आमाको नजरमा प्रकाश दाहाल

दलित अनलाईन ३ मंसिर २०७५, सोमबार १६:१६

सीता दाहाल

आमा

प्रकाश जन्मने बेला उसको बुवा भूमिगत हुनुहुन्थ्यो, हामी चितवनको शिवनगरमा बस्थ्यौं । केटाकेटी, वस्तुभाउ, घरबार सबै धान्नु मेरै जिम्मेवारी थियो । सानोमा प्रकाश साह्रै बिरामी परिरहन्थ्यो । के गरी निको हुन्छ भन्दै म दौडिरहन्थें । सानोमा निकै दुख गरेर हुर्काएँ मैले ।

प्रकाश जन्मिएको केही महिनापछि नै हामी छुट्टियौं र क्षेत्रपुर बसाई सर्यौं । प्रकाशले नारायणगढको स्कूलमा पढ्न थाल्यो । साह्रै असल, सोझो र मायालु स्वाभावको थियो प्रकाश ।

गोरो, राम्रो थियो ऊ, गाउँमा सबैले मन पराउँथे । सबैसँग छिटै घुलमिल हुन्थ्यो, गाउँभरिका मान्छे झुम्मिन्थे उसँग । ८÷९ वर्षको उमेरदेखि नै उसले हाम्रो माया पाउन सकेन ।

बुवा भूमिगत हुनुहुन्थ्यो, म चितवनमै थिएँ, ऊ दिदीहरुसँग पढ्न काठमाडौं आयो । जनयुद्ध सुरु भएपछि पञ्जावमा बसेर पढ्यो । हाम्रो कहिलेकाहीँ मात्र भेट हुन्थ्यो, जनयुद्ध कालभरि पनि छोराका रुपमा माया गर्ने परिस्थिति नै बनेन । हाम्रो राम्रो माया नपाइकन हुर्कियो प्रकाश ।

बाहिर मान्छेहरुले जसरी बुझे, भित्र प्रकाश त्यस्तो छँदै थिएन । उसले कुनै कुरा पनि झुटो बोल्दैनथ्यो, जो बोल्थ्यो, साँचो बोल्थ्यो । उसमा कुनै घमण्ड थिएन, देखेको कुरा बोल्थ्यो । कसैसँग लोभ वा लिनुदिनु पनि थिएन उसलाई । ऊ एकदमै दयालु स्वाभावको थियो ।

बाबुआमाका लागि ज्यान दिने स्वाभाव थियो । तर, शान्ति कालमा आएपछि मीडियाले उसको बारेमा अनेकथरि कुरा लेखे । तर, उसको यथार्थ खोतल्ने प्रयास कसैले पनि गरेनन् ।

प्रकाश हाम्रो आज्ञाकारी छोरा थियो । बुवाले भनेको सबै कुरा मान्थ्यो, बुवाको राजनीति कसरी राम्रो बनाउने, बुवालाई कसरी सफल पार्ने ? उसले त्यही कुरा मात्र सोच्थ्यो ।

परिवारमा पनि कसैसँग नराम्रो थिएन । तर, उसको वैवाहिक जीवन भने सफल र सुखद् हुन सकेन । उसका पनि आफ्नै पीडा थियो, कति कुरा उसले चाहेर पनि भन्दैनथ्यो, कति कुरा बुवाको जिम्मेवारीले पनि भन्न मिल्दैनथ्यो, यस्तै चेपुवामा थियो ऊ ।

यति छिटै छोरालाई बिदा गर्नुपर्ला भनेर मैले कहिल्यै कल्पना गरिनँ । तर, दुख घटना घट्यो । परिवारमा एकपछि अर्को विपद् आइहाल्दा हामी सबै विक्षिप्त भयौं ।

आजसम्म हामीलाई सम्हालिन कठिन भइरहेको छ । तर, उसले देशका लागि, पार्टीका लागि गरेको योगदान सम्झँदा गौरव लाग्छ, यसैमा चित्त बुझाएका छौं ।

(यो सामाग्री एभरेष्ट दैनिकबाट साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank