मनसुन अवधिमा हालसम्म एक हजार ३ सय १३ विपद्का घटना

दलित अनलाइन भदौ १, २०८३

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रोल्पामा सडक खन्ने क्रममा थुप्रिएको माटोमा वर्षाको पानी पर्दा आकस्मिक बाढी आएको हुनसक्ने बताएका छन्।

सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उनले प्राधिकरणको प्राविधिक टोलीले गरेको अध्ययनका क्रममा सडक खन्दा पहिरो गएको र त्यसबाट आएको माटो सडकको शिरानमा थुप्रिएको पाइएको बताए।

उनका अनुसार उक्त क्षेत्रमा ४० देखि ५० मिलिमिटरसम्म वर्षा हुँदा थुप्रिएको ग्रेगान बगाएर ल्याएकाले एकैपटक आकस्मिक बाढी आएको हुनसक्ने देखिएको छ।

‘रोल्पाको घटनालाई हाम्रो प्राविधिक टोलीले हेर्दा सडक खनेको अवस्था, सडक खन्दा पहिरो आएर माटो त्यसको शिरानमा थुप्रिएको र त्यो ठाउँमा थोरै पानी पर्दाखेरी पनि ४० देखि ५० मिलिमिटर वर्षा भएको देखिन्छ । त्यसले सबै ग्रेगान तानेर ल्याउँदा एकैचोटी आकस्मिक बाढी आएको सम्भावना देखिन्छ,’ उनले भने।

जाजरकोटमा बाढीपहिरोको घटना बढ्नुको कारणबारे मौसम विभागसँग छलफल गरी २४ घण्टा, ४८ घण्टा, ७२ घण्टा र सात दिनको वर्षाको विश्लेषण गरिएको उनले बताए ।

उप्रेतीका अनुसार लगातारको वर्षाका कारण जमिनको ‘थ्रेसहोल्ड’ पुगेपछि पहिरो जाने सम्भावना बढेको हुनसक्ने देखिएको छ। भूकम्पको जोखिम रहेको क्षेत्रमा पहिल्यै चिरा परेको र त्यसमा लगातार पानी पर्दा जोखिम थप बढेको उनको भनाइ छ।

यस्तै, प्राधिकरणका सहसचिव प्रदीपकुमार कोइरालाले चालु मनसुन अवधिमा हालसम्म १ हजार ३ सय १३ वटा विपद्का घटना भएको जानकारी दिए । ती घटनामा ६७ जनाको मृत्यु भएको उनले बताए।

गत वर्षको सोही अवधिमा ५ सय ७१ वटा विपद्का घटना हुँदा ४३ जनाको मृत्यु भएको उल्लेख गर्दै कोइरालाले यस वर्ष कुल घटनाको तुलनामा मृत्युको अनुपात घटेको बताए।

‘हामीले १३ सय १३ वटा विपद्का घटना देख्यौं। त्यसमा ६७ जनाको मृत्यु भयो भनेको ५ प्रतिशत टोटल घटनाबाट मृत्यु हुँदो रहेछ। सोही अवधिमा गत वर्ष घटना ५७१ वटा र मृत्यु ४३ वटा भनेको साढे ७ प्रतिशत रहेछ,’ उनले भने, ‘यही अवधिमा गत वर्ष साढे ७ प्रतिशत मृत्यु भएकोमा अहिले ५ प्रतिशत मात्र मृत्यु भएको छ भने एक किसिमले राम्रै गरेको छौं भनेर हामीले मानेका छौं,’ उनले भने।

कोइरालाले पछिल्लो एक दशकको विपद्को तथ्यांक विश्लेषण गर्दा बाढीबाट हुने मृत्यु घट्दै गए पनि पहिरोबाट हुने मृत्यु बढ्दै गएको बताए।

उनका अनुसार २०७२ देखि २०८२ सालसम्मको तथ्यांकलाई त्यसअघिको दश वर्षसँग तुलना गर्दा बाढीबाट हुने मानवीय क्षति घटेको देखिन्छ । पूर्वानुमान, पूर्वसूचना प्रणाली तथा साइरनलगायतका उपायका कारण बाढीबाट हुने क्षति कम गर्न सहयोग पुगेको उनको भनाइ छ।

‘पहिला बाढीबाट मृत्यु हुनेको संख्या बढी थियो भने अहिले बाढीबाट घटेर पहिरोबाट मृत्यु हुनेको संख्या बढ्यो,’ उनले भने।

अब विपद् व्यवस्थापनमा पहिरो नियन्त्रण, पहिरोको पूर्वसूचना प्रणाली विकास तथा पहिरोको जोखिम न्यूनीकरणका लागि जिम्मेवारी निर्धारण गर्नुपर्ने उनले बताए।

‘हामीले छलफल आगामी दिनमा गर्नुपर्ने भनेको पहिरो कसरी नियन्त्रण गर्ने, पहिरोको पूर्वसूचना कसरी दिने र पहिरो नआउने वातावरण कसरी तयार पार्ने र को जिम्मेवार छ पहिरो ल्याउनेमा भन्ने विषयमा छलफल चलायौं भने हामीलाई सहज भई अगाडि बढ्न सकिन्छ,’ कोइरालाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank