आफ्नै जमिनमा पक्की घर थियो, लघुवित्तले सुकुमबासी बनाइदियो

श्रवण थापा ८ फाल्गुन २०७६, बिहीबार ०९:०८

सर्लाही-सर्लाहीको बागमती नगरपालिका–१२ की रुकमणी विश्वकर्माको आफ्नै ६ धुर घडेरीमा पक्की घर थियो । ६ महिनाअघिसम्म उनको परिवार त्यही घरमा बस्थ्यो । तर, लघुवित्तको ऋणले उनको ६ धुर जग्गासहितको पक्की घर खोसिदियो । अहिले नगरपालिकाले सुकुमबासीका लागि दिएको जग्गामा छाप्रो हालेर बसेको छ, उनको परिवार ।

गाउँमै ऋण लिन बनाइएको समूहमा जोडिएर रुकमणीले पहिलोपटक ०६५ मा ग्रामीण विकास लघुवित्तबाट ३० हजार ऋण लिएकी थिइन् । ०६५ मै त्यसै लघुवित्तबाट फेरि ५० हजार ऋण निकालेर जेठो छोरालाई मलेसिया पठाइन् । तर, कमाउन मलेसिया पुगेका छोरा महिनादिनमै जेल परेको खबर आयो । छोरा छुटाउन उनलाई पैसा चाहिने भयो । ६० प्रतिशत ब्याज दिने गरी गाउँमै साहुसँग ऋण गरेर लघुवित्तको ५० हजार तिरिदिइन् । कारण थियो, लघुवित्तबाट धेरै ऋण लिएर छोरालाई छुटाउन पठाउनु र घर व्यवहार पनि चलाउनु ।

ग्रामीण विकास लघुवित्तबाटै १८ प्रतिशत ब्याजमा एक लाख ५० हजार ऋण मागिन् । हातमा एक लाख ३० हजार प¥यो । ५० हजार छोरा झिकाउन विदेश पठाइन् । ५० हजारले पाँच धुर घडेरी किनिन् । बाँकी घरखर्चमा चलाइन् । छोरा घर फर्किए । एक वर्षसम्म उनले ब्याज मात्रै तिर्नुपरेकाले समस्या भएन । तर, जब किस्ता पनि तिर्नुपर्ने भयो, तब समस्या सुरु भयो ।

महिनामा १२ हजार किस्ता तिर्न समस्या भएपछि अब रुकमणी स्थानीय साहुकहाँ पुगिन् । साहुसँग पैसा लिएर लघुवित्तमा किस्ता तिर्न थालिन् । तर, सयकडा ३ देखि ५ प्रतिशतसम्म ब्याजदरमा लिएको ऋण तीन वर्षमा सात लाख पुग्यो । साहुसँग लिएको ऋणले लघुवित्तको ऋणको बोझ घटाउन सकेन । उनले फेरि स्वावलम्बन लघुवित्तबाटै दुई लाख ऋण थपेर छोरालाई दुबई पठाइन् । तर, भनेजस्तो काम मिलेन । दुबईमा १० महिना काम गर्दा उनले १० महिनाको किस्ताबाहेक थप तिर्न सकेनन् । ११औँ महिनामा छोरा घर फर्किए ।

ऋणको बोझ बढ्दै गएपछि र तिर्न नसकेपछि लघुवित्तका कर्मचारी घरमा धाउन थाले । ‘आँगनमा लास भए पनि किस्ता नलिई जान्नौँ भनेर दबाब दिन्थे,’ रुकमणीले भनिन् । फेरि उनलाई गाउँकै साहुकहाँ जानुपर्ने बाध्यता पर्‍यो ।

छोराले कमाएर तिरौँला भनेपछि उनले फेरि चार लाख ऋण गरेर घर बनाइन् । ०७३ मा सयकडा ५ प्रतिशतमा पाँच लाख ऋण खोजेर छोराको विवाह गरिन् । थप दुई लाख खर्च गरेर फेरि छोरालाई कतार पठाइन् । तर, त्यहाँ पनि राम्रो नभएपछि छोरा २८ दिनमै घर फर्किए । ऋण बढेको बढ्यै भयो, तिर्ने कुनै उपाय भएन ।

पाँचजनाको परिवार चलाउन फेरि डिप्रोक्स लघुवित्तबाट ऋण लिइन् । व्यवहार बिग्रिँदै गएपछि आशा, नेरुडे, मेरो माइक्रो फाइनान्स, छिमेकीलगायत लघुवित्तबाट पनि ऋण लिइन् । यही बीचमा हेटौँडामा भएको दुई कट्ठा पुर्ख्यौली जग्गा नौ लाखमा बेचेर ऋणको ब्याज मात्रै तिरेको उनी बताउँछिन् ।

रुकमणीका अनुसार जम्मा ऋण २५ लाख पुगेको छ । साहुको कब्जामा पुगिसकेको घरजग्गाको १८ लाखसम्म मूल्यांकन गरेका छन् । यस आधारमा पनि सात लाख ऋणमै हुन्छिन् उनी । ‘नियमित तिर्ने हो भने ६० हजारबराबरको त किस्ता नै पुगेको छ, तर के गर्नु, तिर्न पैसा छैन । कहिले त संस्थाका सर–म्याडमहरूले तथानाम गाली गर्छन्,’ रुकमणीले भनिन्, ‘लघुवित्तको दलदलमा यसरी डुबियो कि सबै सकियो ।’

(यो सामाग्री नयाँ पत्रिकाबाट साभार गरिएको हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank