त्र बलियो बनाउनु बाहेक अर्को विकल्प छैन । यस्ता जघन्य नरसंहारकारी हत्याहिंसा, बलात्कार र अपराधमा संलग्न अपराधीहरुलाई विगतकै जस्तो टालटुले कारबाही गरी आँखामा छारो हालिन्छ भने प्रदेश समिति जस्तोसुकै शसक्त आन्दोलन गर्न बाध्य हुनेछ । अपराधमा संलग्नहरुलाई हदै सम्मको कडा कारबाहीका लागि यसै प्रेस विज्ञप्ति मार्फत सरकारको विशेष ध्यानाकर्षण गर्न चाहन्छौ । शिल्पी समुदाय माथि हत्याहिंसाको श्रृंखला जारी रहेकोले सम्बन्धित सबै पक्ष चनाखो र सचेत रहन पनि विशेष अपिल गर्दछौ ।

डीबी.नेपाली(सोलु)
मुख्य सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank